१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बीपीमा कमसल अक्सिजन प्लान्ट : आपूर्तिकर्ता पन्छिएपछि भारतीय दूतावासलाई पत्राचार

अक्सिजन प्लान्ट आपूर्ति, जडान र सञ्चालनमा संलग्न कम्पनीलाई दायित्वबोध गराउन बीपी प्रतिष्ठानले दूतावाससँग सहयोग मागेको छ 
प्रदीप मेन्याङ्बो

सुनसरी — अक्सिजन प्लान्ट खरिदमा भारतीय आपूर्तिकर्ताबाट ठगिएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भारतीय दूतावाससँग सहयोग मागेको छ । नेपाली कम्पनीसँग मिलेमतो गरेर अक्सिजन प्लान्ट आपूर्ति, जडान र सञ्चालन गरेको भारतीय कम्पनीले सामान बिग्रिएपछि अर्कोलाई देखाउँदै पन्छिएपछि प्रतिष्ठानले पत्राचार गरेर सहयोग मागेको हो । 

बीपीमा कमसल अक्सिजन प्लान्ट : आपूर्तिकर्ता पन्छिएपछि भारतीय दूतावासलाई पत्राचार

प्रतिष्ठानमा माघ २४ गते जडान गरिएको अक्सिजन प्लान्ट भारतीय आपूर्तिर्कर्ता युनिशी इन्डिया (यूएनएसएसआई इन्डिया) र नेपाली आपूर्तिर्कर्ता काठमाडौंको डाइग्नोकेनले उपलब्ध गराएका थिए । सवा ३ करोड लागतमा जडान गरिएको भोलिपल्टै दुई अक्सिजन जेनेरेटरमध्ये एउटा बिग्रिएको थियो ।


उपकरण पनि माग गरिएको ‘स्पेसिफिकेसन’ भन्दा फरक थियो । जेनेरेटर बिग्रिएपछि प्रतिष्ठानले आपूर्तिकर्ता कम्पनीका साथै निर्माता कम्पनी स्लोभाकियाको अक्सिवाइज, एयर कम्प्रेसर निर्माता कम्पनी जर्मनीको केजर, अक्सिजन बुस्टर निर्माता अमेरिकाको आरआईएक्स र मेनिफोल्ड बनाउने इटालीको एफ डी कम्पनीलाई पनि पत्राचार गरेको थियो ।


प्रतिष्ठानले निर्माता कम्पनीहरूलाई ‘तपाईंहरूले उत्पादन गरेको अक्सिजन प्लान्ट स्पेसिफिकेसनअनुसार नभएको, प्रतिष्ठानमा उपलब्ध गराउने कम्पनीसँग तपाईंहरूले दिएको आधिकारिक पत्र नभएको र उपलब्ध प्लान्ट पनि सेकेन्ड ह्यान्ड जस्तो देखिएको’ भन्दै पत्र लेखेको थियो । चारवटै कम्पनीले ‘युनिशी इन्डियासँग सम्पर्क गर्न’ भनेर जवाफ पठाएका थिए ।


युनिशी नेपालकै डाइग्नोकेनसँग सम्पर्क गर्न भनेर पन्छिएको थियो । डाइग्नोकेनका सञ्चालक विज्ञान अर्याल प्रतिष्ठानले सम्पर्क गरेपछि प्लान्ट हेर्न आएका थिए । तर उनी उल्टै आफूले पाउनुपर्ने रकम युनिशीले नदिएर फसाएको भन्दै हिंडेको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले बताए । प्रतिष्ठानले डाइग्नोकेनलाई दायित्वबोध गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने भएको छ ।


प्रतिष्ठानका अस्पताल निर्देशक साहका अनुसार अघिल्ला उपकुलपति प्राडा बलभद्रप्रसाद दासले स्वीकृति दिएपछि ०७३ वैशाख २९ गते अक्सिजन प्लान्ट खरिदका लागि टेन्डर आह्वान भएको थियो । टेन्डर डाइग्नोकेनले पाएको थियो । ‘उसले ०७५ भदौमा मात्र केही सामान ल्याइदियो । जबकि सम्झौताअनुसार टेन्डर पारेको १२० दिनभित्र सबै सामान ल्याएर जडान, परीक्षण र सञ्चालन गरेर देखाउनुपर्ने हो,’ साहले भने, ‘उसले भारतीय आपूर्तिकर्ता कम्पनी युनिशीबाट खरिद गर्दा ढिलो भएको थियो ।’


युनिशी आफैं पनि अक्सिजन प्लान्ट निर्माता कम्पनी नभएको भर्खर थाहा पाएको निर्देशक साहले बताए । अक्सिजन प्लान्ट उपलब्ध गराउनेबारे डाइग्नोकेन र प्रतिष्ठानबीच ०७३ असार २९ गते भएको सम्झौताको बुँदा ३ अनुसार टेन्डर पार्ने नेपाली कम्पनीले उत्पादक कम्पनीबाट जारी भएको अधिकृत विक्रेताको भ्यालिडिटी कायम भएको प्रमाणपत्र (अथोराइजेसन लेटर) पेस गर्नुपर्ने उल्लेख छ ।


तर प्रतिष्ठानमा जडान गरिएको प्लान्टको अक्सिजन जेनेरेटर निर्माता स्लोभाकियाको अक्सिवाइज, एयर कम्प्रेसर निर्माता जर्मनीको केज, मेनिफोल्ड निर्माता इटालीको एफडी र अक्सिजन बुस्टर निर्माता अमेरिकाको आरआईएक्सले डाइग्नेकेनलाई कुनै आधिकारिक अधिकृत विक्रेताको पत्र नदिएकाले उसले युनिशीमार्फत प्लान्ट उपलब्ध गराएको थियो ।


स्पेसिफिकेसनमा नयाँ प्लान्टको उत्पादन क्षमता १६ सय लिटर प्रतिमिनेट रहेको र अन्तर्राष्ट्रिय मापदण्डअनुसार शुद्ध अक्सिजन उत्पादन हुने जनाइएको थियो । प्लान्टको एउटा अक्सिजन जेनेरेटर बिग्रेको १० दिनपछि प्रतिष्ठानले विदेशका चार कम्पनीलार्ई लेखेको पत्रको जवाफमा चारैवटाले भारतको ‘युनिशी इन्डियासँग सम्पर्क गर्न’ भनेका थिए ।


युनिशी नेपालकै डाइग्नोकेनसँग सम्पर्क गर्न भनेर पन्छिएको थियो । डाइग्नोकेनका सञ्चालक विज्ञान अर्याल प्रतिष्ठानले सम्पर्क गरेपछि प्लान्ट हेर्न आएका थिए । तर उनी उल्टै आफूले पाउनुपर्ने रकम युनिशीले नदिएर फसाएको भन्दै हिंडेको डा. साहले बताए ।

प्रतिष्ठानसग युनिशीले नै उपलब्ध गराएको २ सय ८० लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्ने सानो स्केलको पुरानो प्लान्ट थियो ।


०७५ भदौमा बिग्रेपछि छ महिनासम्म दैनिक सरदर ६० हजार रुपैयाँ बराबरको अक्सिजन सिलिन्डर खरिद गर्नुपरेको थियो । नयाँ प्लान्टको एउटा अक्सिजन जेनेरेटरले मात्र हाल मुस्किलले ८ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्छ । उत्पादित अक्सिनको शुद्धता अन्तर्राष्ट्रिय मापदण्डभन्दा कम अर्थात ८० प्रतिशतमात्र रहेको प्रतिष्ठानका बायोमेडिकल इन्जिनियर प्रदीप साहले बताए ।


‘दुवै जेनेरेटरले सक्रिय रूपमा अक्सिजन उत्पादन गर्ने हो भने प्रदेश १ का सबै अस्पताललाई पुग्न सक्छ,’ उनले भने, ‘नयाँ प्लान्टको बिग्रेको अक्सिजन जेनेरेटरका दुई ट्यांकीमध्ये एउटामा जिओलाइट आधा मात्र छ र अर्को पूरै खाली छ । कसरी उत्पादन हुन्छ अक्सिजन ?’


उनका अनुसार जडान गरेका बेला दुइटै अक्सिजन प्लान्टका चारवटै ट्यांकीमा नाइट्रोजन र जिओलाइट थिए । तर भोलिपल्ट एउटा अक्सिजन जेनेरेटर बिग्रेपछि त्यहाँभित्रको जिओलाइट धूलोमा परिणत भएको पाइएको थियो । ‘सम्झौताअनुसार पाँचवर्षे वारेन्टी भएको जिओलाइट डाइग्नोकेनले भरिदिनुपर्ने हो । तर उसले बेवास्ता गर्‍यो ।’


नेपाली आपूर्तिकर्ताले टेन्डर पारे पनि प्रतिष्ठानको र पुरानो प्लान्ट युनिशी इन्डियामार्फत उपलब्ध भएकाले त्यसको मर्मत सम्भारको जिम्मा युनिशीलाई दिइएको छ । एक इन्जिनियर राखेर प्लान्ट मर्मत सम्भार गरेबापत युनिशीले वार्षिक १० लाख भारु लिंदै आएको थियो । पुरानो प्लान्ट बिग्रेपछि मर्मत सम्भार गर्न युनिशीले प्राविधिक पठाएको छैन ।


त्यसैले युनिशीले पाउने रकम रोकिदिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हाल फर्माकोलोजी विभागमा रहेका पूर्व उपकुपति प्राडा बलभद्रप्रसाद दासले नयाँ प्लान्ट आफूले नै स्वीकृत गरेर खरिद गरेको तर नयाँ पदाधिकारी आएपछि त्यसलाई जडान गर्न र सञ्चालन गर्न नसकेको प्रतिक्रिया दिए । उनले प्लान्ट प्रतिष्ठानमा झरेको तीन महिनापछि आफूले उपकुलपति पदबाट अवकाश पाएको र नयाँ उपकुलपति नियुक्त हुन तीन महिना लाग्दा छ महिनासम्म बाहिर चौरमा प्लान्ट राखिएको बताए ।


उनले अहिले पनि प्लान्ट पूर्णरूपमा चलिरहेको दाबी गरे । तर प्लान्ट पूर्णरूपमा सञ्चालन देखिएको छैन । एउटा अक्सिजन जेनेरेटरको दुवै ट्यांकीभित्र रहेको जिओलाइट धुलिएपछि निकालिएको छ । प्लान्टमा रहेको डिजिटल डिस्प्लेमा एउटा अक्सिजन जेनेरेटरले मात्र उत्पादन गरेको देखाउँछ । त्यो अक्सिजन ९५ प्रतिशत शुद्ध हुनुपर्नेमा ८० प्रतिशतमात्र शुद्ध देखाउँछ ।


डा. दासले अक्सिजन प्लान्ट बिग्रिए आपूर्तिकर्ता कम्पनीले राखेको १८ लाख रुपैयाँ बैंक ग्यारेन्टी रकमले मर्मत सम्भार गर्नुपर्नेमा नगरिएको बताए । प्रतिष्ठानले भने ३ करोड २४ लाखको उपकरणमा १८ लाख बैंक ग्यारेन्टीले बिग्रेको प्लान्ट मर्मत हुन नसक्ने जनाएको छ । कम्तीमा ३० प्रतिशत रकम बैंक ग्यारेन्टी राखिनुपर्नेमा खरिद नियमविपरीत सुरुमै शतप्रतिशत रकम आपूर्तिकर्ता कम्पनीलाई दिएकाले अंकुश लगाउने ठाउँ नै नरहेको प्रतिष्ठानको भनाइ छ ।

प्रकाशित : चैत्र २९, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?