१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

यो त्यही रकेट हो, जसको टुप्पोमा रहने कार्गोभित्र नेपाल, श्रीलंका र जापानको स्याटेलाइट राखेर बिहीबार प्रक्षेपण गरिँदै छ ।
गोविन्द पोखरेल

काठमाडौँ — नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो ।

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ ।

अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण हुनेछ । भू–उपग्रहलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा लगिनेछ ।

यसका लागि सिग्नोस कार्गो अन्तरिक्ष यानले आईएसएससम्म पुर्‍याउने काम गर्नेछ । उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म आईएसएसमै रहने छ । स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीले पुनः स्याटेलाइट परीक्षण गर्नेछन् । मे तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिने कार्यतालिका रहेको नास्टले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले लन्चको प्रत्यक्ष प्रसारण गर्नेछ । अमेरिकी समयअनुसार बुधबार अपराह्न ४ बजेर ४६ मिनेटमा लन्च हुनेछ । फागुन ३ गते जापानस्थित क्युसु इन्स्टिच्युट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी भू–उपग्रह निर्माण सम्पन्न भएको जानकारी दिइएको थियो । ‘बर्डस्’ कार्यक्रमअन्तर्गत नेपाल सरकारका तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो ।


उपग्रह निर्माणका लागि नेपालका तर्फबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका मुख्य प्राविधिक सहायक हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए ।

२०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्युटेकसँग समझदारी भएपछि उपग्रह निर्माण सुरु भएको थियो । पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब ४ सय किलोमिटरमाथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५/१० मिनेटसम्म रहने ढकालले बताए ।

स्याटेलाइटमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ । ‘नेपाली स्याट–१’ नानो भू–उपग्रह हो । लम्बाइ, चौडाइ र उचाइ १०/१० सेन्टिमिटर छ । यसको पहिलो काम तस्बिरहरू खिचेर पठाउनु हो । नानो स्याटेलाइट निर्माणबाट प्राप्त अनुभवलाई ठूला भू–उपग्रहहरू निर्माणमा प्रयोग गर्न सकिने नास्टले जनाएको छ ।

ग्राउन्ड स्टेसन निर्माण ढिलाइ

मुलुककै पहिलो भू–उपग्रह भनेर प्रचार गरिए पनि नास्टले भू–उपग्रहबाट पठाइएको तथ्यांक संकलनका लागि चाहिने ग्राउन्ड स्टेसन निर्माणमा ढिलाइ गरेको छ ।

ग्राउन्ड स्टेसन निर्माणका लागि नास्टले चैत १९ गते उपकरण खरिदका लागि २१ दिने सूचना निकालेर बोलपत्र आह्वान गरेको थियो । सरकारी नियमअनुसार ठेकेदार छनोट र सम्झौता वैशाख अन्तिम साता हुने देखिएको छ । ग्राउन्ड स्टेसन निर्माण गर्न चाहिने रिसिभर र ट्रान्समिटर नेपाली बजारमा पाइँदैन । यसका लागि विदेशबाट ल्याउनुपर्ने हुन्छ ।

रिसिभर र ट्रान्समिटर खरिदमै १५ दिन लाग्न सक्ने अनुमान छ । भू–उपग्रह आईएसएसमा एक महिनासम्म रहेर पृथ्वीको कक्षमा छाडिने छ । भू–उपग्रहले तथ्यांक दिन सुरु गरे पनि नास्टले ग्राउन्ड स्टेसन निर्माण समयमा नै पूरा नगर्ने देखिएको छ ।

नास्टका प्रविधि विभाग प्रमुख ढकालले ठेकेदारसँग सम्झौता भएको १५ दिनभित्र ग्राउन्ड स्टेसन निर्माण भइसक्ने दाबी गरे । उनले भने, ‘ग्राउन्ड स्टेसनका लागि चाहिने उपकरण विदेशबाट ल्याउन मात्र समस्या हो, उपकरण दुई/तीन दिनभित्रै जडान गर्न सकिन्छ ।’

प्रकाशित : वैशाख ३, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?