क्यानाडा पठाउने भन्दै २४ लाख ठगी

देवनारायण साह

मोरङ — वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिने भन्दै यहाँका एक व्यक्तिले २४ लाख रुपैयाँ ठगी गरेका छन् । धनपालथान ३, मायागन्जका राजन राजवंशीले ६ युवासँग ४/४ लाखको दरले २४ लाख ठगेका हुन् । ठगीमा परेका युवाले श्रम तथा रोजगार कार्यालय विराटनगरमा बिहीबार उजुरी दिएका छन् । 

सुनवर्षी नगरपालिका ३ का राजुश राजवंशी, पुष्पकुमार राजवंशी, श्रवण राजवंशी, वडा ९ का लक्ष्मण सहनी, दयानन्द सहनी र कटहरी गाउँपालिका २ का अशोककुमार राजवंशी ठगीमा परेका हुन् । उनीहरूमध्ये अधिकांशले स्थानीय साहुलाई जग्गा रजिस्ट्रेसन गरेर सयकडा ४ रुपैयाँको दरमा ऋण लिई रकम बुझाएको बताए ।

पीडित पुष्पकुमारले फ्रुट प्याकिङको काममा मासिक २ लाख तलबमा क्यानाडा पठाइदिने भन्दै राजनले सुरुमा डेढ लाख रुपैयाँ लिएको बताए । 'सुरुमा सहारा नेपालबाट १ लाख र फर्वार्ड लघु वित्तबाट ५० हजार गरी डेढ लाख लिएर दिएँ,' उनले भने, 'फर्जी भिसा देखाएर बाँकी अढाई लाख मागेपछि गाउँकै साहुलाई जग्गा रजिस्ट्रेसन गरी सयकडा ४ रुपैयाँको दरमा ऋण लिएर बुझाएँ ।'

आफूहरू ६ जनालाई नक्कली भिसा र टिकट दिएर भारतको दिल्ली लगी २ हप्तापछि फर्काइदिएको पुष्पले बताए । 'दिल्लीमा टिकट ओके नभएको भन्दै फर्काइदियो,' उनले भने, 'त्यसपछि आजभोलि भन्दै केही दिनदेखि सम्पर्कविहीन भएकाले श्रम कार्यालयमा उजुरी गरेको छु ।'

अर्का पीडित अशोकले आफू सुकुम्बासी भएकाले जेठी सासूआमाको जग्गा रजिस्ट्रेसन गराएर साहुसँग सयकडा ४ रुपैयाँ ब्याजमा ऋण लिई राजनलाई बुझाएको सुनाए । 'दिनभरि ज्याला मजदुरी गरेर छाक टार्ने गरेको अवस्थामा ऋण कसरी तिर्ने ?' उनले भने, 'क्यानाडामा धेरै पैसा कमाएर परिवारलाई सुखसँग पाल्ने सपना देखाएर राजनले मर्नु न बाँच्नुको बनाइदिएको छ ।'

श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले वैदेशिक रोजगारीमा क्यानाडा पठाइदिने नाममा ठगी भएको ४ वटा उजुरी आएको बताए । राजन राजवंशी, विनोद ठाकुरलगायत ५ जनाले सुनसरीको झुम्काका योगनारायण चौधरीलगायत ६ जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेकोमध्ये विनोदबाट ७ लाख ६७ हजार रुपैयाँ भुक्तानी गराएको उनले जानकारी दिए ।

सञ्जेलका अनुसार क्यानाडा पठाइदिने भन्दै ठगीे घटनाको मुख्य योजनाकार झापाको गौरादह ४ का दीपेन्द्र झा, गणेशप्रसाद गिरी र नेपालगन्ज घर भई हाल दिल्लीमा बस्दै आएका निरञ्जन पुरी रहेको अहिलेसम्मको घटनाहरूले देखाएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीमा पत्राचार गरिसकिएको सञ्जेलले बताए ।

प्रकाशित : वैशाख ५, २०७६ २१:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाली भूउपग्रहको सफल प्रक्षेपण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको पहिलो भूउपग्रह 'नेपाली स्याट-१' को सफलतापूर्वक प्रक्षेपण गरिएको छ । बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियास्थित अमेरिकी अन्तरिक्ष संस्था (नासा) को 'मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड' बाट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

यसलाई सिग्नोस कार्गो अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय स्पेस स्टेसन -आईएसएस) मा लैजानेछ । उपग्रह एक महिनासम्म महिनासम्म आईएसएसमै रहनेछ । स्पेस स्टेसनमा परीक्षणपछि आगामी मे तेस्रो साता पृथ्वीको कक्षमा छाडिने नास्टले जनाएको छ ।

नेपालले आफ्नै भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेसँगै नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा परेको छ ।

नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्रप्रसाद ढकालले नेपालको भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको जानकारी दिए । उनका अनुसार उपग्रह शुक्रबार बिहान ३ः३० बजे 'अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र' मा जोडिनेछ ।

उपग्रह निर्माणमा नेपालका तर्फबाट इलेक्टि्रकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए । २०७४ मा नेपाल सरकार र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) सँग समझदारी भएपछि उपग्रह निर्माण सुरु भएको थियो । पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५/१० मिनेट रहने नास्टले जनाएको छ । 'नेपाली स्याट- १' नानो भूउपग्रह हो । यसको लम्बाइ, चौडाइ र उचाइ १०/१० सेन्टिमिटर छ । यसको पहिलो काम तस्बिरहरू खिचेर पठाउनु हो ।

नेपाली भूउपग्रहलाई संयुक्त राष्ट्रसंघको बाहय अन्तरिक्ष मामिलासम्बन्धी कार्यालय -युनुसा) मा दर्ताका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले बताएको राससले जनाएको छ ।

नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको बताएका छन् । ओलीले बिहीबार ट्वीट गर्दै नेपाल पनि स्याटेलाइट युगमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै उक्त कार्यमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायलाई बधाई दिएका छन् ।

यसैगरी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पहिलो नेपाली भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण अमेरिका-नेपाल सम्बन्धको अर्को ठूलो उदाहरण भएको बताएका छन् । बिहीबार टवीट गर्दै उनले यो कार्यलाई सफल पार्ने सबै नेपाली र अमेरिकीलाई बधाई दिएका छन् ।

प्रकाशित : वैशाख ५, २०७६ २१:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT