कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

४६ देशका ३६० आरोही सगरमाथातर्फ

वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार डलर र नेपालीले ७५ हजार रुपैयाँ आरोहण दस्तुर बुझाउनुपर्छ । 
सुरज कुँवर

काठमाडौँ — यस पटकको वसन्तकालीन सगरमाथा आरोहणका लागि सोमबारसम्म नेपालसहित ४६ मुलुकका ३ सय ६० आरोही त्यसतर्फ लागेका छन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार सोमबारसम्म ४६ मुलुकका आरोहीले सगरमाथा आरोहणको अनुमति पाएका छन् । यिनमा ७० महिला र २ सय ९० पुरुष छन् । 

४६ देशका ३६० आरोही सगरमाथातर्फ

नेपालबाट ४ वटा आरोहण दलका १२ सदस्य छन्, जसमा ६ महिला छन् । हालसम्म सबैभन्दा धेरै भारतका ८३, अमेरिकाका ६७, चीनका ५९, बेलायतका ४०, क्यानडाका ५ आरोही सगरमाथातर्फ लागेका छन् ।

विभागले यी आरोहीबाट ४२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन गरेको छ । वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार डलर (करिब १२ लाख रुपैयाँ) आरोहण दस्तुर बुझाउनुपर्छ । नेपालीलाई ७५ हजार रुपैयाँ तोकिएको छ । सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वाधिक महँगो हिमालको सूचीमा पर्छ । विदेशीका लागि वसन्तकालीन सिजनमा ११ हजार डलर दस्तुर तिर्नुपर्ने यो हिमालका लागि विभागले हिउँद र बर्खायाममा २ हजार ७ सय ५० डलर मात्रै लिन्छ । व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्छ ।


यस पटक सगरमाथाबाहेक अन्य १९ हिमालमा पनि आरोही गइहेका छन् । यिनमा सोमबारसम्म ३ सय ३१ आरोहीले अनुमति लिएका छन् । १९ मध्ये सिन्धुपाल्चोक क्षेत्रमा पर्ने जुगल हिमशृंखलाअन्तर्गत रहेको ग्याल्जेन पिक आरोहणका लागि गएका ६ मध्ये ३ जनाले आरोहण सकिसकेका छन् । विभागले सोमबारसम्म यी सबै हिमाल आरोहणका लागि ४६ करोड ५९ लाख सलामी दस्तुर संकलन गरिसकेको छ ।


यसैबीच सोमबार भारत, चीन र नेपालका तीन महिला आरोही सगरमाथातर्फ लागेका छन् । उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भम्रण वर्ष २०२० को झन्डा हस्तान्तरण गरे । तीन मुलुकका तर्फबाट हुन लागेको यो आरोहण अभियानलाई पहिलो भनिएको छ । यसमा नेपालका तर्फबाट कान्छीमाया तामाङ, भारतबाट कल्पना दास र चीनबाट लियामु मा छन् ।

प्रकाशित : वैशाख २, २०७६ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?