न स्वास्थ्य चौकी, न औषधि

जाजरकोट र दैलेखका स्वास्थ्य संस्थामा औषधि, जनशक्ति र आवश्यक पूर्वाधार नहुँदा स्थानीय बासिन्दा उपचारबाट वञ्चित हुनुपरेको छ

जाजरकोट र दैलेख — नौमुले गाउँपालिका ७ मा गत वर्ष स्वास्थ्य इकाई स्थापना भयो । स्वास्थ्यचौकी नभए पनि इकाईबाट स्थानीय बासिन्दा धेरै आशावादी थिए । यहाँ भने सिटामोल र ब्रुफिनबाहेक केही पाइँदैन । बिरामीलाई ५ घण्टा टाढाको जिल्ला अस्पताल पुर्‍याउनै पर्छ । अलि गम्भीर खालका बिरामीको त ज्यानै जोखिममा पर्ने गर्छ । 

न स्वास्थ्य चौकी, न औषधि

साविक नौमुले ६, ७, ८ र ९ वडा मिलाएर ७ नं. वडा बनाइएको छ । स्थानीयले ६ नम्बर वडाको सल्लेरी स्वास्थ्य चौकीमा गई उपचार गराउने गरेका थिए । त्यहाँ पनि औषधि र स्वास्थ्यकर्मी नभएपछि स्थानीयलाई जिल्ला अस्पतालमै पुग्नुपर्ने बाध्यता छ । नौमुले ७ डाँडागाउँकी नीरा चन्दले एक महिनाअघि सुत्केरी व्यथाले च्यापेपछि प्रसूतिका लागि पाँच घण्टा हिँडेर जिल्ला अस्पताल पुगेको बताइन् ।


भौगोलिक विकटताका कारण वडामा अहिलेसम्म सडक सुविधा छैन । गाउँपालिकाको केन्द्र नौमुले बजार नै पुग्न चेप्टेटिमुरे र भाडेका बासिन्दालाई सात घण्टा पैदल हिँड्नुपर्छ । १२ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत मानकुमारी चन्दले उपचार अभावमा स्थानीयले बर्सेनि ज्यान गुमाउँदै आइरहेको बताइन् ।


रातदिन नभनी महिलाको स्वास्थ्य समस्या समाधान गर्न प्रयास गरिरहेको उनले बताइन् । उनले लामो समयदेखि महिलालाई परम्परागत विधिबाटै सुत्केरी गराइरहेको बताइन् । ‘पुरानै तरिकाले सुत्केरी गराउँदा कतिपयले अस्पताल पुग्न नपाउँदै बाटैमा ज्यान गुमाउने गरेका छन्,’ उनले भनिन्, ‘आवश्यक सामग्री नहुँदा कति शिशुलाई हातले निकालियो ।’ उनका अनुसार वडामा मातृ र शिशु मृत्युदर उच्च छ ।


डाँडागाउँ पैती स्वास्थ्य इकाईकी इन्चार्ज सरिता विष्टले तीन प्रकारका औषधिबाहेक अरू नभएकाले उपचारमा समस्या भएको बताइन् । ‘आकस्मिक बिरामी आए अर्को वडामा पठाउन बाध्य छौं,’ उनले भनिन्, ‘इकाईमा एउटामात्र प्रसूति शय्या भए सुत्केरी सेवा दिन धेरै सजिलो हुन्थ्यो, हामीले अनुरोध गरे पनि गाउँपालिकाले बेवास्ता गरिरहेको छ ।’


वडा ६ स्थित सल्लेरी स्वास्थ्यचौकीमा माग फारामअनुसार औषधि नपठाइँदा स्थानीयले थप सास्ती भोग्दै आइरहेका छन् । ३९ प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारी नीति भए पनि तीन प्रकारका औषधिमात्र भएकाले बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता भएको इन्चार्ज अञ्जु थापाले बताइन् ।


नौमुले गाउँपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्र शाहीले आपतकालीन सेवा दिने गरी ७ नम्बर वडामा स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार पूर्वाधार र भौतिक संरचना अभावमा स्वास्थ्य इकाईको सेवा प्रभावित भएको हो । उनले पैती, राइली, भाडेकागते, चेप्टे टिमुरेलगायत स्थानमा रहेका स्वास्थ्य इकाई दर्ता नहुँदा सरकारी सुविधा पाउनबाट वञ्चित भएको जनाए । गाउँपालिकामा १३ स्वास्थ्यचौकी छन् । जसमध्ये सात स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर छैनन् । गाउँपालिकाभरि ७९ स्वयंसेविका छन् ।


जिल्लाकै पुरानो इलाका स्वास्थ्यचौकी मध्येको एक हो, नौमुले स्वास्थ्यचौकी । चिकित्सक अभावमा स्वास्थ्यचौकी हेल्थ असिस्टेन्टको भरमा चलिरहेको छ । एक डाक्टरको दरबन्दी भए पनि चिकित्सक अध्ययन बिदा भन्दै अन्यत्र बस्ने गरेका छन् । स्वास्थ्यचौकीमा १४ स्वास्थ्यकर्मी कार्यरत भए पनि अधिकांश नियमित आउँदैनन् । कर्मचारी समायोजनका कारण अधिकांश स्वास्थ्यकर्मी जिल्लाबाहिर रहेको हेल्थ असिस्टेन्ट एन्द यादवको भनाइ छ ।


प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन

जाजरकोटको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सकविहीन छ । केन्द्रमा डाक्टर नहुँदा दुर्गम गाउँ बारेकोटका बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । केन्द्रमा एक मेडिकल अधिकृतको दरबन्दी छ ।


मेडिकल अधिकृत डा. सन्दीपकिरण प्रधान एक वर्षअघि एमडीको अध्ययन बिदामा बसेपछि स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको हो । स्वास्थ्य केन्द्रको दरबन्दी होल्ड गरेर डाक्टर अध्ययन बिदामा गएपछि उपचार सेवा प्रभावित भएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।


स्वास्थ्य सेवा विभागले डा. प्रधानलाई तीनवर्षे अध्ययन बिदामा पठाए पनि वैकल्पिक व्यवस्था नगर्दा स्थानीयवासी उपचार सेवाबाट वञ्चित भएको उनको भनाइ छ । उनका अनुसार दुई दशकअघि स्थापना भएको केन्द्रमा डाक्टर बसेर उपचार सेवा दिएको पाइएको छैन ।


डेढ वर्षअघि पोस्टिङ भएर आएका डा. प्रधान पनि ५/७ महिनामै अध्ययन बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह हुन नसकेको हो । दुर्गमका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल अधिकृतको दरबन्दी स्थापना गरे पनि बारेकोटवासीले कहिल्यै चिकित्सक सेवा नपाएको स्थानीय विष्णु पुनले बताए । ९ स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्याब असिस्टेन्ट पद पनि रिक्त छ । ‘आवश्यक उपकरणको व्यवस्था भए पनि ल्याब सेवा सञ्चालनमा नआएको वर्षौं भइसक्यो,’ उनले भने, ‘डाक्टर र ल्याब टेक्निसियन दुवै नभएपछि सेवा बन्द भएको हो ।’


बारेकोट जुम्ला र डोल्पासँग सिमाना जोडिएको विकट गाउँ हो । सडक यातायातको पहुँच नपुग्दा यहाँका बासिन्दा सामान्य रोग लाग्दा पनि उपचार पाउन नसक्ने अवस्था छ । स्वास्थ्य संस्थामा भरपर्दो उपचारको व्यवस्था नहुँदा स्थानीय धामीझाँक्रीको भर पर्न बाध्य भएको पुनले जनाए ।


लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गरेर उपचार सेवा प्रभावकारी बनाउनुपर्ने गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाका संयोजक वीरराज सिंहले बताए । डाक्टर र स्वास्थ्यकर्मीको दरबन्दी तत्काल पदपूर्ति गर्न बारम्बार माग गर्दा पनि सुनुवाइ नभएको सिंहले गुनासो गरे । ‘एउटा शवको पोस्टमार्टम गर्न पनि जाजरकोट अस्पतालबाट डाक्टर बोलाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्थानीयवासी उपचारका लागि दुई दिन पैदल हिँडेर खलंगा जान बाध्य छन् ।’


त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट पनि एक वर्षदेखि चिकित्सकविहीन बनेको छ । जाजरकोट अस्पताललगायत तीन दर्जन स्वास्थ्य संस्थामा औषधि, उपकरण, पूर्वाधार र जनशक्तिको अभाव पूर्ति हुन नसक्दा जिल्लाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । स्वास्थ्य केन्द्र लिम्सा र गर्खाकोटका लागि चिकित्सक पठाइदिन सम्बन्धित निकायमा ताकेता गरेको स्वास्थ्य कार्यालय जाजरकोटका निमित्त प्रमुख रामपुकार साहले बताए ।

प्रकाशित : चैत्र २९, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?