३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘झुन्डिन नमिल्ने हिरासतमा कसरी आत्महत्या ?’

पर्वत पोर्तेल

बिर्तामोड — इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा किशोरको मृत्यु भएको प्रकरणमा मानव अधिकारकर्मीले आत्महत्या नभई प्रहरी यातना नै कारण रहेको औंल्याएका छन् । घटनास्थल अवलोकनपछि उनीहरूले शुक्रबार यस्तो निष्कर्ष निकालेका हुन् ।

मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीढोलीको हिरासतमा मृत्यु भएको घटना सार्वजनिकपछि मानव अधिकारसम्बद्ध निकायका प्रतिनिधि सम्मिलित टोलीले घटनास्थल अवलोकन गरेको थियो ।


टोलीका अनुसार प्रहरीले किशोर झुन्डिएको भनेको हिरासतको शौचालयमा झुन्डिन सक्ने सम्भावना नै देखिँदैन । ‘घटना प्रकृति हेर्दा झुन्डिने अवस्थै छैन, यातनाबाटै बन्दीको मृत्यु भएको हुनुपर्छ,’ मानव अधिकारकर्मी विष्णु खरेलले भने । प्रहरीले धाराको टुटीमा सर्टको पासो बनाएर झुन्डिएको दाबी गरेको छ । ‘प्लास्टिकको टुटी छ, धारा पनि होचो छ, यस्तो ठाउँमा मान्छे कसरी झुन्डिन सक्ला ?,’ खरेलले भने ।


उनका अनुसार घटना वैशाख १ गते राति करिब २ बजे भएको देखिन्छ । १८ वर्ष मुनिकालाई अन्य घटनाका आरोपी राख्ने हिरासतमा सँगै राखेर अनुसन्धान गर्न नपाइने कानुनी प्रावधानसमेत प्रहरीले उल्लंघन गरेको टोलीले जनाएको छ ।


घटनालगत्तै प्रहरीले राति करिब साढे ३ बजेतिर मुचुल्का गरेको थियो । बिर्तामोड २ का वडाध्यक्ष राजेन्द्र लिङदेन र अर्जुनधारा १० का वडाध्यक्ष बलदेव गोम्देनले मुचुल्कामा हस्ताक्षर गरेका छन् । ‘बालक झुन्डिएरै मरेको हो भने रातारात किन मुचुल्का भयो ?,’ अधिकारकर्मी खरेलले भने, ‘प्रहरीलाई शंका गर्नैपर्ने अवस्था अरू पनि धेरै देखिन्छ ।’


प्रहरीले किरण भारतको पानीट्यांकी निवासी रहेको, उमेर १९ वर्ष रहेको र बेवारिस रहेको करार गर्दै जनप्रतिनिधिको रोहवरमा मुचुल्का गरेको थियो । अधिकारकर्मीका अनुसार पक्राउ गर्नुअघि अदालतको स्वीकृति चाहिन्छ । तर, किरणलाई स्वीकृतिबेगर नै हिरासतमा राखिएको थियो । उनका अभिभावकलाई खबर नै गरिएन ।


परिवारका सदस्यबिनै सर्जमिन मुचुल्का गरिएको थियो । दलित अधिकारकर्मी टीकाराम मंग्रान्तीले भने, ‘मृतकका बुबा रमेशलाई प्रहरीले अपहरण शैलीमा बोलाएर लगेको छ । प्रहरी कार्यालय पुर्‍याएर मुचुल्कामा जबर्जस्ती हस्ताक्षर गर्न लगाइएको देखिन्छ ।’ रमेशलाई उद्धृत गर्दै मंग्रान्तीले भने, ‘कागजमा के लेखिएको थियो, पढेर पनि सुनाइएको छैन ।’ घटनाको प्रत्यक्षदर्शीलाई मानव अधिकारकर्मीले संरक्षणमा राखेका छन् । मानव अधिकारवादीहरूसँग उनले भने, ‘किरणको मृत्युको कारण आत्महत्या हैन, फ्रहरी यातना नै हो ।’


यसैबीच मानव अधिकारकर्मी र दलित अधिकारकर्मीले शुक्रबार छुट्टाछुट्टै वत्तव्य सार्वजनिक गर्दै उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बद्ध निकायसँग अपिल गरेका छन् । उनीहरूले प्रहरी नायब उपरीक्षक सुवास खड्कालाई तत्काल निलम्बन गर्नसमेत माग गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय झापाले घटना अनुसन्धान गर्न डीएसपी महेन्द्र श्रेष्ठ संयोजक रहेको तीन सदस्यीय टोली गठन गरेको छ । एसपी दिनेश मैनालीले किशोरले आत्महत्या नै गरेको दाबी गर्दै अनुसन्धान टोलीले घटनाको वास्तविकता सार्वजनिक गर्ने जनाए । ‘बालकले आत्महत्या गरेको सबै प्रमाण हामीसँग छ,’ उनले भने ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?