२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

त्रिविको परीक्षामा त्रुटि, परीक्षा लापरबाहीबारे अख्तियारमा उजुरी

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरका विद्यार्थीले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको र पाठयक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको भन्दै राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् ।

त्रिविको परीक्षामा त्रुटि, परीक्षा लापरबाहीबारे अख्तियारमा उजुरी

डिन कार्यालयमा उजुरी गर्दा सुनुवाइ नभएको भन्दै उनीहरूले सतर्कता केन्द्र र अख्तियारलाई गुहारेका हुन् ।


विषयविज्ञहरूका अनुसार उक्त तहको क्वान्टम मेकानिक्स विषयमा पाठयक्रमभन्दा बाहिरको प्रश्न सोधिएको छ । परीक्षार्थीले ४५ पूर्णाकको परीक्षामा ३० अंकभन्दा बढी पाठयक्रम बाहिरबाट प्रश्न सोधिएको दाबी गरेका छन् । त्यही विषयको प्रश्नपत्र परीक्षा समयभन्दा डेढ घण्टाअगावै बाहिरिएको थियो । गत पुस २९ गते काठमाडौंको महेन्द्ररत्न बहुमुखी क्याम्पस ताहाचलमा प्रश्नपत्र आउट भएको परीक्षार्थीहरूले बताए ।

'१२ बजे परीक्षा सुरु गर्न प्रश्नपत्र बाँडियो, पाठयक्रमभन्दा बाहिरबाट प्रश्न आएपछि विद्यार्थीले विरोध गरे,' परीक्षार्थी नीरज सिंहले भने, 'प्रश्नपत्र संकलन गरियो, डेढ घण्टापछि पुनः सोही प्रश्नपत्रबाट परीक्षा लिइयो ।' पुराना र नयाँ कोर्सका विद्यार्थीलाई समेत त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान र परीक्षा नियन्त्रण कार्यालयले एउटै प्रश्नपत्रबाट परीक्षा लिएका हुन् । 'नयाँ र पुरानो कोर्सको पाठयक्रममा धेरै फरक छ, एउटै प्रश्नपत्रबाट परीक्षा लिनु लापरबाही हो,' एक प्राध्यापकले भने ।


विद्यार्थीले परीक्षामा लापरबाही गरेको आरोपमा डिन रामप्रसाद खतिवडा, परीक्ष्ााका सहायक डिन तेज बीसी, विषय समितिका अध्यक्ष विनिल अर्याल र विषयविज्ञ नारायण अधिकारीविरुद्ध सतर्कता केन्द्र र अख्तियारमा उजुरी दिएका हुन् । विद्यार्थीले प्रश्नपत्र बाहिरिएको र पाठयक्रम बाहिरबाट प्रश्न सोधिएको विषयमा डिन कार्यालयमा उजुरी दिएका थिए । विद्यार्थीले उक्त परीक्षा रद्द गरेर पुनः परीक्षा गर्न माग गरेका छन् ।


विषय समितिका अध्यक्ष अर्यालले पाठयक्रम बाहिरको प्रश्न नसोधिएको व्यहोराको प्रतिवेदन बुझाएपछि डिन कार्यालयले उक्त दिनको परीक्षालाई वैधता दिएको छ । स्रोतले भने प्रश्नपत्र निर्माणमा उनको संलग्नता रहेका कारण 'झूटो प्रतिवेदन' तयार गरेको जनाएको छ । बीसी र अधिकारीले भने परीक्षा केन्द्रमा पुगेर बाहिरिसकेको प्रश्नपत्रमा परीक्षा दिन आग्रह गरेका थिए । बीसीले विषय समितिको प्रतिवदेनअनुसार प्रश्नपत्रमा पाठयक्रम भित्रबाटै रहेको बताए । सो विषयमा प्राध्यापक र विद्यार्थी भने तेस्रो सेमेस्टरको पाठयक्रमबाट प्रश्न सोधिएको बताउँछन् । डिन कार्यालयले उजुरी सुनुवाइ नगरेपछि विद्यार्थी केन्द्र र अख्तियार पुगेका हुन् । 'परीक्षा केन्द्रमा डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारी आएर पास गराइदिने आश्वासन दिएका छन्, हेरौं नतिजा कस्तो आउँछ,' परीक्षार्थी सुरेन्द्र सिंह ठगुन्नाले भने ।


४० पूर्णांककमा ४२

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई दिएको प्रमाणपत्र दिँदासमेत गम्भीर त्रुटि भएको पाइएको छ । ४० पूर्णाकको परीक्षामा विद्यार्थीलाई ४२ अंक दिएको भेटिएको हो, जसमा पास अंक १६ छ । कार्यालयले त्रिचन्द्र कलेजको विज्ञान प्रविधि संकायमा अध्ययनरत विद्यार्थीलाई जिओलोजी विषयको प्रयोगात्मक परीक्षामा पूर्णाकभन्दा पनि बढी नम्बर दिएको हो । उनी ४ वर्षे स्नातक तह पहिलो वर्षका विद्यार्थी हुन् । कार्यालयले भने प्राविधिक त्रुटिका कारण समस्या भएको जनाएको छ ।


पुनर्याेगमा समेत कार्यालयले लापरबाही गरेको भेटिएको छ । सोही संकायको फिजिक्स विषयको पुनर्योग गर्दा ३ पटकसम्म फरक/फरक ग्रेड दिइएको छ । पहिलो पटक ग्रेडसिटमा ३ ग्रेड दिइएको थियो । लगातार दुई पटक पुनर्योग गर्दा क्रमशः ३.३ र ४ ग्रेड दिइएको हो । यस्ता लापरबाही र त्रुटिपछि विद्यार्थीले सामाजिक सञ्जालमै त्रिविको परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।

विनोद नाम गरेका एक विद्यार्थीले प्रश्नपत्रसहित टवीटरमा लेखका छन्, 'टीयूको लापरबाहीले यति सीमा नाघ्यो कि मास्टर डिग्री सेकेन्ड सेमेस्टरमा ग्रामीण विकासको एगि्रकल्चर एन्ड डेभलपमेन्टको परीक्षामा प्रश्न आयो एप्लिकेसन एन्ड रिसर्ज मेथोडोलोजीको, कसलाई के भन्ने ?' त्रिविको यस्ता लापरबाही र त्रुटिका विषयमा डिन खतिवडाले अनभिज्ञता प्रकट गरे ।

प्रकाशित : वैशाख ५, २०७६ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?