२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रोल्पामा बन्दको प्रभाव : थवाङबाट हेलिकप्टरमा लिवाङ फर्किए मन्त्री पुन

काशीराम डाँगी

रोल्पा — सडकमार्गबाट जिल्ला आएका उर्जामन्त्री वर्षमान पुन नेत्रविक्रम चन्द समूहको बन्दमा परेपछि हेलिकप्टर मगाएर सदरमुकाम फर्केका छन् । जलजला क्षेत्रलाई 'पर्यटकीय स्थल' घोषणा गर्न सडक मार्गबाट बुधबार थबाङ पुगेका उर्जामन्त्री पुन बिहीबार सवा ९ बजेतिर हेलिकप्टरबाट सदरमुकाम आएका हुन् । 

रोल्पामा बन्दको प्रभाव : थवाङबाट हेलिकप्टरमा लिवाङ फर्किए मन्त्री पुन

बिहीबार बिहान साढे ९ बजे लिबाङमा मन्त्री पुनले तत्कालीन सशस्त्र द्वन्द्वमा मृत्यु भएका, घाइते, अपाङ्गता भएका व्यक्तिका परिवारलाई भेट्ने पूर्व निर्धारित कार्यक्रम आयोजना गरिएको छ ।


उक्त कार्यक्रम भेट्न मन्त्री पुन हेलिकप्टरबाटै आएका हुन् । उनी बुधबार थबाङमा आयोजित कार्यक्रमपछि त्यही बसेका थिए । थबाङमा बन्दको अघिल्लो रात चन्द समूहका कार्यकर्ताले नाराबाजी र राँके जुलुस निकालेका थिए ।


थबाङमा प्रहरी खानतलासी

मन्त्री पुन थबाङ पुगेको साँझ गाउँ आसपासका डाँडाहरुमा चन्द समूहले राँके जुलुस र नाराबाजी गरेपछि प्रहरीले स्थानीयको घरमा खानतलासी गरेको थियो ।


स्थानीयका अनुसार चन्दका कार्यकर्ता खोज्न गाउँ पसेको प्रहरीले स्थानीय महिला र बालबालिकालाई धम्क्याएको थियो । मन्त्रीको सुरक्षार्थ थबाङ पुगेको प्रहरीले स्थानीय चन्द समूहका नेता जयप्रकाश रोका प्रताप र युवा नेता अमित घर्तीमगरको घरमा जबर्जस्ती छिरेको र धम्क्याएको स्थानीयले बताएका छन् । 'प्रहरीले माथिको आदेश छ, तिमीहरुलाई ठिक पार्छौं भनेर धम्क्याए,' थबाङकी एक महिलाले भनिन्, 'प्रहरीले घरका ढोका समेत फुटाइदिएका छन् ।'


मन्त्री पुनसँगै थबाङमा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, प्रहरी नायब उपरीक्षक दीपक खड्का लगायतका सुरक्षा अधिकारी समेत उपस्थित थिए । उक्त टोलीका साथ थबाङमा प्रदेश सासद दीपकेन्द्र कुमार पुन र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा समेत पुगेका थिए ।


बन्दको प्रभाव

आफूमाथिको प्रतिबन्ध फुकुवा र गिरफ्तार नेता कार्यकर्ता रिहाईको माग गर्दै चन्द समूहले बिहीबार आव्हान गरेको बन्दका कारण रोल्पामा जनजीवन प्रभावित भएको छ । बिहानैदेखि बजार, यातायातका साधन, शैक्षिक संस्था लगायत बन्द छन् ।


कार्यकर्ता सडकमा नदेखिए पनि यातायातका साधन, शिक्षण संस्था तथा बजार बन्द छ । बन्दका कारण जिल्ला तथा ग्रामीण क्षेत्रबाट टाढा जान घरदेखि निस्केका यात्रुहरु अलपत्र परेका छन् । एम्बुलेन्स भने चल्न दिइएको छ ।


बन्दको बढी प्रभाव यातायातका साधन र शिक्षण संस्थामा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लीलाराज आचार्यले बताए । उनका अनुसार जिल्लामा कुनै प्रकारको घटना भएको छैन । प्रहरीले रोल्पामा नेकपाका केही कार्यकर्ता र उक्त पार्टीमा आस्थावान शिक्षकलाई यस अघि नै नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित : वैशाख ५, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?