२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नारायणी अस्पतालमा अनियमितता, १३ गुणा बढी मूल्यमा औषधि खरिद

भूषण यादव

वीरगन्ज — सप्लायर्सले सस्तोमा ठेक्का सकार गरे पनि नारायणी अस्पतालले आफूलाई चाहिने हाइड्रोजन परअक्साइड बजारबाट करिब १३ गुणा बढी मूल्यमा खरिद गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ लाई चाहिने उक्त औषधि महेश मेडिसिन सप्लायर्सले ६५ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकार गरेको थियो । अस्पतालको स्टोर शाखाले भने ९ सय ४ रुपैयाँमा बजारबाट खरिद गरेको छ ।

नारायणी अस्पतालमा अनियमितता, १३ गुणा बढी मूल्यमा औषधि खरिद

मृगौलाको डायलिसिसमा हाइड्रोजन परअक्साइड केमिकल्स प्रयोग गरिन्छ । नारायणी अस्पतालमा ५ वटा डायलिसिस मेसिन सञ्चालनमा छन् । अस्पताल प्रशासनले भने औषधि आपूर्तिको ठेक्का सकार गर्ने ठेकेदारले आपूर्ति नगरेकाले बाहिरबाट खरिद गर्नुपरेको जनाएको छ । ठेक्का पार्न सप्लायर्सले महँगो औषधि सस्तोमा सकार गरेको अस्पतालको दाबी छ । ठेक्का परेपछि अन्य औषधि आपूर्ति गरिरहे पनि हाइड्रोजन परअक्साइड भने आपूर्ति गरेको छैन ।


औषधि व्यवसायीका अनुसार हाइड्रोजन परअक्साइको बजार मूल्य करिब ६ सय रुपैयाँ पर्छ । ६ सय रुपैयाँमा पाइने हाइड्रोजन परअक्साइड अस्पतालको स्टोर शाखाले मूल्य अभिवृद्धि करबाहेक ९ सय चार रुपैयाँमा खरिद गरिरहेको छ । स्टोर शाखाको गत असोज २३ गतेको खरिद आदेशमा ६० बोतल हाइड्रोजन परअक्साइड ९ सय चार रुपैयाँका दरले मूल्य अभिवृद्धि करसहित ६१ हजार २ सय ३१ रुपैयाँमा वीरगन्जको न्यु साइन्स इम्पोरियमबाट खरिद गरेको अभिलेख छ ।


अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हकले औषधि आपूर्तिको ठेक्का पाएका व्यवसायीले हाइड्रोजन परअक्साइड उपलब्ध नगराएपछि खरिद गर्नुपरेको बताए । 'औषधि सप्लाई नगरेपछि बाहिरबाट खरिद गर्नुपरेको हो,' उनले भने, 'हामी सप्लायर्सको बैंक ग्यारेन्टीबाट रकम कट्टा गर्छौं ।' बजार मूल्यभन्दा ३ सय रुपैयाँ बढीमा हाइड्रोजन परअक्साइड खरिद भइरहेको प्रश्नमा मेसुले आफूलाई जानकारी नभएको बताए । 'रेटबारे मलाई जानकारी छैन्,' उनले भने, 'के भएको रहेछ म हेर्छु ।' अस्पताल स्टोर प्रमुख दामोदर अधिकारी यसबारे बोल्न चाहेनन् । अधिकारीको नियुक्ति रेकर्डकिपरमा भए पनि मेसुनजिक भएकाले उनलाई स्टोर किपरको जिम्मेवारी दिइएको अस्पताल स्रोतको दाबी छ ।


यसैगरी चालु आर्थिक वर्षका लागि 'लुज ग्लोब्स' १६ रुपैयाँमा आपूर्ति गर्ने ठेक्का सकार भए पनि स्टोर शाखाले २७ रुपैयाँमा बाहिरबाट खरिद गरिरहेको छ । वीरगन्जको बिर्तामा रहेका आधा दर्जन केमिकल्स र सर्जिकल सप्लायर्सको पसलमा सोडियम हाइपोक्लोराइड केमिकल्स ८ सय रुपैयाँमा बिक्री हुन्छ । तर, अस्पतालको स्टोर शाखाले सोडियम हाइपोक्लोराइड १५ सय रुपैयाँमा खरिद गरिरहेको छ । वीरगन्जको बिर्तास्थित एक केमिकल्स बिक्रेताका अनुसार केही दिन स्टोरका कर्मचारीले सोडियम हाइपोक्लोराइड उनकै पसलबाट खरिद गरेका थिए । ती बिक्रेताका अनुसार मूल्यभन्दा झन्डै दोब्बरको बिल बनाउन नमानेपछि यहाँ खरिद गर्न आएका छैनन् । नारायणी अस्पतालको प्रयोगशालाका एक कर्मचारीका अनुसार रगत परीक्षणमा प्रयोग हुने केमिकल्स ठेक्कामार्फत आपूर्ति हुँदा ३२ हजार रुपैयाँमा एक महिनालाई पुग्थ्यो ।


चालु आर्थिक वर्षमा रगत परीक्षण केमिकल्सको टेन्डर आहवान गरिएको छैन् । 'अहिले अस्पतालले रगत परीक्षण गर्ने केमिकल्स खरिद गर्दा ५२ हजार रुपैयाँ परिरहेको छ,' प्रयोगशालाका ती कर्मचारी भन्छन्, 'आर्थिक अनियमितता बढदो छ । फार्मेसिस्टको सल्लाहमा खरिद गर्नुपर्ने औषधि स्टोर शाखाले खरिद गर्दै आएको छ ।' अस्पतालमा औषधि आपूर्ति गर्दै आएका सञ्जीव गुप्ताका अनुसार ठेक्कामार्फत सप्लाई भएका औषधिहरूको भुक्तानी पनि लामो समयसम्म रोकिदिने गरिएको छ । 'पुरानो भुक्तानी नदिएपछि ठेक्का सकार गरेका आपूर्तिकर्ताले नियमित औषधि दिँदैनन्,' गुप्ताले भने, 'अनि स्टोरले बजारबाट मनोमानी मूल्यमा खरिद गर्छ ।' औषधि व्यवसायीका अनुसार नारायणी अस्पतालले अहिले करिब ६०/७० प्रतिशत औषधि, केमिकल्स र सर्जिकल आइटम बाहिरबाट खरिद गरिरहेको छ । निमित्त मेसु डा. एनामुल हकले आपूर्तिकर्ताले औषधि तथा केमिकल्स उपलब्ध नगराएपछि खरिद गर्नुपरेको दाबी गरेका छन् ।


प्रकाशित : चैत्र ३०, २०७५ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?