आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

ध्रुव तुलाधर

दाङ — खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहानै एकै सिफ्टमा ल्याइन्छ र साँझ एकैपल्ट लगिन्छ । पदाधिकारी र निर्णायकसमेत गुनासो गरिरहेका भेटिन्छन्, ‘पानी पनि खान पाइएन ।’

आठौं राष्ट्रिय खेलकुद : खेलाडीलाई चाउचाउ र खुर्सानीको भर

तुलसीपुरस्थित बेलझुन्डीमा अन्तर्राष्ट्रियस्तरको एथलेटिक्स ट्र्याक त बनेको छ । नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् । होटलमा सबेरै ब्रेकफास्ट गरेर आएका खेलाडी शुक्रबार अपराह्न दौडपछि खाजा खोज्न भौंतारिँदै थिए । कतै भेटेनन् । गेट नजिकैको सानो चिया पसलमा चाउचाउ साँध्न लगाए ।


प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरी एउटै थालमा साँधेको चाउचाउ खान व्यस्त थिए । उनीहरू फरक–फरक जिल्लाबाट आएका हुन् । खेलकुदमै हिँड्दाहिँड्दै पछिल्लो समय मिल्ने साथी भएका छन् । त्यसैले उनीहरू एउटै थालमा दिल खोलेर खाँदै थिए । ‘दौडिने खेलाडीले यसरी जथाभावी खान हुन्छ त ?’ एउटीले जवाफ फर्काइन्, ‘भोकले मर्न लागिसकियो । के खानु त अरू ? गुरुहरूले त जथाभावी नखानु भनेको छ नि । भोक लाग्यो क्यारे, खाइयो ।’


उनीहरू जस्तै थुप्रै खेलाडी चिया, खाजा खोज्न भौंतारिइरहेका थिए । प्रतियोगितामा अलिकति अनुभव बोकेका खेलाडीले भने आफ्नो व्यवस्थापन आफैंले गरिरहेका छन् । उनीहरूले हल्का किसिमका डाइट केरा, स्याउजस्ता फलफूल आफैंले लगेर खाएका पनि छन् । धेरैको हकमा त्यस्तो छैन । पदाधिकारी र खेलाडीले पानीसमेत खान नपाइएको बताइरहेका थिए ।


खेलाडीहरू रंगशालाबाट ७ किमि दूरीमा रहेको तुलसीपुर र झन्डै २० किमि टाढा घोराहीमा बसेका छन् । खेलाडीलाई बिहान ल्याउने र खेल सबै सकिएपछि एकै सिफ्टमा लैजाने गर्नाले पनि उनीहरू खानाको मारमा परेका छन् । ७ बजे खेल सुरु हुने रिपोर्टिङ टाइमले गर्दा बिहानै आउनुपर्ने हुन्छ ।


एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीका अनुसार खेलाडी आफ्नो समयअनुसार चल्न पाइरहेका छैनन् । आफ्नो खेल सकियो भने पनि जान सक्दैनन् । एकै सिफ्टमा जाने–आउने व्यवस्था छ । त्यसले गर्दा उनीहरूले बिहान खाएको सामान्य ब्रेकफास्टका भरमा १०–११ बजेसम्म खेल्नु परिरहेको छ । वरिपरि किनेर खाने ठाउँ नपाएको गुनासो खेलाडीले गरिरहेको उनले सुनाए । रंगशालाको ट्र्याक अन्तर्राष्ट्रियस्तरको छ । सुविधाको नाममा भने केही छैन ।


खेलाडीले जुन प्रदर्शन दिनुपर्ने हो, भोकका कारण त्यो दिन नसक्ने उनले बताए । ‘केही खाएर वार्मअप गरेर खेल्नुपर्ने हुन्छ । अहिले त्यो अवस्था छैन । बिहानैको खाजाका भरमा खेल्न खेलाडीलाई गाह्रो हुन्छ । त्यसमाथि गर्मी छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुद कार्यक्रमबारे धेरैलाई थाहै छैन भन्छन् । थाहा पाएको भए ठेलागाडाले भए पनि पसल राख्थे होलान् । राष्ट्रिय खेलकुदजस्तो प्रतियोगिता भएको ठाउँमा धेरथोर त जानकारी हुनुपर्ने हो । मलाई पनि अचम्म लाग्यो ।’ रंगशालानजिकै बजार रहेको बस्ती छैन ।


ठूलो बजार तुलसीपुर पुग्न ७ किलोमिटर टाढा जानुपर्छ । घोराही जान त्योभन्दा झन्डै तेब्बर दूरी नाप्नुपर्ने हुन्छ । टिमहरू आफैंले व्यवस्थापन गरेर ल्याएमात्र हो, नभए खेलाडीले किनेर ब्यालेन्स डाइट खान्छु भन्नु त स्वर्गको फल आँखा तरी मर भनेजस्तै छ ।


यति ठूलो खेलकुद महोत्सव हुँदै छ भन्ने सहरका जानेबुझेकालाई पनि थाहा छैन । कक्षा १० मा अध्ययनरत आयुष रेग्मी भन्छन्, ‘यहाँ राष्ट्रिय खेलकुद भएको छ र ? खोइ मलाई त थाहै छैन ।’ यता रातारात छानो हालिएको तुलसीपुरमै रहेको कराँतेको हलमा शुक्रबार दिउँसो तामझामसाथ भाषण गरेर प्रतियोगिता उद्घाटन गरियो । बेलुकीपख आएको हावाहुरीले अस्तव्यस्त बनाएपछि खेल हुने–नहुने टुंगो लागेको छैन ।


हलको आधा भागमा मात्र ट्रस हालिएकाले त्यो खुला नै थियो । जसले गर्दा हावाहुरी र पानी आयो भने खेलाउन सक्ने अवस्था हुँदैन ।


उद्घाटनको चस्का

आठौं राष्ट्रिय खेलकुदको नेपालगन्जमै बिहीबार भव्य उद्घाटन भइसकेको हो । यहाँ पनि एथलेटिक्सको खेल बिहीबारै सुरु भएको थियो । तर औपचारिक उद्घाटन भन्दै शुक्रबार खेलाडीलाई चर्को घाममा भाषण सुनाएर पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो । मुख्यस्थलमा राष्ट्रपतिबाट उद्घाटन नभएका कारण यहाँको उद्घाटन पनि थाती राखिएको बताइएको छ ।


व्यवस्थापन भद्रगोल हुँदा खेलाडीले खेल सुरु भएको दुई दिन बितिसक्दा पनि घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । शुक्रबार पदक वितरण गरिने भनिए पनि ट्रे नहुँदा र स्पिकरमा ब्याट्री सकिँदा बाँड्न नपाएको एथलेटिक्सका मुख्य प्रशिक्षक विक्रमजंग थापाले सुनाए ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?