१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रकमान्तर गर्दै मेयर छोरालाई मन्त्रीको २४ करोड

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफ्नो छोरा मेयर रहेको नगरपालिकालाई शिक्षा र स्वास्थ्यको बजेट रकमान्तर गरेर विनियोजन गरेका छन् । 
कर्मचारी र व्यवस्थापनको समस्या देखाउँदै ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर
अजित तिवारी

जनकपुर — शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको ७० करोड रुपैयाँ फुटकर योजनामा रकमान्तर गरेको हो । सप्तरीको हनुमाननगर नगरपालिकामा मात्रै २४ करोड रुपैयाँ फुटकर विनियोजन गरिएको छ ।

रकमान्तर गर्दै मेयर छोरालाई मन्त्रीको २४ करोड

हनुमाननगर नगरपालिकाका मेयर शैलेशकुमार साह मन्त्री नवलकिशोरका जेठो छोरा हुन् । राष्ट्रिय जनता पार्टी -राजपा) बाट बाबुछोराले चुनाव जितेका हुन् । छोरा मेयर रहेको हनुमाननगर नगरपालिका मन्त्री साहको संसदीय क्षेत्र पनि हो ।


जनकपुरमा कानुन महाविद्यालयको सम्भाव्यता अध्ययनका लागि मन्त्रालयले विनियोजन गरेको ५ लाख रुपैयाँमा ५ लाख थप गरेर १० लाख रुपैयाँ हनुमाननगरस्थित महासेठ पोखरीघाट निर्माण गर्न दिइएको छ । शिक्षा आवासीय विद्यालयका लागि सम्भाव्यता अध्ययनको ५ लाख रुपैयाँमा ७० लाख रुपैयाँ थपेर ७५ लाख रुपैयाँ हनुमाननगरको योगिनियामा भगवती मन्दिरको पर्खाल र धर्मशाला बनाउन विनियोजन गरिएको छ । बालअधिकारसम्बन्धी कार्यक्रमको अनुगमन र निरीक्षणमा विनियोजन गरिएको ४ लाख ८० हजारमा थपेर २ करोड २५ लाख २२ हजार रुपैयाँ योगिनियामा सामुदायिक भवन बनाउन दिइएको छ ।


प्रदेशसभाको मंगलबार बसेको बैठकमा विपक्षी दल नेकपा र कांग्रेसले प्रदेश सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै बैठकमा अवरोध गरे । कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले सामाजिक विकासमन्त्रीले छोरा मेयर रहेको नगरपालिकामा २४ करोड रुपैयाँ रकमान्तरण गरेको भन्दै सरकारको जवाफ मागेका थिए । मन्त्रालयले माघ ७ गते कार्यक्रम परिमार्जनलाई स्वीकृत गर्दै शिक्षा र स्वास्थ्यको बजेट फुटकर योजनामा दिएको हो । कलाजार क्षेत्रमा विषादी छर्कने मेसिन खरिदको ७ लाख ५० हजार रुपैयाँ बाराको जनता मावि कचौरवाको कक्षाकोठा बनाउन रकमान्तर गरिएको छ ।

मन्त्री साहले आफ्नो संसदीय क्षेत्र रहेकाले बजेट बढी गएको हुन सक्ने बताए । 'विपक्षी दलले बिनाप्रमाण आरोप लगाएको छ,' उनले भने, 'उहाँहरूले भनेजति त होइन, तर अलि बढी गएको होला ।'


उनले आफ्नो संसदीय क्षेत्र र छोराको नगरपालिकामा मात्रै बजेट खन्याएको भन्दै राजपा बैठकमा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले विरोध जनाएका थिए । हालै बसेको बैठकमा राज्यमन्त्री शर्माले मन्त्रीले आफूखुसी बजेट परिचालन र रकमान्तर गरेको भन्दै असन्तुष्टि जनाएका थिए । मन्त्री साहले भने कर्मचारी अभाव र व्यवस्थापन नहुँदा शिक्षा र स्वास्थ्यको पि|mज हुने बजेट रकमान्तर गरिएको तर्क गरे । 'क्षयरोगका लागि संघीय सरकारले दिएको बजेट खर्च हुन सकेको छैन,' उनले भने, 'जथाभावी बजेट खर्च गरिएको छैन, प्रमाण भए कारबाही भोग्न तयार छु ।'


स्वास्थ्य अनुसन्धान र सर्वेक्षणको २ करोड ४० लाख चालु खर्चलाई सामाजिक विकास मन्त्रालयले रामजानकी मन्दिर ठाकुरवारी गिदखोराको जीर्णोद्धारमा रकमान्तर गरेको छ । अपांगता भएका व्यक्तिलाई दोभाषेसहितको सेवा सञ्चालनका लागि विनियोजन गरिएको ३ लाख ६० हजार रुपैयाँमा थपेर २ करोड ६४ लाख रुपैयाँ सप्तरीको कुनौली बोर्डरमा गजेन्द्रनारायण सिंह स्मारक बनाउन दिइएको छ । मैथिली खानाको प्रवर्द्धनका लागि विनियोजन गरिएको ५ लाख रुपैयाँमा थपेर १० लाख सिरहाको कल्याणपुरमा विद्यालयको भवन निर्माणमा छुट्याइएको छ ।


मन्त्रालयले २ सय ७४ वटा शीर्षकमा विनियोजन गरिएको बजेटलाई रकमान्तर गरेर नेता-कार्यकर्ता र आफन्त रिझाउने फुटकर योजनामा खन्याएको हो । साहले मन्त्रीस्तरीय निर्णय गर्दै बजेटको नतिजामूलक कार्यान्वयनका लागि रकमान्तर गरिएको उल्लेख गरेका छन् । कांग्रेसका सचेतक कुशवाहाले मन्त्री साहको संसदीय क्षेत्र र छोराको नगरपालिकामा व्यक्तिको नाम र मोबाइल नम्बर किटेर रकमान्तर बजेट खर्च गर्न दिइएको आरोप लगाए ।

प्रकाशित : वैशाख ३, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?