स्थानीय तहमा नयाँ अभ्यास : सामुदायिकमा गाभिए निजी स्कुल

माधव अर्याल

पाल्पा — गुल्मीको गुल्मीदरबार गाउँपालिका र पाल्पाको पूर्वखोला गाउँपालिकाले बोर्डिङ स्कुल नराख्ने भएका छन् । पूर्वखोलाले यस वर्षदेखि सबै निजी विद्यालय सामुदायिकमा गाभेर नयाँ अभ्यास सुरु गरेको छ भने गुल्मीदरबारले मावि तहको एउटा बोर्डिङलाई सरकारीमा गाभेर यसको सुरुवात गरेको जनाएको छ ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाका अनुसार गाउँपालिकाभित्रका पाँच निजी विद्यालय सरकारीमा गाभिएका छन् । रिङनेरहमा रहेको पूर्वखोला बोर्डिङ स्कुल उद्धबुद्ध माविमा गाभिएको छ । जल्पास्थित सरस्वती बोर्डिङलाई सरस्वती माविमा र वीरकोटको जोनन बोर्डिङलाई गणपतिमा गाभिएको छ ।

जल्पाकै माउन्ट भ्यु बोर्डिङलाई शम्भु मावि र देवीनगरमा रहेको चिराग बोर्डिङ स्कुललाई मातृभूमि माविमा गाभिएको अध्यक्ष थापाले बताए । ‘निजी विद्यालय रहेको बोर्डमै सामुदायिक विद्यालयको नाम राखेका छौं,’ उनले भने । पूर्वखोलाका बोर्डिङमा ५३ शिक्षक र ५ सय ८५ विद्यार्थी थिए । ‘अब निजी बोर्डिङका कर्मचारी र शिक्षकले लिइरहेको तलब–सुविधा सम्बन्धित सरकारी विद्यालयबाटै दिने निर्णय भएको छ,’ गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले भने । यसका लागि अघिल्लो वर्ष गाउँपालिकाले अध्यक्ष नुनबहादुर थापाको संयोजकत्वमा गाउँ शिक्षा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनअनुसार कार्यपालिकाले पटक–पटकको बैठकपछियस्तो निर्णय लिएको हो ।

‘निजी विद्यालयको सम्पत्ति मूल्यांकन गरी त्यसबमोजिम रकम गाउँपालिकाले आफैं र स्रोत खोजेर भुक्तानी दिनेछ,’ अध्यक्ष थापाले भने, ‘भौतिक पूर्वाधार, कर्मचारी र शिक्षक सबै सामुदायिक विद्यालयको सम्पत्ति हुनेछन् ।’

गाउँपालिकामा ३७ सामुदायिक र ५ निजी बोर्डिङ थिए । पूर्वखोला बोर्डिङको ६ रोपनी जग्गाको १ करोड ६० लाख बराबर मूल्यांकन गरिएको छ । निजी विद्यालयको सम्पत्ति विभिन्न तीन समूहमा मूल्यांकन गरिएको हो । गाभिएका निजी विद्यालयको जग्गा, फर्निचर र भवनको आर्थिक वर्ष ०७६/७७ भित्र मूल्यांकनअनुसार क्षतिपूर्ति दिइनेछ ।

स्थानीय स्रोतबाट तलब भत्ता खाने शिक्षक–कर्मचारीको सेवा–सुविधासम्बन्धी छुट्टै कानुन बनाउने तयारी गाउँपालिकाको छ । आगामी वर्ष विद्यालय सहयोग शुल्क पनि क्षमता भएका अभिभावकबाट मात्र लिइनेछ । ‘संघ, प्रदेश र गाउँपालिकाको सहयोगमा निजी स्कुललाई दिनुपर्ने रकम फिर्ता गर्ने योजना बनेको छ,’ उनले भने, ‘१२ वर्षभित्र सबै विद्यालयमा १ देखि १२ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्ने योजनाको सुरुवात यसै वर्षबाट भएको छ ।’ निजी विद्यालयले लिँदै आएको शैक्षिक शुल्क भने यस वर्षलाई साबिक बमोजिम लिने योजना बनेको छ । प्रतिवेदनअनुसार यसै वर्षदेखि सबै विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नेछन् ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले यस वर्ष एउटा माध्यमिक तहको बोर्डिङ स्कुललाई सरकारीमा गाभेको छ । गौरीशंकर इङलिस बोर्डिङ स्कुल दरबार देवीस्थानलाई सामुदायिकतर्फको ईश्वरी माविमा गाभिएको हो । गाउँपालिका अध्यक्ष अशोककुमार थापाका अनुसार यसलाई पहिलो अभ्यासका रूपमा लिइएको छ । ‘पहिलो वर्षको अभ्यास हेरेर आगामी वर्ष बाँकी निजी विद्यालयलाई पनि नजिकको सामुदायिकमा गाभिनेछ,’ उनले भने ।

गाउँपालिकाले दरबार देवीस्थान, ठूलापोखराको रेसुंगा इङलिस बोर्डिङ र वीरवासको ग्रिनवर्ड इङलिस बोर्डिङलाई पनि सामुदायिकमा गाभ्न छलफल सुरु गरेको छ । बाँकी तीनवटा बोर्डिङ कक्षा ५ सम्म रहेको र उनीहरूका विषयमा पनि निर्णय लिइने उनले बताए । गाउँपालिकाले अघिल्लो वर्ष एकीकृत शिक्षा र पढाइको गुणस्तरका लागि अध्ययन टोली बनाएको थियो ।

सोही टोलीको प्रतिवेदनअनुसार अघिल्लो वर्ष विद्यार्थी कम भएका सामुदायिक विद्यालयमा कक्षा घटाइएको थियो । विभिन्न विद्यालयमा १२ वटा दरबन्दीसमेत गाउँपालिकाले सहयोग गरेको छ । ‘विद्यालयबीचको सहमतिमा मात्र गाभिएको हो,’ अध्यक्ष थापाले भने, ‘आगामी दिनमा गाउँपालिकाभित्र एउटै प्रकृतिको शिक्षा दिने विद्यालय राख्ने हाम्रो मुख्य उद्देश्य हो ।’

वडाध्यक्ष हीराबहादुर खत्रीका अनुसार शिक्षक र भौतिक सम्पत्तिका विषयमा पनि अहिलेसम्म प्रस्ट निर्णय भइसकेको छैन । गाउँपालिकाले कम्तीमा १ करोड ५० लाख अहिले गाभिएको विद्यालयलाई दिनुपर्ने उनले बताए । ‘अन्य विद्यालयले पनि यस विषयमा छलफल अघि बढाएका छन्,’ वडाध्यक्ष खत्रीले भने । गाउँपालिकामा ४१ विद्यालय छन् । तीमध्ये ६ वटा निजी छन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

तीन घण्टामा एक गाग्री पानी

बिहान–बेलुकाको समय पानी ओसार्दै बित्छ
सोलार लिफ्ट योजना कार्यान्वयनमा आएन
माधव अर्याल

निस्दी, पाल्पा — संघीय र प्रदेश सरकारको ‘एक घर एक धारा’ नारा छ । स्थानीय सरकारले त्यसमै जोड दिएका छन् । निस्दी गाउँपालिका–४ मित्याल भीरपानीका बासिन्दा भने तीन घण्टामा एक गाग्री पानी भर्न पाउँछन् । वर्षौंदेखि उनीहरूले पानीको समस्या भोग्दै आएका छन् । 

पाल्पाको निस्दी गाउँपालिका, मित्याल भीरपानीका बासिन्दा पानी बोकेर ल्याउँदै । तस्बिर : माधव/कान्तिपुर 

कक्षा ६ मा अध्ययन गर्ने चनीसरा गाहाको बिहान ५ बजे उठेर धारामा जानु दैनिकी हो । घरदेखि आधा घण्टा ओरालो झरेपछि धारामा पुगिन्छ । फर्किंदा ८ बज्छ । ‘म दिनदिनै धारामा पानी लिन जानुपर्छ,’ उनले भनिन्, ‘बेलुकी विद्यालयबाट फर्केपछि पनि धारामा नगए पानी पिउनै मुस्किल छ ।’

कक्षा ५ मा पढ्ने दीपक सोमैले पनि विद्यालय जानुअघि र फर्केपछि पानी लिन धारामा जाने दैनिकी रहेको बताए । बेलुकी ४ बजे विद्यालय बन्द हुन्छ । घरमा खाजा खानासाथ पानी लिन जाने उनी फर्किंदा झन्डै ८ बज्छ । ‘हामीलाई घरमा पढ्ने समय नै मिल्दैन,’ उनले भने, ‘स्कुल जानुअघि र फर्केपछि पुनः पानी लिन धारामा नगई सुखै छैन ।’

गाहा र सोमै उदाहरण मात्र हुन् । भीरपानी क्षेत्रका ३० घरका गृहिणी, बालबालिकाको दैनिकी यसैगरी बित्छ । गोरखनाथ आधारभूत विद्यालयमा अध्ययन गर्ने उनीहरूको चिन्ता बिहान–बेलुकी पिउने पानीकै हुन्छ । अझ अचम्म पाहुना बस्न कोही पुग्यो भने पानीकै चिन्ता हुने गृहिणी तमसरी गाहाले बताइन् । ‘अरूलाई पाहुना आए भने खुसी लाग्छ,’ उनले भनिन्, ‘के गर्नु हामी दुःखी हुनुपर्छ ।’ ओरालो झर्न आधा घण्टा लाग्छ तर पानी बोकेर फर्किंदा डेढ घण्टा कम्तीमा लाग्ने उनले बताइन् । पानी भर्न पनि समयमा पाइँदैन । कम्तीमा एक घण्टा पालो कुर्नुपर्छ ।

पानीका लागि रित्ता गाग्री लाइनमा राख्नुपर्छ । नत्र झगडा हुने उनले बताइन् । भर्ने पालो आउन्जेल कम्तीमा एक घण्टा बित्छ । वर्षको ६ महिना यहाँ पानीको यस्तै समस्या हुन्छ । डाँडाको माथिल्लो भागमा भीरपानी बस्ती छ । बस्तीसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली अझै पुगेको छैन । ‘लिफ्ट योजना चलाउन पनि बिजुली छैन,’ स्थानीय गृहिणी भगवती रानाले भनिन्, ‘सोलारबाट लिफ्ट गर्ने योजना अगाडि बढाउने भने पनि अहिलेसम्म कुनै काम अघि बढेको छैन ।’

पोस्लाकी पिउने पानी योजनाका लागि स्थानीय लागत सहभागितामा योजना सञ्चालन गर्न पनि तयार छन् । तर, गाउँपालिका, संघसंस्था कोही पनि उनीहरूसँग योजनाका लागि पुगेका छैनन् । जसले गर्दा अहिलेसम्म कुनै पनि योजनाको काम अघि नबढेको स्थानीय तथा गोरखनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर सोमैले बताए । ‘प्रधानाध्यापक भएर के गर्नु, ढाकरमा गाग्री राखेर पानी नबोकी सुख छैन,’ उनले भने । शिक्षक र विद्यार्थी सँगसँगै पानी लिएर आउने दैनिकी नै भएको उनले सुनाए ।

‘खानेपानीको समस्या रहेको धेरै वर्ष बितिसक्यो,’ उनले भने, ‘वर्षको ६ महिना यस्तै समस्या हुन्छ ।’ उनले वडाध्यक्ष, गाउँपालिकामा योजनाका लागि माग गरेको सुनाए तर अहिलेसम्म सुनुवाइ भएको छैन । पोस्लाकी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेमबहादुर सोमैका अनुसार सहयोग गर्ने निकाय नभएकाले नै अहिलेसम्म पानीको समस्या समाधान हुन नसकेको हो ।

‘अहिलेको जमानामा पनि पानीका लागि तीन घण्टा बिताउनुपर्ने अवस्था छ,’ उनले भने, ‘जसले गर्दा स्थानीय जनताले पानीकै लागि कष्टकर जीवन बिताउनु परेको छ ।’ उनले गाउँ, वडामा यस विषयमा योजना माग गरेर पठाएको बताए । वडाध्यक्ष न्यौबहादुर सुनारीले बिजुलीबत्ती बल्यो भने लिफ्ट योजना संचालन गरिने बताए । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले खानेपानीको समस्या समाधानका लागि पहलकदमी अघि बढेको सुनाए । ‘सोलारको योजना सञ्चालन हुन्छ भन्ने भयो,’ उनले भने, ‘पछि संस्था नै हरायो । त्यसपछि काम अघि बढेको छैन ।’

प्रकाशित : वैशाख ५, २०७६ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्