१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हुरी पीडितको दुखेसो- 'घामको रापले टेन्ट भित्र बस्नै सकिएन'

पवन यादव

सिमरा — दुई साताअघि आएको विनाशकारी हवाहुन्डरीबाट पीडित भएकाहरुलाई पालमा घामको रापले बस्न मुस्किल परेको छ ।  चार दिनदेखि बढेको चर्को घामले दिउँसो टेन्टमा बस्नै नसक्ने अवस्था आएको पीडितको गुनासो छ । 

हुरी पीडितको दुखेसो- 'घामको रापले टेन्ट भित्र बस्नै सकिएन'

'टेन्टले यहाँको मुसलधारे वर्षालाई पनि छेक्न सकेको छैन,’ पीडित भन्छन्, 'प्रचण्ड घामले त टेन्टमा बस्नै नसक्ने भएका छौँ ।’ टेन्ट तातेर आगो जस्तै हुने गरेको छ । बिहान १० देखि अपरान्ह ५ बजेसम्म पीडितहरू बाहिरै बसेर घाम छल्ने गरेका छन् ।


टेन्टमा भएको गर्मी सहन नसकेर बाराको सुवर्ण गाउँपालिका–८ हर्दिया प्रसुरामपुरकी निसहारी देवी छिमेकीको भारदलीमा आइतबार पुगेकी थिइन् । उनी ५ महिनाको छोरी कुसुम र ३ वर्षीय छोरा रोबा कुमार यादवलाई लिएर गर्मी छल्न छिमेकीको बरन्डामा आश्रयका लागि पुगेकी थिइन् । दिउँसो घामबाट बच्न ३ छोरी र एक छोरा सहित छटपटिएर भौँतारिनु परेको उनले बताइन् । '१० बजेपछि टेन्टमा एक छिन पनि बस्न सकिँदैन,’ उनले भनिन्, 'टेन्टमा गर्मीले असाध्यै पीडा भएको छ, टेन्टभित्र कत्ति गर्मी हुन्छ । भनेर साध्य छैन ।'


टेन्टमा भत्केको घरबाट निकालिएका सामान र पाएको राहत सामाग्री सुरक्षित राखिएको छ । हावाको वेगले टेन्ट उडाउने खतरा छ । वर्षाले टेन्ट चुहिन थालेको छ । टेन्टभित्र पानी पस्न थालेपछि वर्षादको बेला जीउ ज्यान जोगाउन मुस्किल पर्ने गरेको छ । घर भत्किएर विपत्तिको बेला धेरै पीडा भोग्नु परेको पीडित निसहारी देवीले बताइन् ।


उनी जस्तै टेन्टको गर्मी खप्न नसकेर गाउँकै अर्का हावाहुन्डरी पीडित जमिला खातुन पनि सासू र बुहारी सहित रुख नजिक बनाइएको टहरामा दिनभर बस्ने गरेका छन् । टेन्टभित्र गर्मीले रिँगटा लागेर लड्न सक्ने अनुभूति हुने गरेको उनले बताइन् । '१० बजेपछि टेन्टमा पस्ने बित्तिकै फेन्ट भएर लडिन्छ जस्तो लाग्छ,’ उनले भनिन्,' टेन्टभित्र धेरै गाह्रो भएपछि बाहिर बस्न बाध्य छौँ ।' उनीजस्तै गाउँका सबै हावाहुरी पीडित दिनभर टेन्टमा बस्दैनन् । उनीहरू छिमेकीको बरन्डा, टहरा र छहारीमा बसेर दिन बिताउने गरेको बताउँछन् । 'सरकारले हाम्रो भत्केको घर बनाइदिन्छ रे ? सुनेका छौँ । तर कहिले सम्म घर बन्छ ?', टेन्टमा बस्न समस्या भएकोले यथाशीघ्र घर निर्माण गरिदिन माग गर्दै पीडित मजिरा खातुनले भनिन्,'हामीले कहिलेदेखि घरमा शान्तिपूर्ण बस्न पाउछौं ?'


अधिकांश पीडितले घर बनाइदिने आश्वासन सहित थुप्रै संघसंस्थाले राहत उपलब्ध गराइदिने आश्वासन दिएपनि वास्तविकतामा सहयोग भने पाएका छैनन् । 'हामीले घर बनाइदिन्छु, राहत दिलाउने आश्वासन कहिलेसम्म सुन्नुपर्ने ?', उनले भनिन्,'सरकारले हामीलाई बस्ने घर बनाइदिए पुग्छ, अरू अरू केही चाहिँदैन ।' उनले खेतमा लगाएको गहुँ बाली खेतमै कुहिन थालेको छ । हुन्डरीले गहुँ बाली भुईँमा झारीदिएपछि खेतमै नष्ट भइरहेको बताइन् ।


पीडितले यथाशीघ्र घर बनाइदिन सरकारसित माग गरेका छन् । हवाहुन्डरीले भत्काएको घर पुनःनिर्माणका लागि आइतबार जनकपुरमा जिल्ला प्रकोप उद्धार समितिको बैठक बसेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । सरकारले पीडितको घर पुनः निर्माण गर्न नेपाली सेना खटाउने निर्णय गरिसकेको छ । 'पीडितको घर सरकारले बनाइदिन्छ, पीडितहरू ढुक्क हुनुपर्‍यो, घर पुनःनिर्माणको लागत इस्टिमेट तयार भएको छैन,' प्रजिअ पौडेलले भने, 'पीडितको घर केन्द्र सरकारले पुन निर्माण गरिदिन्छ ।'


तर पुनः निर्माण कार्य सुरु गर्ने तिथिमिति टुंगो लागिनसकेको बताए । उनका अनुसार नेपाली सेनाले पीडितको घर पुनः निर्माण योजना तयार गरेपछि सार्वजनिक गर्नेछन् । बारामा हावाहुन्डरीले एक हजार ३ सय ६२ घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?