१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विद्यार्थी भर्ना अभियान सुरु

काठमाडौँ — वैशाख लागेसँगै ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔं’ नारासहित विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यार्थी भर्नासँगै सामुदायिक विद्यालय सुधार तथा रूपान्तरण अभियान सुरु भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

विद्यार्थी भर्ना अभियान सुरु

संविधानअनुसार विद्यालय सञ्चालन अधिकार स्थानीय सरकारमातहत रहेकाले संघीय शिक्षा मन्त्रालयले विज्ञप्तिमार्फत अभियान आहान गरेको हो ।


विद्यालयबाहिर रहेका विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षा दिलाउने उद्देश्यले २०६१ देखि विद्यार्थी अभियान सुचारु छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ देखि ९ वर्ष उमेर समूहका ९१ लाख बालबालिका अझै विद्यालयबाहिर रहेको पूर्वानुमान गरेको छ ।


शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञप्तिमार्फत वैशाख २ गतेदेखि जारी अभियान सफल तुल्याउन सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिलगायत सहभागी रहने आहान गरेका छन् ।


‘अहिले समाजवादउन्मुख राज्य निर्माणको यस महत्त्वपूर्ण घडीमा शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्न सक्नुपर्छ,’ मन्त्री पोखरेलले भनेका छन्, ‘विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षक वर्गसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी तथा गैरसरकारी क्षेत्र सबैमा रहेको छ ।’


मन्त्रालयले हरित विद्यालय, नमुना विद्यालय, प्राविधिक विद्यालय, लक्षित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शिक्षक तालिम, अभिभावक सचेतनाजस्ता कार्यक्रम तथा अवधारणा कार्यान्वयनसँगै साक्षर नेपाल घोषणको तयारी गरेको जनाएको छ । ‘विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने, नियमिति विद्यालय आगमनको सुनिश्चित गर्ने र विद्यालयमा उचित सिकाइ वातावरण तयार गर्न आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्छु,’ मन्त्रीले भनेका छन् ।


त्यसैगरी, मन्त्रालयका सचिव खगराज बरालले भर्ना अभियानसँगै विद्यार्थीलाई विद्यालयमा टिकाउने र उपलब्धिमूलक ढंगले सिकाइ प्रभावकारी बनाउन घरपरिवार र विद्यालयको ध्यानाकर्षण गराएका छन् । अभियान वैशाख १५ गतेसम्म जारी रहने छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्रले शिक्षालाई व्यक्तिको नैसर्गिक अधिकारअन्तर्गत राखेको छ । नेपालको संविधानमा शिक्षालाई मौलिक अधिकारअन्तर्गत राखिएको छ । आधारभूत शिक्षा अनिवार्य र निःशुल्क हुने प्रावधान छ ।


वैशाख २ भर्ना दिवस

सरकारले हरेक वर्षको वैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसका रुपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालयमा भर्ना दिबस मनाउने निर्णय गरेको हो । बैठकले प्रत्येक वर्ष बैशाख २ गतेदेखि १६ गतेसम्म देशभर विद्यार्थी भर्ना अभियान कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भर्ना अभियान सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए ।


'पाठ्यपुस्तक सातै प्रदेशमा’

सामुदायिक (सरकारी) विद्यालयको पाठ्यपुस्तक छपाइ जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले सातै प्रदेशमा पाठ्यपुस्तक पुर्‍याइसकेको जनाएको छ । सरकारले यस वर्ष कक्षा १ देखि १० सम्म पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउँदैआएको छ । विद्यार्थीले भर्ना अभियानसँगै निःशुल्क पाठ्यपुस्तक पाउनेछन् ।


‘हामीले २ करोड ६ लाख थान पाठ्यपुस्तक छापेर सातै प्रदेशमा रहेका हाम्रा क्षेत्रीय कार्यालयमा पुर्‍याइसकेका छौं,’ जनक शिक्षाका प्रबन्ध सञ्चालक महेशबाबु तिमिल्सिनाले कान्तिपुरसित भने, ‘पहाडी क्षेत्रका अधिकांश जिल्लामा पनि पुस्तक पुगिसकेको खबर पाएका छौं । तराईमा सधैंझैं ढिलो होला जस्तो छ किनभने त्यहाँका विद्यालय ढिलो तातिन्छन् ।’


जनक शिक्षाले साधारण, संस्कृत र प्राविधिक गरी तीन धारको १ सय ६० विषयको पाठ्यपुस्तक छपाउँदै आएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीले पाँच विषयको दुई रङका पाठ्यपुस्तक पाउँछन् । त्यसभन्दा माथिका पुस्तक श्यामश्वेतमा छापिन्छन् ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?