१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राष्ट्रपति राष्ट्रिय ध्वजावाहकमा चीन जाने

सुरज कुँवर

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्वको टोली नेपाल वायुसेवा निगमको विमान चार्टर गरेर जाने निश्चित भएको छ । गणतन्त्रपछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेको यो पहिलोपटक हो । 

राष्ट्रपति राष्ट्रिय ध्वजावाहकमा चीन जाने

‘यसअघि राष्ट्रपति कमर्सियल उडानमा दिल्ली र बैंकक जानुभएको थियो,’ निगमका एक अधिकारीले भने, ‘हाम्रो विमान चार्टर नै गरिएको गणतन्त्रपछि पहिलो पटक हो ।’ निगमले उक्त भिभिआईपी उडानमा एयरबस ३२० पठाउने निर्णय गरेको छ । यसअघि प्रधानमन्त्री केपी ओलीले भारत र चीन भ्रमणमा हिमालय एयरलाइन्सको एयरबस ३२० प्रयोग गरेका थिए ।


उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले निगमको विमानलाई प्रतिउडान घन्टाको ११ हजार ६ सय डलर हाराहारी भाडा तिर्ने सर्तमा लैजान लागेको हो । ‘निगमको न्यारोबडी जहाज लैजाने टुंगो लागेको छ,’ स्रोतले भन्यो । निगमले जहाज पार्किङमा रहेको बेलाको भाडा तिनु नपर्ने जनाएको छ । तीन दिनको यो चार्टर उडानमा निगमले १२ घन्टा हाराहारीको मात्रै रकम लिनेछ । विमानको ल्यान्डिङ, पार्किङलगायत र इन्धन खर्च निगम आफैंले बेहार्ने जनाएको छ ।


निगमको आन्तरिक मापदण्डअनुसार यस्तो उडानमा तीन जना पाइलट अनिवार्य हुन्छन् । ‘भिभिआईपी उडानमा एक जना प्रशिक्षक पाइलट (आइपी) र अरु दुई सिनियर क्याप्टेन वा यस्तै टिम रहनेछ,’ स्रोतले भन्यो ।


राष्ट्रपति भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित उक्त उडानमा ७० देखि ८० जना नेपाली रहने परराष्ट्रले निगमलाई जानकारी गराएको छ । ‘राष्ट्रपतिको भ्रमण दललाई काठमाडौंबाट सियान र त्यहाँबाट बेइजिङसम्म निगमको विमानले पुर्‍याउनेछ,’ स्रोतले भन्यो । अहिलेसम्म चीनका कुनै पनि सहरमा निगमको उडान छैन । यो चार्टर उडान भएकाले निगमले पहिलोपटक विमान राजकीय भ्रमणमा पठाउन लागेको हो ।


काठमाडौंबाट सियान पुग्न चार घन्टा र त्यहाँबाट बेइजिङलाई दुई घन्टा हाराहारी लाग्छ । काठमाडौंदेखि बेइजिङसम्म कुनै पनि व्यावसायिक एयरलाइन्सको उडान छैन । सियान–काठमाडौं रुटमा तिब्बत एयरलाइन्सले सेवा दिइरहेको छ ।


भीभीआईपी उडान वैशाख ११ गते ११ बजे बिहान काठमाडौंबाट हुनेछ । उडानको समयमा नोटाम (उड्डयनकर्मीहरूका लागि जारी हुने सूचना) लागु हुनेछ । अर्थात उक्त उडानको आधा घन्टा अघि तथा पछि मात्रै अन्य व्यावसायिक एयरलाइन्सका उडान हुनेछन् । भिभिआईपी उडानको समयमा अन्य व्यावसायिक उडान हवाई सुरक्षाका कारण रोकिन्छन् । राष्ट्रपतिलाई १२ गते बेइजिङ पुर्‍याएर निगमको विमान १३ गते रित्तै काठमाडौं फर्किनेछ ।


परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङ्गपछि नेपाली टोली ल्हासा जाने कार्यक्रम छ । ल्हासाबाट फर्किदा निगमको जहाज हुनेछैन । उक्त रुटमा एयरबसको ३२० उपयुक्त मानिदैन । बढी उचाइमा पर्ने भएकाले त्यस क्षेत्रबाट एयरबसका ३१९ सिरिजका विमानले ल्हासा–काठमाडौं–ल्हासा उडान गर्छन् । ती विमानमा एयरबस ३२० को दाजोमा अक्सिजनको उपलब्धता राम्रो हुन्छ ।


ल्हासाबाट टोली चिनियाँ विमानमा फर्कनेछ । निगमले एउटा जहाज तीन दिनका लागि भिभिआईपी उडानमा पठाउँदा काठमाडौंबाट हुने यसका अरु अर्न्तराष्ट्रिय सेक्टरमा खासै प्रभाव नपर्ने दाबी गरेको छ । ‘एउटा विमान चार्टरमा पठाउदा यता अरू उडानमा आधा/एक घन्टा हाराहारी असर पर्न सक्ला,’ स्रोतले भन्यो ।

प्रकाशित : वैशाख ७, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?