१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बतासको रिटमा कारण देखाउ आदेश

भीम घिमिरे

पोखरा — व्यवसायी वीपेन्द्रराज बतासले परमादेशको आदेश माग गर्दै दायर गरेको रिटमा पोखरा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले बतासलाई पक्राउ गर्न खोज्नुको कारण १५ दिनभित्र पेस गर्न प्रहरीलाई आदेश दिएको हो ।

बतासको रिटमा कारण देखाउ आदेश

रिटमा माग गरिएअनुसार परमादेशको आदेश जारी नगरी न्यायाधीश सुवास पौडेलको इजलासले बुधबार सम्बद्ध पक्षलाई वैशाख १२ मा छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।


सीआईबी र जिल्ला अदालतमा दुई मुद्दा विचाराधीन रहेकाले आफूलाई ठगी मुद्दामा पक्राउ र कारबाही नगर्न माग गर्दै व्यवसायी बतासले मंगलबार रिट दायर गरेका थिए । आफूविरुद्ध समाचार लेखेका पत्रकार अर्जुन गिरीविरुद्ध उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर अपराधमा कारबाहीका लागि उजुरी दर्ता गराएका थिए भने गिरीसँगै ठगी गरेको आरोप लगाउने पोखरा–६ का व्यवसायी मनोज भनिने दालप्रसाद श्रेष्ठ र जनकराज पहारीविरुद्ध गत सोमबार कास्की जिल्ला अदालतमा लिखित गालीबेइज्जती मुद्दा दर्ता गरेका थिए ।


सीआईबीमा बतासको उजुरीपछि गिरीलाई पक्राउ गरेर काठमाडौं लगिएको छ । गिरीको रिहाइ माग गर्दै बुधबार पनि पोखरामा पत्रकारले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी, प्रशासन र गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जाने बाटामा धर्ना र कोणसभा गरेका हुन् ।


यसबीच, बतासले आफूहरूको ४ करोड ३३ लाख रुपैयाँ ठगी गरेकाले कारबाही माग गर्दै श्रेष्ठ र पहारीले दिएको उजुरी गत सोमबार कास्की जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको थियो । उक्त उजुरीपछि जिल्ला अदालतबाट बतासविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रकाशित : वैशाख ४, २०७६ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?