कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दिल्ली-काठमाडौं बसमा भन्सार छलीका सामान

करोडभन्दा बढी मूल्यका कपडासहित तीन जना पक्राउ
जनकराज सापकोटा

काठमाडौँ — दिल्ली बस सेवाअन्तर्गत सञ्चालित बसमा भन्सार छलीका सामान ओसारपसार बढेको छ । प्रहरीले शुक्रबार मात्रै काठमाडौंको चमतीबाट भन्सार छलेर ल्याइएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका सामानसहित काठमाडौं–दिल्ली सेवाको बस नियन्त्रणमा लिएको छ ।

दिल्ली-काठमाडौं बसमा भन्सार छलीका सामान

गाडीको छतमा फल्सबटम बनाएर सामान ल्याएको आरोपमा चालक विष्णुकुमार विश्वकर्मा, कलंकी बस्ने दीपा राना र भरत तामाङ पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार महानगरीय प्रहरी वृत्त बालाजुले ना५ख ४८४२ नम्बरको बस नियन्त्रणमा लिएपछि चालक विश्वकर्मा प्रहरीलाई घूस खुवाएर उम्किन खोजेका थिए ।

विश्वकर्माले बस प्रहरीले नियन्त्रणमा लिएको सूचना दिएपछि कलंकी बस्ने दीपा राना र भरत तामाङ तीन लाख रुपैयाँ नगद लिएर प्रहरी कार्यालय पुगेको प्रहरी परिसर काठमाडौंका एसएसएसपी वसन्त लामाले बताए ।


सामान छाडिदिन आग्रह गर्दै उनीहरूले तीन लाख रुपैयाँ तत्कालै र कुरा मिलाए २१ लाख रुपैयाँसम्म दिने बताएको उनले जनाए । प्रहरीले घूस दिन ल्याएको ३ लाख तथा उनीहरूको साथमा रहेको शंकास्पद १ लाख रुपैयाँसहित तीनै जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ६ सय ६० थान कुर्ता, २ हजार २ सय ९५ थान टप्स, २ सय ३४ थान पाइन्ट, ८ सय २९ थान सलसहितका कपडा बरामद भएको छ ।


२०७१ मंसिर ९ देखि सञ्चालित काठमाडौं–दिल्ली सेवाका बसमा भन्सार छलीको सामान ओसारिएको यो पहिलो पटक होइन । यसअघि पनि प्रहरीले पटक–पटक यसैगरी सामानसहित गाडी नियन्त्रणमा लिएको थियो ।


२०७४ चैत २२ मा प्रहरीले नागढुंगाबाट भन्सार छलीको कपडा बोकेर काठमाडौं आइरहेको ना६ख ६३०२ नम्बरको टुरिस्ट बस नियन्त्रणमा लिएको थियो । उक्त बसको विभिन्न भागमा फल्सबटम बनाई ल्याइएका कुर्ता सलवारलगायतका कपडासहित प्रहरीले बसका चालक रामबहादुर थोकर, सहयोगी गणेश जिरेल र गाडी धनी रमेश खडकालाई पक्राउ गरेको थियो ।

लगत्तै प्रहरीले २०७४ चैत २८ गते दिल्लीबाट काठमाडौं आउँदै गरेको बा५ख १२३५ नम्बरको बसमा भन्सार छलेर ल्याइएको १ सय १२ थान मोबाइल बरामद गर्‍यो । महानगरीय प्रहरी वृत्त कालीमाटीले उक्त बसका चालक कृष्ण थापामगर र हरिबहादुर श्रेष्ठसहित सहयोगी भुवनबहादुर भुजेललाई पनि नियन्त्रणमा लियो ।


एसएसपी लामाले यसअघि दिल्लीबाट काठमाडौं आउने बसका यात्रुको मात्रै सामान्य जाँच हुने गरेकोमा अब बसको पूरै जाँच गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘एकपछि अर्को बस भन्सार छलीका कपडासहित नियन्त्रणमा लिइएकाले गम्भीर हुनैपर्ने भएको छ ।’


काठमाडौंमा भन्सार छलीका कपडा

२०७५ मा मात्रै प्रहरीले भन्सार छलेर काठमाडौंमा भित्र्याइएका तीनवटा गाडी र एउटा कोठाबाट करिब ४३ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । २०७५ असार ४ गते प्रहरीले विशालबजारबाट बा३च ६८४१ नम्बरको टाटा गाडीलाई नियन्त्रणमा लिएको थियो । गाडीभित्र भन्सार छलेर ल्याइएका अन्दाजी १२ लाख मूल्य बराबरको कपडा थियो ।

त्यसलगत्तै २०७५ असार २१ गते भन्सार छलेर ल्याइएका २० लाख मूल्य बराबरका कपडा काठमाडौंको किलागलबाट बरामद भयो । बा६च ६४२ नम्बरको टाटा गाडीबाट प्रहरी महिलाका कपडा बरामद गरेको हो । उक्त कपडा भारतबाटै दिल्ली–काठमाडौं बसमा ल्याइएको थियो ।


२०७५ फागुन ५ मा हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१ज ५८८४ नम्बरको टाटा सुमोबाट प्रहरीले नब्बे हजार मूल्यबराबरका साडी र लेहंगा बरामद गर्‍यो । ती सबै कपडा भन्सार छलेर ल्याइएको थियो । प्रहरीले २०७५ फागुन २५ गते काठमाडौं महानगरपालिका १६ स्थित एक घरबाट पनि भन्सार छलेर ल्याई लुकाइराखेको अन्दाजी ११ लाख १८ हजार मूल्य बराबरको कपडा बरामद गरेको थियो ।


एसएसपी लामाले काठमाडौंको कपडा बजारमा भन्सार छलीका कपडाको परिमाण ठूलो रहेको हुन सक्ने अनुमान सुनाए । उनले भन्सार छलीका कपडा बरामदका शृंखलाबद्ध तथ्यांकले राजस्व छलीमा ठूलो गिरोह संलग्न रहेको आशंका गरे । ‘भारतबाट भन्सार छलीका कपडा ल्याएर बेच्ने धन्दामाथि कडा कारबाही सुरु गरेका छौं’, उनले भने ।


यो पनि पढ्नुहोस्ः

भन्सार छलेर ल्याएको करोड बढीको कुर्तासहित ३ जना पक्राउ

प्रकाशित : वैशाख २, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?