'प्राविधिक रेखदेख नहुँदा पुल भाँचियो’

माधव अर्याल

पाल्पा — गुल्मीको मुसीकोट नगरपालिका–३, वडागाउँ र ७ को वामीटक्सार जोड्ने निर्माणाधीन पक्की पुल सरकारी प्राविधिकको रेखदेखबिना काम गरिँदा भाँच्चिएको आरोप स्थानीयले लगाएका छन् । नयाँ डिजाइन भएकाले निर्माण व्यवसायीले पनि राम्रोसँग बुझिसकेका थिएनन् भने कामदार आफैं सिक्दै थिए । 

'प्राविधिक रेखदेख नहुँदा पुल भाँचियो’

बडीघाट खोलाको फेदीमा बन्दै गरेको पक्की पुल आइतबार दिउँसो ढलान गरिरहेका बेला भाँचिएको थियो । ५८ मिटर लम्बाइको पुल बीचमा भाँचिँदा पाँच जना घाइते भएका थिए ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय सडक पुल कार्यक्रम (एलआरबीटी) अन्तर्गत ठेक्का भएको पुल हो । यस प्रकारका पुल नेपालमै अहिलेसम्म पाँचवटा माक्रै बन्ने त्रममा छन् । खोला वा नदीको वारि र पारि एबुटमेन्ट हुन्छ । बीचमा ५५–६० मिटरसम्म पनि पायर (पिलर) राखिँदैन । खर्च कम गर्ने हिसाबले यस्ता पुल डिजाइन भएका छन् ।


स्विस सरकारको सहयोग रहेको यस पुलको गुल्मीको तम्घासमा कार्यालय रहेको पूर्वाधार विकास कार्यालयले रेखदेख गर्छ । यही पुलका लागि दुई जना प्राविधिक स्विस सरकारले पनि खटाएको छ । तर, रेखदेख र प्राविधिक रूपमा भने कमजोरी नै देखिने प्राविधिकहरू बताउँछन् । पूर्वाधार विकास कार्यालयका प्रमुख विनोद चौधरीले दुई जना प्राविधिक फिल्डमै खटिएका थिए ।


सटरिङमा भएको कमजोरीले गर्दा टेका धसिएर पुल भाँच्चिएको उनले बताए । ‘म पनि स्थलगत रूपमा हेर्न गएको छैन,’ उनले भने, ‘फोटो हेर्दा सटरिङ र टेकाहरूमा कमजोरी देखिन्छ ।’ उनले सीमित कर्मचारीका कारण सरकारी प्राविधिक नियमित खटाउन नसकेको बताए । यो पुल प्रि–स्ट्रेस बक्स ग्रिडर प्रविधिमा निर्माण भएको छ ।


पहिले बन्ने पुलमा जस्तै टेका दिँदा यसले थेग्न सक्दैन । वर्किङ स्ट्रेसजस्तो नभई अहिलेको बक्स हुने भएकाले पनि मसला बढी जान्छ । इन्जिनियरहरूका अनुसार भार बढी हुने भएकाले पनि यसलाई पहिला नै अध्ययन गर्नुपर्ने थियो । यसको ढलान सेट हुन पनि कम्तीमा २८ दिन लाग्छ । त्यसपछि बीचमा राखिएका प्वालबाट तार (वायर) लगेर यसलाई सपोर्ट गरिन्छ । त्यसपछि मात्र बलियो हुन्छ ।


यस पुलको डिजाइन बीचमै परिवर्तन गरिएको थियो । २७ असार ०७३ मा पुल निर्माण गर्न ५ करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो, जसअनुसार ०७५ असार मसान्तमा सक्नुपर्थ्यो । खोलाबाट होचो भएकाले बीचमै डिजाइन परिवर्तन गरियो । पूर्वाधार विकास कार्यालयका प्रमुख चौधरीका अनुसार अहिले म्याद थप र भेरिएसनको प्रक्रियामा छ । पुल भत्किएपछि अब के गर्ने भन्ने अन्योल उत्पन्न भएको उनले बताए ।


मुसीकोट नगरपालिका मात्र नभएर बाग्लुङ, पोखरासम्म आउजाउ सहज बनाउने पुल भाँचिँदा विकासमै धक्का लागेको मुसीकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले बताए । भाँचिएको पुल सिंगल लेनको मोटरेबल पुल हो । शुक्रबार सटरिङ सकेपछि शनिबार ४० प्रतिशत ढलानको काम सकिएको थियो । पुनः आइतबार ३५ प्रतिशत थप गरी ७५ प्रतिशत काम सकिएको थियो । ढलान गर्न बाँकी २५ प्रतिशत रहँदा अचानक पुल बीच भागबाट भाँचियो ।


पुल नजिकै घर भएका प्रेम शाक्यले भने, ‘सबै आआफ्नै धुनमा काम गरिरहेका थिए । माथि मसला हाल्ने काम भइरहेको थियो । अचानक पुल भाँचियो ।’ केही दिनअघिको खोलाको पानी बढेका बेला सामान्य टेकालाई असर गरेको थियो । ‘तल्लो भेगमा हेर्न नगएकाले पनि समयमा थाहा हुन सकेन,’ शाक्यले भने ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?