नेविसंघमा ५ गुटको कार्यक्रम

काठमाडौँ — कांग्रेस भ्रातृ संगठन नेविसंघको स्थापना दिवस मनाउन शुक्रबार पाँचवटा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । पार्टीभित्रका विभिन्न गुटमा विभाजित विद्यार्थी नेताहरूले छुट्टाछुट्टै कार्यक्रम राखेका हुन् । 

नेविसंघमा ५ गुटको कार्यक्रम

कांग्रेस संस्थापन पक्षले संघको काठमाडौं कार्यसमितिको आयोजनामा स्थापना दिवस मनाउने निर्णय गरेको थियो । ऊक्त कार्यत्रम सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पार्टी पदाधिकारी, संघका पूर्वअध्यक्षहरूसमेतको उपस्थितिमा मनाउने प्रचार गरिएको थियो । राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवा एकैछिन बसेर बाहिरिए । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नै भएनन् ।

वरिष्ठ नेता पौडेलनिकट विद्यार्थी नेता भने कार्यक्रममा उपस्थित भएलगत्तै बाहिरिए । आफ्नो पक्षका नेताहरूलाई मञ्चमा नबोलाइएको भन्दै पूर्वमहामन्त्री मनोजमणि आचार्य, दीपक भट्टराई, मनहरि श्रेष्ठ, प्रतिमा गौतम, मोती भण्डारीलगायत विद्यार्थी नेताको समूह कार्यक्रम बहिष्कार भन्दै निस्कियो । ‘मनोजमणि नेतृत्वको टोलीलाई मञ्चमा नबोलाइएकाले बहिष्कार गरेका हौं,’ भण्डारीले भने ।

संघका काठमाडौं जिल्ला कार्यसमिति अध्यक्ष मनोज वैद्य पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन् । केन्द्रीय कार्यसमिति नभएपछि पार्टीले काठमाडौं जिल्ला कार्यसमितिकै आयोजनामा स्थापना दिवसको औपचारिक कार्यक्रम गर्ने निर्णय लिएको थियो । तर, देउवानिकट विद्यार्थीले प्रज्ञा भवनमा छुट्टै कार्यक्रमसमेत गरे ।

प्राविधिक विद्यार्थी परिषद् (फोर्स) को आयोजनामा प्रज्ञा भवनमा आयोजना गरिएको कार्यक्रममा सभापति देउवानिकट पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, निवर्तमान महामन्त्री सरोज थापा, राजीव ढुंगानासहितका विद्यार्थी नेताको उपस्थिति थियो । पार्टी नेताहरू भने गएनन् ।

पूर्वमहामन्त्री सिटौला पक्षीय विद्यार्थीले चाबहिलको स्मार्ट क्याफेमा अर्को कार्यक्रम आयोजना गरे । संघका पूर्वमहामन्त्री कुन्दन काफ्ले, पूर्वउपाध्यक्ष डिल्ली सुवेदी, रामप्रसाद अधिकारी, पूर्वसहमहामन्क्री बलदेव तिमिल्सिनाको समूहले कार्यत्रम गरेको थियो । यो कार्यक्रममा पनि केन्द्रीय तहका नेता उपस्थित भएनन् ।

महामन्क्री कोइरालानिकट विद्यार्थी नेताले बिजुली बजारमा छुट्टै कार्यत्रम आयोजना गरेका थिए । जसमा स्वयं महामन्त्री कोइराला सहभागी भए । उनीनिकट पूर्वउपाध्यक्ष उर्मिला थपलिया, पूर्वमहामन्क्री नीलकण्ठ रिजाललगायतले कार्यत्रम आयोजना गरेका हुन् । यता वरिष्ठ नेता पौडेलनिकट विद्यार्थी नेताले स्थापना दिवसकै अवसरमा वाल्मीकि क्याम्पसमा दीप प्रज्वलन गरेका थिए । जसमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी सहभागी थिए ।

पूर्वअध्यक्ष महरले पार्टी नेताहरूको स्वार्थका कारण गुटैपिच्छेका कार्यक्रम आयोजना भएको बताए । ‘नेविसंघ पृष्ठभूमिका नेताहरू पार्टीको केन्द्रीय कार्यसमितिमा आधाभन्दा बढी छन्, सबैलाई आ–आफ्नो स्वार्थअनुकूल नेतृत्व बनाउने होड छ,’ उनी भन्छन्, ‘यही स्वार्थका कारण नयाँ नेतृत्व आउन ढिलाइ भएको छ ।’ उनले निर्वाचित आफनो नेतृत्वलाई काम गर्न दिएको भए अहिलेसम्म १२ औं महाधिवेशन सम्पन्न भइसक्ने दाबी गरे । ‘धेरै जिल्लामा अधिवेशन भइसकेको थियो, अहिलेसम्म केन्द्रीय अधिवेशन सम्पन्न हुन्थ्यो,’ उनले भने ।

११ औं महाधिवेशनमा महरसँगै प्रतिस्पर्धामा पराजित मनोजमणि आचार्यले संघलाई अस्तव्यस्त बनाउने काममा पार्टी नेतृत्व मुख्य जिम्मेबार रहेको आरोप लगाए । ‘पार्टी नेतृत्वले आफ्नो अर्कमण्यता ढाकछोप गर्न एउटा ऊर्जाशील संगठनलाई अन्योलमा धकेल्ने काम भएको छ,’ उनले भने, ‘संघलाई विभाजित मानसिकतामा पुर्‍याएर संघलाई अस्तव्यस्त बनाउने काममा नेतृत्व पुगेको छ ।’

संघको नेतृत्व ल्याउन कार्यक्रमको होडबाजी हुने गरेको अर्का नेता मोती भण्डारी बताउँछन् । ‘विद्यार्थीमाझ आफ्नो प्रभावकारिताबाट नेताहरूलाई रिझाएर नेतृत्व हत्याउन सकिन्छ कि भन्ने हिसाबले संघमा गुटैपिच्छे कार्यक्रम हुने गरेका छन्,’ उनले भने, ‘विद्यार्थीको मुद्दा उठाएर होइन, कार्यक्रमको होडबाजी गरेर नेतृत्व लिने लाइनमा सबै केन्द्रित हुन थालेका छन् ।’

संघको नयाँ नेतृत्व बन्न ढिलाइ भएको प्रति नेताहरूले भने ठोस जवाफ दिन सकेनन् । सभापति देउवाले अब बन्ने तदर्थ समितिमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विवादले नेतृत्व चयनमा ढिलाइ भएको बताएका थिए ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?