कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सेनामा भ्रष्टाचार हटाउन 'आचारसंहिता सप्ताह'

काठमाडौँ — नेपाली सेनाले आर्थिक अपारदर्शिता, चेनअफ कमान्ड उल्लंघन र अनुशासनविपरीत गतिविधि नियन्त्रणका लागि संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जंगी अड्डामा आयोजित कार्यक्रममा 'सैनिक सदाचारको उत्साह' नारासाथ सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गरे ।  

सेनामा भ्रष्टाचार हटाउन 'आचारसंहिता सप्ताह'

सेनाले प्रत्येक वर्ष पहिलो महिनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । यस क्रममा सेनाले सकल दर्जाले गर्नुपर्ने, गर्न हुने/नहुने एवं आर्थिक पारदर्शिता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्ने विषयमा मुख्यालयदेखि तल्लो तहसम्म प्रशिक्षण दिने भएको छ । प्रधानसेनापति थापाले कार्यक्रममा आचारसंहितासम्बन्धी पुस्तकसमेत लोकार्पण गरेका थिए । उनले कार्यक्रममा आचारसंहिता हास्यव्यंग्यको पुलिन्दाजस्तो नभएको भन्दै पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिए । 'सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैंमा विडम्बना र गम्भीर घटना हो, भ्रष्टाचारलगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुनेछैन,' उनले भने ।


थापाले पुर्खाको बलिदानबाट गौरव गर्न लायक संगठनका रूपमा नेपाली सेना उभिनुपर्ने बताए । 'सेनाको छवि धुमिल्याउन अझै केही शक्ति सक्रिय छन्,' उनले भने, 'त्यसप्रति सेना सचेत र सतर्क रहनुपर्छ ।' उनले आर्थिक अनियमितताविरुद्ध संगठनले लिएको शून्य सहनशीलताको नीति जंगी अडडाबाटै सुरु हुने बताए । 'आर्थिक अभाव छ भनेर अनियमितता गर्ने छुट कसैलाई छैन, पदोन्नति र शान्ति सेनामा सहभागिताजस्ता विषयमा प्रभावशाली व्यक्तिबाट भनसुन गराई दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने भएकाले वृत्ति विकासमा पनि त्यसको असर पर्छ । संगठनमा त्यस्तो गलत प्रवृत्ति अझै पनि अन्त्य हुन सकेको छैन,' थापाले भने । उनले सेना चेनअफ कमान्ड र पद्धतिमा चल्नुका साथै अनुशासन र बलिदानमा मान्यता राख्ने संगठनका रूपमा राष्ट्र र जनहितका खातिर बफादार भई काम गरिरहेको बताए ।

प्रकाशित : वैशाख ६, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?