३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपाली भूउपग्रहको सफल प्रक्षेपण

काठमाडौँ — नेपालको पहिलो भूउपग्रह 'नेपाली स्याट-१' को सफलतापूर्वक प्रक्षेपण गरिएको छ । बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियास्थित अमेरिकी अन्तरिक्ष संस्था (नासा) को 'मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड' बाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

नेपाली भूउपग्रहको सफल प्रक्षेपण

यसलाई सिग्नोस कार्गो अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय स्पेस स्टेसन -आईएसएस) मा लैजानेछ । उपग्रह एक महिनासम्म महिनासम्म आईएसएसमै रहनेछ । स्पेस स्टेसनमा परीक्षणपछि आगामी मे तेस्रो साता पृथ्वीको कक्षमा छाडिने नास्टले जनाएको छ ।


नेपालले आफ्नै भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेसँगै नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा परेको छ ।


नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्रप्रसाद ढकालले नेपालको भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको जानकारी दिए । उनका अनुसार उपग्रह शुक्रबार बिहान ३ः३० बजे 'अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र' मा जोडिनेछ ।


उपग्रह निर्माणमा नेपालका तर्फबाट इलेक्टि्रकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए । २०७४ मा नेपाल सरकार र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) सँग समझदारी भएपछि उपग्रह निर्माण सुरु भएको थियो । पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५/१० मिनेट रहने नास्टले जनाएको छ । 'नेपाली स्याट- १' नानो भूउपग्रह हो । यसको लम्बाइ, चौडाइ र उचाइ १०/१० सेन्टिमिटर छ । यसको पहिलो काम तस्बिरहरू खिचेर पठाउनु हो ।


नेपाली भूउपग्रहलाई संयुक्त राष्ट्रसंघको बाहय अन्तरिक्ष मामिलासम्बन्धी कार्यालय -युनुसा) मा दर्ताका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले बताएको राससले जनाएको छ ।


नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको बताएका छन् । ओलीले बिहीबार ट्वीट गर्दै नेपाल पनि स्याटेलाइट युगमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै उक्त कार्यमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायलाई बधाई दिएका छन् ।


यसैगरी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पहिलो नेपाली भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण अमेरिका-नेपाल सम्बन्धको अर्को ठूलो उदाहरण भएको बताएका छन् । बिहीबार टवीट गर्दै उनले यो कार्यलाई सफल पार्ने सबै नेपाली र अमेरिकीलाई बधाई दिएका छन् ।

प्रकाशित : वैशाख ५, २०७६ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?