२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रकम फुत्काउन किर्ते उपभोक्ता समिति

अवधेशकुमार झा

राजविराज — प्रदेश २ सरकारद्वारा सञ्चालित योजनाको रकम फुत्काउन किर्ते उपझोक्ता समिति र व्यत्ति खडा गरिएको खुलेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ मा पर्ने सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत २५ लाख रुपैयाँको योजनामा किर्ते समितिमार्फत बैंक खातासमेत खोलिएको पाइएको हो । 

उक्त कार्यमा रातो पासपोर्ट काण्डमा मुछिएका पूर्वसांसद बीपी यादवसहितका नेताको संलग्नता रहेको आरोप छ । केही दिनअघि काम सुरु हुन थालेपछि स्थानीय बासिन्दा कुन निकायबाट भइरहेको हो भन्ने बुझ्न गाउँपालिका कार्यालय पुगेका थिए । गाउँपालिकाले पनि जानकारी नरहेको बताएपछि खोजी सुरु भएको थियो ।


त्यस क्रममा गाउँपालिकाको नक्कली लेटर प्याडमा समिति बनाइएको र त्यसैका आधारमा राजविराजस्थित पूर्वाधार विकास कार्यालयमा सम्झौता भएको खुलेको हो । समिति गठन गर्दा प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, वडाध्यक्षद्वय अरुणकुमार चौधरी र पशुपति चौधरीको हस्ताक्षरसमेत किर्ते छ । ३ नम्बर वडाध्यक्ष अरुणकुमार अध्यक्षताको बैठकमा समिति बनाइएको भन्दै कागजात पेस गरिएको छ । माइन्युट बुकमा आफ्नो हस्ताक्षर किर्ते गरिएको चौधरीले आरोप लगाए ।


प्रमुख प्रशासकीय अधिकृत यादवले समिति गठन गर्दा पेस गरिएका नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा समेत छेडछाड गरिएको बताए । समिति अध्यक्षमा सुरेन्द्र मण्डलको नाम रहे पनि ऊक्त नामका व्यत्ति दुवै वडामा छैनन् । समितिका अन्य पदाधिकारी र सदस्यको नागरिकता पनि किर्ते नै पेस गरिएको स्रोतले जनायो । नेकपाका स्थानीय नेता बेचन चौधरीले आफूहरूको पहलमा ल्याइएको योजनामा अरू नै मान्छेले काम गरिरहेको देखेपछि खोजी सुरु गरेको बताए ।


उनका अनुसार सुरुमा गैरसरकारी संस्थामार्फत काम भइरहेको बताइएको थियो तर कागजात हेर्दा प्रदेश सरकारको बजेटबाट काम गरिएको भेटिएको थियो । ‘हाम्रै पहलबाट आएका योजनामा अरू नै ठाउँकाले काम गराउँदै गरेको देखेपछि छक्क पर्‍यौं,’ चौधरीले भने, ‘विस्तृतमा खोजी गर्दा त सबै कुरा किर्ते रहेछ ।’


गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सरकारी कागजात किर्ते गरी उपभोक्ता समिति बनाउनेलाई कारबाही माग गरेको छ । पक्रमा केही व्यत्तिले गाउँपालिकाको कार्यालयमा योजना मागको सिफारिस लिई प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरूको समेत किर्ते हस्ताक्षर गरी समिति गठन गरेको उल्लेख छ ।


पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख राजकुमार गोइतले किर्ते समिति बनाइएको जानकारी पाएपछि उक्त योजनाका सबै कार्य स्थगित गरिएको बताए । उक्त समितिसँग गोइतले नै सम्झौता गरेका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले किर्ते कागजात र उपभोक्ता समितिबारे गाउँपालिकाबाट पत्र आएपछि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको बताए । ‘प्रारम्भिक अनुसन्धान क्रममा नक्कली मान्छे खडा गरी नक्कली उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात किर्ते गरेको देखिएको छ,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ, पछि थप कुरा खुल्नेछ ।’


पूर्वसांसदको संलग्नता

प्रहरी स्रोतका अनुसार पूर्वसांसद बीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डलको समेत उक्त कार्यमा संलग्नता छ । स्थानीय बासिन्दाले खोजी गरेपछि प्रहरीले ठेकेदार दिलीप दासलाई सोधपुछका लागि बोलाएको थियो । उनले आफूलाई यादव र मण्डलले काममा लगाएको र बाँकी काम उनीहरूले नै गरेको बताएको स्रोतको भनाइ छ ।


यादव पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सभासद भएका थिए । अहिले राजपा नेपालका केन्द्रीय सदस्य छन् । ठेकेदार दासले कान्तिपुरसँग पनि पूर्वसांसद यादवले नै काममा लगाएको बताए । ‘रकम उठेपछि भुक्तानी दिन्छु भनेका थिए, मैले उनकै भनाइमा काम सुरु गरेँ, को उपभोक्ता त्यो मलाई थाहा भएन,’ उनले भने ।


जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले उक्त प्रकरणमा जिल्ला प्रशासनबाट छानबिनका लागि निर्देशन आएको बताए । ‘पूर्वसांसद यादवसहित केही व्यक्तिलाई सोधपुछ गरेका छौं, सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ, पूरा भएपछि थप कुरा खुल्नेछ,’ उनले भने ।यादवले भने उक्त प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । ‘मेरो संलग्नता छैन, कसैले निराधार आरोप लगाएका छन्,’ उनले भने ।

प्रकाशित : वैशाख ५, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?