अवैध रूपमा सुन किन्न खोज्नेहरू ठगको फन्दामा

जनकराज सापकोटा

काठमाडौँ — अवैध बजारमा सस्तोमा सुन किन्न पाइने लोभमा ठगिनेहरूको सङ्ख्या बढ्दै गएको छ । सस्तोमा आधा किलो सुन किन्न पाइने लोभमा काठमाडौँका राजेश विकले १९ लाख झन्डै गुमाएनन् । प्रहरी परिसर काठमाडौंले मङ्गलवार मात्रै नक्कली सुन बिक्रीको धन्दामा संग्लन दुई फरक फरक गिरोह सार्वजनिक गरेपछि सस्तोमा पाइने भन्दै नक्कली सुनको बिक्री धन्दाको सञ्जाल सतहमा आएको हो ।

फाइल फोटो

पुस १२ गते राजेश विकले १९ लाख रुपैयाँमा आधा किलो सुन किन्ने लोभमा नुवाकोटका दुप्चेश्वर गाउँपालिका-६ का पूर्णबहादुर तामाङ, काभ्रे चौरी देउराली गाउँपालिका ३ बस्ने चन्द्रबहादुर श्रेष्ठ, प्रिविन श्रेष्ठ र सुवा श्रेष्ठलाई १९ लाख रुपैयाँ दिएका थिए।

Citizen

राजेशले पैसा बुझाएपछि उनीहरूले आधा किलो सुन भन्दै सुन राख्ने प्याकेट दिएका थिए। घर पुगेर प्याकेट खोलेपछि बल्ल राजेशले थाहा पाएका थिए, सुन भनेर किनेको त फलामको टुक्रा पो रहेछ। राजेशको उजुरीका आधार प्रहरीले चार जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको थियो।

प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै विक्री गर्न खोज्ने अर्का एकलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले धादिङ रुबी भ्याली गाउँपालिका ४ घर भई स्वयम्भू बस्ने २२ वर्षीय बेमान तामाङलाई एक केजी नक्कली सुन सहित पक्राउ गरेको हो। प्रहरीले उनीलाई ठगी मुद्दा चलाउने प्रक्रिया अगाडी बढाएको छ।

नक्कली सुन बिक्रीका पछिल्ला घटना:

१७ भदौ : २ केजी नक्कली सुन सहित अभिषेक तामाङ, राम तामाङ, राज तामाङ, जितेन तामाङ, वीरेन्द्र तामाङ र राजकुमार तामाङ नागढुंगाबाट पक्राउ।

२४ मंसिर : ६६ लाखमा दुई किलो नक्कली सुन बेच्न खोज्ने लालबहादुर लामा र राजीव तामाङ बौद्ध पक्राउ।

३ पुस : एक केजी नक्कली सुन सहित समीर कोइराला सुकेधाराबाट पक्राउ।

३० चैत : एक किलो नक्कली सुन बेच्न हिँडेका बेमान तामाङ स्वयम्भूबाट पक्राउ।

२ बैशाख : १९ लाखमा आधा किलो सुन भन्दै फलाम बेच्ने पूर्ण बहादुर तामाङ, चन्द्र बहादुर श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुवास श्रेष्ठ पक्राउ।

प्रकाशित : वैशाख ३, २०७६ १४:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा एकको मृत्यु, १६ घाइते

डम्बरसिं राई

खोटाङ — काठमाडौँबाट दिक्तेल आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ना ४ ख ७४११ नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा गएराति साढे १० बजे दुर्घटना भएको थियो । 

बस दुर्घटनास्थल । तस्बिर सौजन्य :ओजनबाबु आचार्य ।(दुर्घटनाका घाइते)


दुर्घटना परी रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका ७० वर्षीय प्रजबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो।

घाइते मध्ये गम्भीर ६ जनालाई काठमाडौँ पठाइएको छ। बस चालक भक्तपुर चाँगुनारायण नगरपालिका-५ का २६ वर्षीय टिकाराम खत्री, रामेछाप मन्थली उमाकण्ठ गाउँपालिका-५ का ४० वर्षीय महादोर्जे लामा, उनकी श्रीमती ३५ वर्षीय लककुमारी लामा, उदयपुर केलका गाउँपालिका-५ का २३ वर्षीय दुरेन्द्र राई, खोटाङ बराहापोखरी गाउँपालिका-१ का २४ वर्षीय विष्णुकुमार राई र हलेसी तुवाचुङ नगरपालिका-१० का ५१ वर्षीय दुर्गाबहादुर मगरलाई काठमाडौँ पठाइएको हो। उनीहरू मध्ये चालक खत्री गम्भीर घाइते छन्। उनीहरूको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए।

हलेसीमा भएको बस दुर्घटनामा घाइते भएकी केपिलासगढी गाउँपालिका-१ की २९ वर्षीय मैना राई दिक्तेल अस्पतालमा उपचारपछि घर फर्कने तयारीमा। तस्बिर :डम्बरसिं राई/कान्तिपुर

अन्य घाइतेको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका छन्। घाइते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ओजनबाबु आचार्यका अनुसार बस अगाडि तीन जना सवार मोटरसाइकल एक्कासि रोकिएपछि चालकले ब्रेक लगाउँदा गाडी अनियन्त्रित भई खसेको थियो। 'तीन जना सवार मोटरसाइकल एक्कासि रोकियो।' आचार्यले भने,'हाम्रो ड्राइभरले ब्रेक लगाउँदा अनियन्त्रित भएर पछाडितिर गाडी गुड्यो, त्यसपछि सडकमुनि झरियो।'

आचार्यका अनुसार बस करिब २०/२५ मिटर तल खसेको थियो। फोल्डिङ हुँदै बस खसेकाले धेरैजना घाइते भएका हुन्। दुर्घटनापछि प्रहरीलाई फोन गर्दा समेत ढिलो गरी घटनास्थलमा आइपुगेको आचार्यले गुनासो गरे। उनका अनुसार स्थानीयले समेत घाइतेको उद्धारमा सहयोग नगरेको बताए। यद्यपि बसमा सवारको सामानहरू भने धेरै नै गायब भएको आचार्यको गुनासो छ।

बस झरेको ठाउँमा प्रहरी बाहेक अन्य नपुगे पनि सामान हराएकोप्रति आश्चर्य लागेको उनले सुनाए। रातिको समय भएकाले सामानभन्दा पनि घाइते उद्धारमा लागेकाले सामानको सुरक्षा नभएको हुन सक्ने डिएसपी केसीले सनाए।

प्रकाशित : वैशाख ३, २०७६ १४:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT