२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

संसदीय सुनुवाइ बुधबारदेखि 

रासस

काठमाडौँ — संसदीय सुनुवाइ समितिले दुई संवैधानिक आयोगका पदाधिकारी र सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका सात जनामाथि बुधबारदेखि सुनुवाइ गर्ने भएको छ । 

प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया, सर्वोच्च अदालतका न्यायाधीशमा प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र डा.मनोजकुमार शर्मा तथा समावेशी आयोगका सदस्यमा विष्णुमाया ओझाको सो पदका लागि सिफारिस भएको छ ।


समितिका सभापति लक्षमणलाल कर्णको अध्यक्षतामा मंगलबार बसेको बैठकले सोका लागि ती तीनै पद तथा प्रक्रियामाथि परेका उजुरीमाथि बिहान ११ बजेदेखि सुनुवाइ सुरु गर्ने र सबै उजुरीकर्तालाई समितिको बैठक समक्ष बोलाउने निर्णय गरेको छ ।


बुधबार अपरान्ह २ बजेसम्म उजुरीकर्ताको कुरा सुन्ने र २ बजेपछि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका थपलिया र समावेशी आयोग सदस्यमा सिफारिस भएका मकवानपुरका अधिकारकर्मी ओझा सहितका उजुरीमाथिका कुरा सुन्ने जानकारी दिए ।


प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका संखुवासभाका थपलियामाथि ६ र न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका न्यायाधीशमाथि व्यक्तिगत र प्रक्रियागत गरी पाँच उजुरी समितिमा परेको बताइएको छ । समितिले समावेशी आयोग सदस्यमा सिफारिस भएका अधिकारकर्मी ओझामाथि भने उजुरी परे/नपरेको केही जनाएको छैन ।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा गत चैत १९ गते बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश ढुंगाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माथेमा, मोरङका कानून व्यवसायी तथा पूर्व महान्यायाधिवक्ता फुयाँल, काठमाडौँका वरिष्ठ अधिवक्ता रेग्मी र अधिवक्ता डा मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो । सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त छ ।


यसैगरी संवैधानिक परिषद्को चैत ११ गते बसेको बैठकले रिक्त प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही बैठकले समावेशी आयोगका सदस्यमा ओझालाई पनि सिफारिस गरेको थियो । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुन् ।

प्रकाशित : वैशाख ३, २०७६ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?