२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विद्वानहरूको देश बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरूको नभई विद्वान्हरूको देश बनाउनुपर्ने बताएका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्थीर्सँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले विद्वान् पुर्खाको ‘जेनेटिक मेमोरी’ उपयोग हामीले गर्नुपर्ने बताए ।

विद्वानहरूको देश बनाउनुपर्छ : प्रधानमन्त्री

‘विद्वान् पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं । अब यो अवस्था रहिरहन सक्दैन,’ उनले भने ।


प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘शिक्षाको महत्त्व अभिभावकलाई बुझाउनुपर्छ,’ उनले भने, ‘त्यसपछि मात्र उनीहरूले छोराछोरी पढ्न पठाउँछन् ।’


प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीलाई सिर्जनशील बन्न र समाजसुधारका काममा लाग्न कुनै अवरोध नरहेको बताए । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्,’ आन्दोलनको स्वरूप फेरिएको उल्लेख गर्दै भने, ‘युवाले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादनजस्ता कुरामा ध्यान दिनुपर्छ ।’


प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियान गत वर्षदेखि विशेष रूपले सुरु गरिएको उल्लेख गर्दै विद्यार्थी र युवा घरघरमै गएर बालबालिकालाई विद्यालयमा भर्ना हुन प्रेरित गर्नुपर्ने बताए ।


‘विकास र समृद्धिको महत्त्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्न शिक्षाको स्तर उठाउनुपर्छ । यसका लागि तपाईंहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । विद्यालय उमेरका कोही बालबालिका विद्यालयबाहिर हुनु हुँदैन,’ उनले भने ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अन्तर्क्रिया सहजीकरण गरेका थिए । मन्त्रालयले वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान जारी गरेको छ ।


प्रकाशित : वैशाख ४, २०७६ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?