कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मेडिकल कलेजमा ठगी : विलम्ब शुल्कमा चर्को ब्याज

सुदीप कैनी

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) ले एमबीबीएसलगायत चिकित्सा शिक्षा विषय पढ्ने विद्यार्थीसँग विलम्ब शुल्कमै चर्को ब्याज उठाउने गरेको छ । ब्याजसहित विलम्ब शुल्क नतिरे केयूले इन्टर्नसिपमा फेल गराइदिने गरेको विद्यार्थीको गुनासो छ । 

मेडिकल कलेजमा ठगी : विलम्ब शुल्कमा चर्को ब्याज

‘तोकेको शुल्क समयमा नबुझाए लेट फी लिइन्छ,’ केयूको मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले भने, ‘लेट फीमा पनि दैनिक ब्याज जोडेर रकम तिर्नुपर्छ ।’ केयूको सम्बन्धन प्राप्त कलेजले एउटै विद्यार्थीबाट ब्याजसहित १० लाखसम्म विलम्ब शुल्क असुलेको भेटिएको छ ।

केयूकै धुलिखेलस्थित स्कुल अफ मेडिकल साइन्सेसमा विलम्ब शुल्कमा दैनिक १५ प्रतिशतका दरले ब्याज जोडेर शैक्षिक शुल्क उठाउने गरिएको छ । त्यस कलेजमा विद्यार्थीबाट ब्याजसहित विलम्ब शुल्क साढे ७ लाखभन्दा बढी उठाएको पाइएको छ । विद्यार्थीका अनुसार स्कुल अफ साइन्सेसका म्यानेजर दीपक दाहालले ब्याजसहित विलम्ब शुल्क तिर्न बाध्य पार्ने गरेका छन् ।

सरकारले एमबीबीएस अध्ययनका लागि लाग्ने शुल्क ५० र २५/२५ प्रतिशतको दरले किस्ता प्रणालीमा बुझाउन सकिने प्रावधान बनाएको छ । किस्ता प्रणालीअनुसार रकम नबुझाए कलेजले विलम्ब शुल्क उठाउँछ र त्यसमा पनि ब्याज जोडिन्छ । महिना मरेपछि ब्याज रकममा पनि ब्याज जोडिन्छ । ब्याजसहितको रकम नबुझाए म्यानेजर दाहालले धम्क्याउने र अनेक अप्ठ्यारोमा पार्ने गरेको विद्यार्थी गुनासो गर्छन् । उनकै सिफारिसमा विश्वविद्यालयले फेल गराउने गरेको विद्यार्थीको भनाइ छ । ‘एसएलसीदेखि सबै कक्षाका शैक्षिक प्रमाणपत्र उत्कृष्ट छन् । एमबीबीएसमा पनि राम्रो नम्बर छ,’ स्रोतले भन्यो, ‘तर ब्याज सहित विलम्ब शुल्क नबुझाउँदा इन्टर्नसिप राम्रो नगरेको आरोपमा फेल गरिएको छ ।’

शुल्कका नाममा विश्वविद्यायल र मेडिकल कलेजहरूले विद्यार्थीको भविष्यमा खेलबाड गर्ने गरेको विद्यार्थी गुनासो गर्छन् । डिन कार्यालयलाई यस विषयमा पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको विद्यार्थीले बताए । सरकारले निर्धारित शुल्क पहिलो किस्ता भर्ना र दोस्रो र तेस्रो किस्ता क्रमशः दोस्रो र तेस्रो वर्षको भर्नाको समयमा बुझाउनुपर्ने विधि बनाएको छ ।

केयूले भने भर्नाअघि नै रकम नबुझाउने विद्यार्थीको हकमा जरिवानामा ब्याज उठाउने गरेको हो । ‘२/४ दिन पैसा बुझाउन ढिला हुँदा पनि दैनिक ब्याज जोडेर धेरै रकम दिनुपर्छ,’ एमबीबीएस अध्ययनरत एक विद्यार्थीले भने । दाहालले तोकिएको समयमा शुल्क नबुझाउने विद्यार्थीसँग विश्वविद्यालयको नियमबमोजिम विलम्ब शुल्क लिने गरेको बताए । ‘विद्यार्थीले समयमै रकम नबुझाए जरिवाना तिर्नैपर्छ,’ उनले कान्तिपुरसँग भने, ‘रकम लिने विश्वविद्यालयको आफ्नै मापदण्ड छ, त्यहीअनुसार शुल्क लिन्छौं ।’

केयूबाट सम्बन्धन पाएका मेडिकल कलेजहरूले सरकारले तोकेभन्दा पनि ३० लाखसम्म बढी रकम शुल्क असुल्ने गरेका छन् । काठमाडौं उपत्यका बाहिर एमबीबीएस पढ्ने विद्यार्थीका लागि सरकारले ४२ लाख शुल्क तोकेको छ । केयूबाट सम्बन्धन लिएको विराटनगरको नोबेल मेडिकल कलेजले सन् २०१८ ब्याजका विद्यार्थीसँग पहिलो किस्तामै २५ लाख लिइसकेको छ । काठमाडौंको नेपाल मेडिकल कलेजले २५ लाख र पाल्पाको लुम्बिनी मेडिकल कलेजले पहिलो किस्तामै प्रतिविद्यार्थी साढे २३ लाख लिएका छन् ।

सरकारको मापदण्डअनुसार पहिलो किस्तामा ४२ लाखको ५० प्रतिशतभन्दा बढी रकम लिन पाइँदैन । केयूका अन्य मेडिकल कलेजहरूले पनि ४९ लाखका दरले ३ र ४ किस्तामा रकम उठाएका हुन् । सोही दरले रकम उठाउने कलेजहरूले विद्यार्थी र अभिभावकलाई समय सीमासहितको शुल्क तालिका वितरण गरेका छन् । त्यसबाहेक इन्टर्नसिप शुल्क, डेभलपमेन्ट फी, परीक्षा शुल्कका नाममा विद्यार्थीपिच्छे ७० लाखसम्म लिइन्छ । कलेजले फेल गराइदिने डरले बढी शुल्क असुलीका विषयमा उजुरी दिन नसकेको विद्यार्थीको भनाइ छ ।

प्रकाशित : वैशाख २, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?