२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सहरमा अरुन्धती

देवेन्द्र भट्टराई

काठमाडौँ — राज्यसत्ता र मूलधारको विचार पंक्तिमा सधैं विद्रोहीझैं उभिने भारतीय लेखक अरुन्धती रोय योपटक काठमाडौं आएको र गएको धेरैले पत्तो पाएनन् । 

सहरमा अरुन्धती

संसारभरका ३ सयभन्दा बढी महिलावादी विचारक र अभियन्ताको ग्लोबल कन्फरेन्समा फ्रमुख वक्ता बनेर काठमाडौं आएकी अरुन्धतीले सोल्टी होटलको मञ्चमा शुत्रबार उभिनासाथै आफ्नो बेस्टसेलर उपन्यास ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’ (२०१७) हातमा लिएर भनिन्, ‘यो खुसीको कुरा हो, यो उपन्यास विश्वका ५० भाषामा अनूदित भइसकेको छ । र, यो पनि यहाँ उभिएर भनौं, ५१ औं भाषा नेपालीमा पनि यो उपन्यास अनूदित भएर आउँदै छ ।’ यो उपन्यास ‘अपार खुसीको कुटुम्ब’ नाममा सांग्रिला बुक्स इन्डियाबाट प्रकाशित हुँदै छ । पुस्तकको अनुवाद सिलिगुडीका कवि राजा पुनियानीले गरेका हुन् ।

सन् १९९७ मा प्रकाशित ‘गड अफ स्मल थिङ्स’ उपन्यासका लागि प्रतिष्ठित बुकर पुरस्कार पाएकी अरुन्धतीले त्यो कृतिले पुरस्कार पाउनुअघि भारतीय समाज र विशेषतः विशिष्ट तप्कामा निकै आलोचना खेपेकी थिइन् । उनलाई ‘गड अफ स्मथल थिङ्स’ पुस्तकको अन्तिम परिच्छेदमा पुगेर ‘सेक्सुवल लभ’ बारे लेखिएको, समाज भड्काउने उच्छृङ्खल कुरा लेखिएको, सेक्स सम्बन्धको नचाहिँदो रूप देखाइएको भन्दै एउटा समूहले गालीगलौज गरेको थियो ।


पुस्तककै कारण उनलाई ‘सामाजिक सद्भाव भडकाउ’ को अभियोगमा अदालतमा उभ्याइएको थियो । ‘त्यो बुब्सको बयान छ नि त्यहाँ...’ भन्दै वकिलहरूले आफूलाई अञ्जुली आकार देखाएरै प्रश्न गर्ने गरेको उनले संवादमाझ स्मरण गरिन् । फिल्ममेकर तथा मिडिया प्राध्यापक सोहिनी घोषसँगको संवादमा मञ्चमा आएकी अरुन्धती शुक्रबार भने रातो सारीमा सजिएर आएकी थिइन् । ‘यहाँ पनि फेरि कुनै भड्काउको आरोप लाग्ला कि भनेर...’, ठट्टाको स्वरमा उनले कुरा अघि बढाइन् ।

‘आख्यान र गैरआख्यानबीच विभेद के छ ?,’ प्रश्न खस्न नपाउँदै अरुन्धती जवाफी बनिन्, ‘जब म आख्यान लेख्न थाल्छु, यसले अब कति समय लिन सक्ला अथवा यो कत्रो होला भनेर सोच्दिनँ । गैरआख्यानमा भने ‘ग्रेट सेन्स अफ अरजेन्सी’ हुन्छ । आख्यानमा कल्पना/स्वरैकल्पना होला, गैरआख्यानमा तथ्य बढी हुन्छ । यत्ति हो, आख्यान लेख्न भने म एक्लै हुनुपर्छ, एकान्तमा हुनुपर्छ ।’

अरुन्धतीका राजनीतिक टिप्पणी र वैचारिक सामग्रीमा पुँजीवाद, विस्तारवाद, सामाजिक र वातावरणीय न्याय, जात प्रथा र मुख्यतया प्रतिरोधका विषय केन्द्रित हुने गरेका छन् । उनी भारतको वातावरणीय आन्दोलनको मानक नमर्दा बचाउ अभियानकी अभियन्तासमेत हुन् ।

भारतले आणविक परीक्षण गरेपछि उनले लेखेको निबन्ध ‘द एन्ड अफ इम्यानिजेसन’ पनि भारतीय शासन सत्ताका लागि टाउको दुखाइको सामग्री बनेको थियो । यो राजनीतिक निबन्धमा उनले लेखेकी छिन्, ‘यदि आणविक युद्ध भइहालेमा हाम्रो शत्रु चीन वा अमेरिका हुने छैनन् । अथवा हामीबीच पनि शत्रुता हुने छैन । बरु आकाश, हावा, जमिन र पानीजस्ता तत्त्वहरू हाम्राविरुद्ध खनिने छन् । उनीहरूको आक्रोश डरलाग्दो हुनेछ । हाम्रा सहर र जंगलहरू, हाम्रा जमिन र गाउँहरू जल्नेछन् । नदीहरू विषले भरिने छन् । हावा स्वयं आगोको ज्वाला बन्नेछ ।’

भारतमा तत्काल देखिनका लागि र विशेषतः साहित्यका फेस्टिभलमा मात्रै उदाउने गरी लेखकहरू देखा पर्न थालेको धारणा राख्दै अलिक गहिरिएर विषयमा सोध–अनुसन्धान गर्ने अभ्यास कम हुँदै गएको बताइन् । नेपाल, भारत, पाकिस्तानको दक्षिण एसियाली समाजमा जातपात र सीमान्तकृत वर्गको कुरा आफैंमा ‘तीतो यथार्थ’ रहेको धारणा राख्दै उनले थपिन्, ‘हामी जात, वर्ग र पहिचानको नचाहिँदो पर्खालभित्र बाँचिरहेका छौं ।’

उनले भारतीय राजनीतिक ‘गान्धी’ को स्थान भगवान्सरह भए पनि यथार्थ अलग रहेको प्रतिवाद स्वरसमेत सुनाइन् । ‘सबैले भारतमा महात्मा गान्धीको कुरा गर्छन् तर गान्धीले आफ्नो अहिंसात्मक अभियान र सम्पूर्ण राजनीतिक परिवर्तनका कुरामा सधैं साथमा रहेका डा. बीआर अम्बेडकरलाई कहिल्यै सम्झेनन् । भारतका सबै पछौटे र सीमान्तकृत जातजातिको प्रतिनिधि मैं हुँ भनेर बाहिरी संसारमा पुगे । आज भारतका कुनै पनि गरिब दुःखीका घरमा तपाईं पुग्नुस्, त्यहाँ गान्धीको होइन, तपाईंले अम्बेडकरको फोटो झुन्डिएको देख्नुहुनेछ,’ अधिकांश मञ्चहरूमा मन्तव्य राख्दा वा राजनीतिक निबन्धमा उल्लेख गर्नुपर्दा अम्बेडकर–गान्धी विवाद गर्न रुचाउने अरुन्धतीले भनिन् ।

अरुन्धतीका राजनीतिक र वैचारिक निबन्धका संग्रहहरू ‘द अल्जेब्रा अफ इन्फिनिट जस्टिस’ (२०११), एन अर्डिनरी पर्सन्स गाइड टु इम्पायर (२००५), लिसनिङ टु ग्रासहोपर्स (२००९) र ब्रोकन रिपब्लिक (२०११) प्रकाशित छन् । सोहिनीसँगको अन्तरसंवादबीचमा अरुन्धतीले बनाएको कश्मीरको गाथासम्बन्धी छोटो डकुमेन्ट्री ‘द मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’ पनि देखाइएको थियो । यिनै प्रखर भारतीय लेखक ५७ वर्षीया अरुन्धती रोयकाबारे लेखिएको ‘रिप्रिन्ट जर्नल’ मा उनको संक्षिप्त परिचय दिँदै भनिएको रहेछ, अरुन्धती दिल्लीमा बस्छिन्, उनका दुइ कुकुरका साथ ।

शुक्रबारसम्म चलेको तीनदिने ग्लोबल कन्फरेन्स महिलावादी मानव अधिकारवादी संस्था ‘क्रिया’ ले आयोजना गरेको हो । दिल्लीमा मुख्यालय रहेको यो संस्था सन् २०१० मा स्थापना भएको हो ।

प्रकाशित : चैत्र ३०, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?