२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

गोर्खा पार्कमा भीसी विजेता

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रख्यात युद्धपदक भिक्टोरिया क्रस विजेता ८४ वर्षीय रामबहादुर बेघा लिम्बू दोस्रोपटक धरानको बि्रटिस गोर्खा स्मृति पार्कमा आउँदा उबेलाको जोस सम्झेर हौसिए । 'अवकाश पाएर नेपाल आएपछि मैले पनि यस्तै पार्कको कल्पना गरेको थिएँ,' दुई वर्षअघि आफैंले शिलान्यास गरेको गोर्खा स्तम्भ नियाल्दै उनले भने, 'यसले गोर्खाको इतिहास र पहिचान जीवित राख्छ, नयाँ पुस्ताले पुर्खाका बारेमा थाहा पाउनेछन् ।' 

गोर्खा पार्कमा भीसी विजेता

बेघा यसपटक पार्कमा करिब ७५ लाख रुपैयाँ लागतमा तयार गोर्खा चमेना गृह उद्घाटन गर्न आएका थिए । पहिलो र दोस्रो विश्वयुद्धपछि पनि धेरै युद्ध लडेका वीर गोर्खाहरूको अलग इतिहास र पहिचान छ । तिनको सम्मान गर्दै इतिहास अभिलेखीकरण र नयाँ पुस्तालाई अध्ययन-अनुसन्धानमा सघाउन गोर्खा लाहुरेहरूले गोजीबाट पैसा हालेर धरान-२० विष्णुपादुकास्थित माछामारा डाँडामा स्मृति पार्क बनाएका हुन् । सिपाहीदेखि विभिन्न पदबाट अवकाश पाएका लाहुरेहरूले डाँडापाखालाई गोर्खाको इतिहास सम्झाउने संग्रहालयका रूपमा विकास गर्न खोजेकामा बेघाले प्रशंसा गरे ।


'यो पार्क पूर्ण रूपमा बने धरान मात्र नभएर प्रदेश १ कै सार्वजनिक सम्पत्ति बन्नेछ,' उनले भने, 'पूर्वको पर्यटकीय केन्द्र बन्नेछ ।' बेलायती महारानीले समेत सलाम गर्ने बेघा एक मात्र जीवित भीसी विजेता हुन् ।


सन् १९६५ नोभेम्बर २१ मा लान्सकप्रोल पदमा रहेका उनले बोर्नियोको सारवाक युद्धमा देखाएको वीरताको कदरस्वरूप बेलायती महारानीबाट भिक्टोरिया क्रस र अरू उच्च सम्मान पाएका थिए । त्यति बेला उनी २६ वर्षका थिए ।


फेरि बेलायत गए त्यहाँको रक्षा मन्त्रालय (एमओडी) लाई पार्कका लागि आर्थिक, भौतिक सहयोगको अनुरोध गर्ने उनले बताए । बेघा अहिले झापाको दमकमा बस्छन् । लाहुरेहरू सामाजिक काम र विकास निर्माणमा जहाँ पनि सक्रिय रहेको र भरसक पारदर्शिता खोज्ने भए पनि प्रशासनिक प्रक्रियामा झन्झट बेहोर्नुपरेको उनको भनाइ छ ।

१२ बिघामा फैलिएको पार्कमा हालसम्म ३ करोड ५ लाख रुपैयाँ खर्च भइसकेको छ । दुइटा आकर्षक प्रवेशद्वार, गोर्खा स्तम्भ, दुई होमस्टे, चारतले चमेना गृह, हेलिप्याड, शौचालय, पानीका धारा र ट्यांकी, सवारी पार्किङस्थलजस्ता संरचना बनाइएको पार्क सञ्चालक समिति अध्यक्ष क्याप्टेन हरिबहादुर लिम्बूले बताए ।


'गुरुयोजनाअनुसार काम गर्न अझै धेरै छ । स्मारक बने पनि त्यसमा सबै रेजिमेन्ट, कम्पनी र प्लाटुनका इतिहास भर्न बाँकी छ । वनभोज स्थल, संग्रहालय, जुम्ल्याहा कटेज, खुलामञ्च, बोटानिकाल गार्डेन, फुटपाथ, चिल्ड्रेन पार्क, सूचना डेस्क, धरान भ्युटावर, प्याराग्लाइडिङ स्थल र फेन्सिङ गर्न बाँकी छ,' उनले भने ।


पार्क निर्माणमा नेपाल, बेलायत र हङकङ बस्दै आएका १ हजार २ सय ७० जना बि्रटिस गोर्खा र तिनका सन्तान आजीवन सदस्य भएर सघाइरहेका छन् । पार्कका परिकल्पनाकार धरानका पूर्वगोर्खा रमेशकाजी राई हुन् । त्यसलाई साकार पार्न निर्माण समिति संयोजक पूर्वगोर्खा गजेन्द्र इस्बो, दानबहादुर राई, नरबहादुर थापा, चन्द्रमाया लिम्बू, सुवित्रा राईलगायतले कार्यान्वयन गर्न आर्थिक संकलन अभियान चलाएका थिए । 'हामीले गोजीको पैसाबाट १२ बिघा जग्गा किनेर गोर्खा इतिहास कायम राख्न नेपाल सरकारका लागि सार्वजनिक सम्पत्ति बनाइदिएका छौं । अहिले यसको मूल्यांकन गर्ने हो भने अर्ब रुपैयाँ पुग्छ । यसमा लागेको हाम्रो सम्पत्ति, श्रम, सीप र समयको कदर गर्दै सरकारले बाँकी काम गर्नुपर्छ,' संयोजक इस्बोले भने ।

प्रकाशित : वैशाख १, २०७६ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?