कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिका रित्याएर भ्रमणमा

हरि गौतम

रुकुम पश्चिम — सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ मंगलबार एक नाति र एक नातिनीलाई अपांगता परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालय पुगिन् । सकिनसकी अपांगता भएका नाति दिवस र अपांगता भएकी नातिनी मनकलालाई बोकेर कार्यालय पुगेकी गुरुङ बेलुका परिचयपत्र नलिएरै फर्किइन् ।

‘महिनाको ३ गते अपांगता परिचयपत्र दिने भन्ने थाहा पाएकी थिएँ, सकिनसकी आएँ,’ गुरुङले भनिन्, ‘कार्यालय आउँदा कोही भेटिनँ र यत्तिकै फर्कनुपर्‍यो ।’


हरेक महिनाको ३ गते अपांगता परिचयपत्र वितरण गर्ने गाउँपालिकाको निर्णय छ । तर मंगलबार अपांगता भएका व्यक्तिसमेत रित्तो हात घर फर्किए । गाउँपालिका कार्यालय गत चैत ३० गतेेदेखि रित्तै छ । अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतदेखि गाउँपालिका मातहतका सबै प्रमुखसमेत ५ दिनदेखि कार्यालयमा उपस्थित भएका छैनन् । सरसफाइको अवलोकनका लागि भन्दै गाउँपालिकाका पदाधिकारी र अधिकांश कर्मचारी भ्रमणमा छन् ।

अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ल, नायब सुब्बाहरू खिमप्रकाश शाह र मीनाराम केसी, प्राविधिक प्रमुख इन्जिनियर मोहनकुमार ओली, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भूपालसिंह विष्ट, सूचना प्रविधि अधिकृत नवीन चौधरी, सहलेखापाल कविन्द्र पुन, महिला बालबालिका प्रमुख महिला विकास सहायक निरीक्षक लीला शर्मा, सवइन्जिनियर गगनसिंह ओली, १ नम्बर वडा सचिव शारदा चौधरी, कम्प्युटर अपरेटर रूपेश पुन गाउँपालिकामा छैनन् ।

७ नम्बरका वडाध्यक्ष कुलबहादुर बुढाथोकी, कार्यपालिका सदस्य वीरसिंह विक, नगर प्रहरी गीता खड्का र बेगमा ओलीसमेत भ्रमणमा जाँदा गाउँपालिका रित्तै छ । ५ दिनदेखि सबै फाँटमा ताला लागेको छ । सेवाग्राहीहरू आउँदै फर्किरहेका छन् । योजना अनुगमन, निरीक्षण तथा भुक्तानीको काम हुने बेला सबै भ्रमण जाँदा धेरै काम रोकिएका छन् । ‘कर्मचारीसमेतलाई बोकेर पदाधिकारी भ्रमण जाँदा समस्या भएको छ,’ एक सेवाग्राहीले भने, ‘योजना अनुगमन र भुक्तानीको समयमा कार्यालय खाली बनाउँदा सेवाग्राहीले दुःख पाइरहेका छौं ।’

गाउँ कार्यपालिका प्रवक्ता शेरबहादुर खड्काले कार्यपालिकाको निर्णयअनुसार टोली भ्रमणमा गएको बताए । ‘सोमबार बिहान कार्यालय भेटाउने गरी उहाँहरू भ्रमणमा जानुभएको हो,’ प्रवक्ता खड्काले भने, ‘टाढाको भएर पनि होला आइपुग्नुभएको छैन, आउनुहुन्छ होला ।’ गाउँपालिका अध्यक्षले कार्यवाहक अध्यक्ष कसैलाई नछाडेको र प्रमुख प्रशासकीय अधिकृतले पनि निमित्त प्रमुख कसैलाई नछाडेका प्रवक्ता खड्काले बताए ।

गाउँपालिकामा पदाधिकारी तथा कर्मचारी नभएको गुनासो आएपछि मंगलबार जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा र प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले अनुगमनसमेत गरेका छन् । अनुगमनको क्रममा गाउँपालिकामा नगर प्रहरीसहित ६ जना मात्रै कर्मचारी भेटिएको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए ।

उनका अनुसार असिस्टेन्ट सव इन्जिनियर रुद्रगोपाल डाँगी, पोषण सहजकर्ता स्वरस्वती चनारा, नगर प्रहरी बालकृष्ण नकाल, शंकर रोका, जोखबहादुर पुन र कार्यालय सहयोगी शेरबहादुर कामी मात्रै गाउँपालिकामा भेटिएका थिए । उनले गाउँपालिका नै उठेर हिंडेपछि जनताहरू वडा कार्यालयबाटै घर फर्कन बाध्य भएको गुनासो आएको बताए ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गाउँपालिकाको कर्मचारी हाजिरी जफत गरेका छन् । कार्यालयका फाँट बन्द रहेको, प्रायः कर्मचारी नभेटिएको पाइएको प्रजिअ रेग्मीले बताए । ‘कार्यालय छाडेको कुनै प्रमाण छैन, सबै फाँट ताला लाएर सर्वसाधारण सेवाग्राहीलार्ई समस्यामा राखेको पाइयो,’ प्रजिअ रेग्मीले भने, ‘स्थानीय सरकार उत्तरदायी नभएको जस्तो पाइयो ।’

उनले कर्मचारीलाई स्पष्टीकरण सोधिने बताएका छन् । अनुगमनका क्रममा २०७६ सालको हाजिरी रजिस्टर नभएको र २०७५ को हाजिरी रजिस्टरमा पनि धेरै कर्मचारीले लामो समयदेखि हाजिर नगरेको पाइएको प्रजिअ रेग्मीले बताए ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?