सरकारले एउटा पनि राम्रो काम गर्न सकेन : सभापति देउवा

चित्रांग थापा

महेन्द्रनगर — पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप लगाए ।

‘मुलुकको शान्ति सुरक्षा कै अवस्था पनि सन्तोषजनक छैन,’ मंगलबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका दोषीलाई पक्राउ गर्नुको सट्टा दोषीलाई नै संरक्षण दिने र जोगाउने काम सरकारले गरिहेको छ।’ उनले घटनाको ९ महिना बितिसक्दा पनि सरकारले अपराधीलाई पक्राउ गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको बताए।

Citizen

उनले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्धताका साथ अघि बढेको बताए। ‘पार्टीको केन्द्रिय अनुशासन समितिले यस सम्बन्धमा काम सुरु गरिसकेको छ, प्रकृया अनुसार कारवाही हुनेछ,’ उनले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘पार्टीमा गुट उपगुट पनि अनुशासन समितिको काम कारवाही पछि अन्त्य हुन्छ।’

उनले आफ्नो पार्टी प्रजातान्त्रिक पार्टी भएकोले गुट उपगुट देखिएको हुन सक्ने उल्लेख गर्दै कम्युनिष्ट पार्टीमा समेत गुट उपगुट देखा परेको बताए।

सरकारले प्राज्ञिक क्षेत्रदेखि प्रेससम्म जताततै अनावश्यक हस्तक्षेप गरी लोकतन्त्रको मर्म विपरित काम गरिरहेको आरोप लगाए। ‘प्रजातन्त्र र प्रेस एक अर्काका पर्यायवाची हुन, प्रेस बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुन्छ,’ देउवाले भने, ‘तर सरकार भने विश्वविद्यालयका पदाधिकारीलाइ कारवाही गर्ने नाममा ठाडो हस्तक्षेप गरी आफू नजिककालाई धमाधम भर्ना गर्न थालेको छ, प्रेसलाइ पनि अनावश्यक रुपमा सताइरहेको छ।’ कांग्रेसलाई यस्तो खाले हस्तक्षेप सह्य र मान्य नहुने उनले बताए।

देउवालेनेत्रविक्रम चन्दसम्बन्धी एक प्रसंगमा सरकारले द्वन्द्व र विवाद चर्काउनु भन्दा वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। ‘वार्ता गर्ने जिम्मेवारी पनि सरकार कै हो, सरकार यसबाट पन्छिन मिल्दैन,’ उनले भने।

प्रकाशित : वैशाख ३, २०७६ १०:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

टीएमजे क्षेत्रलाई समुदायको जिम्मा

चन्द्र कार्की

तेह्रथुम — गुराँसको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र संरक्षणका लागि समुदायलाई जिम्मा दिने पहल थालिएको छ ।

यो क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा पर्छ । वन तथा वातावरण मन्क्रालयले मन्त्री शत्तिबहादुर बस्नेत सहितको टोली बसन्तपुरमा आएर सरोकारवालाहरूसँग छलफल गरेका छन् ।

छलफलमा तीनै जिल्लाका सांसद, स्थानीय तहका प्रमुख, वन उपभोक्ता समूहका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, संरक्षणविद, वन्यजन्तुविद, स्थानीयको सहभागिता थियो । मन्त्रीबस्नेतले टिएमजेको क्षेत्र विस्तार गरी नयाँ मोडलको संरक्षण क्षेत्र घोषणा गर्न मन्त्रालयले अध्ययन गरिरहेको बताए ।

‘स्थानीय समुदायको मागबमोजिम नै संरक्षण क्षेत्र घोषणा हुन्छ,’ उनले भने, ‘संरक्षण क्षेत्र घोषणा भए पूर्वको यो सवैभन्दा फराकिलो संरक्षण क्षेत्र हुनेछ ।’ टीएमजेको क्षेत्र विस्तार गरी नेपाल, चीन र भारत त्रिदेशीय सीमा जोड्ने गरी स्थानीय जनताको सहभागितामा बिल्कुलै फरक मोडलको संरक्षण क्षेत्र घोषणा गर्न मन्त्रालयले अध्ययन गररिहेको उनकोभनाइ थियो ।

ताप्लेजुङका संघीय सांसद योगेश भट्टराईले अन्तर्राष्ट्रिय स्तरको सम्बन्ध जोड्ने फरक मोडलको संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने बताए । संखुवासभाका सांसद राजेन्द्र गौतमले संरक्षण क्षेत्र घोषणा गर्दा स्थानीय समुदायको संलग्नतामा नयाँ मोडलको अवधारणा अपनाउनुपर्ने बताए । तेह्रथुमका सांसद भवानी प्रसाद खापुङले राम्रो ढंगबाट व्यवस्थापनको मोडल खोज्नुपर्ने बताए । आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले संरक्षण क्षेत्र घोषणा गर्दा आदिबासी जनजातिका हक अधिकार कुण्ठित नहुने ग्यारेन्टी हुनुपर्ने धारणा राखे ।

टीएमजे क्षेत्रलाई तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण सरक्षण ऐन २०५३ अनुसार ०५५ सालमा संरक्षण क्षेत्र घोषणा गरेको थियो । स्थानीयले घोषणालाई खारेज गरी वन ऐनअन्तर्गत समुदायमा आधारित संरक्षण क्षेत्र घोषणागर्न मन्त्रालय समक्ष माग गर्दै आएका छन् ।

टीएमजे क्षेत्रको हालको क्षेत्रफललाई विस्तार गरी कन्चनजङघा र मकालु सरक्षण क्षेत्रसम्म पुर्‍याउने विषयमा सहमति भइसकेको र संरक्षणको मोडलका विषयमा मात्र छलफल भइरहेको प्रदेश सभाका सदस्य लक्ष्मण तिवारीले बताए ।

टीएमजे क्षेत्रमा १८ हजार ७ सय ८३ घरधुरीका १ लाख ३ हजार ४ सय ६५ जनसंख्याको बसोवास छ । टीएमजे क्षेत्रमा हुने वन संरक्षण, संवर्द्धन र उपभोगको अधिकार स्थानीय बासिन्दा र सामुदायिक वनका उपभोक्तालाई हुनुपर्ने माग यी तीनै जिल्लाका सामुदायिक वन समूहले पनि गर्दै आएका छन् ।

यो क्षेत्रमा ३८ हजार ५ सय ९० हेक्टर घना वन, ६ हजार ९ सय ६१ घाँसे मैदान, ४ सय ४२ हेक्टर नाङगो खाली जमिन, ११ हजार ६ सय ४४ हेक्टर आवादी जमिन, ६ दशमलव ३ हेक्टर सिमसार, ५ सय ८७ हेक्टर हिउँ परिरहने क्षेत्र रहेको परामर्श निकाय ग्रिन सोलुसनले वन मन्त्रालयलाई बुझाएको तथ्याङकमा उल्लेख छ ।

त्यसमध्ये ८ हजार ८ सय ७४ हेक्टर क्षेत्रफलमा घना गुराँस वन मात्र छ । यो क्षेत्रमा १३ जलाधार क्षेत्र र ३३ वटा पोखरी छन् । जो पर्यटकीय र जीवन यापनका हिसावले धेरै महत्त्व राख्छन् ।

प्रकाशित : वैशाख ३, २०७६ १०:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT