कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री आउने कार्यक्रममा नजान चन्द समूहको उर्दी, कावासोतीमा सुरक्षा व्यवस्था कडा

नारायण शर्मा

नवलपरासी — प्रधानमन्त्री केपी ओली जिल्ला सदरमुकामको उद्घाटन गर्न शनिबार दिउँसो कावासोती आउने भएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । नेत्रविक्रम चन्द समूहले एक विज्ञप्तीमार्फत प्रधानमन्त्री कावासोतीमा आउने कार्यक्रममा नजान सर्वसाधारणलाई अपिल गरेलगत्तै सुरक्षा चुनौती थपिएको विश्लेषण गर्दै जनशक्ति बढाएकाे हाे ।

प्रधानमन्त्री आउने कार्यक्रममा नजान चन्द समूहको उर्दी, कावासोतीमा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री आउने दिन शनिबार चन्द समूहले नवलपरासी बन्द गर्ने हल्ला चलाइए पनि शनिबार बन्द भने नगर्ने जनाएको छ ।

चन्द समूहले बिहीबार प्रधानमन्त्री आउने कार्यक्रममा सहभागी नहुन सर्वसाधारणलाई अपिल गरेकाे थियाे । त्यस लगत्तै नेकपा र सुरक्षा निकायको समन्वयमा शिलान्यास समारोहमा सर्वसाधारणको ब्यापक सहभागिता गराउने भन्दै आन्तरिक तैयारी भैरहेको छ ।

चन्द समूहको उर्दीको प्रभाव नदेखाउन नेकपाले कार्यक्रममै बाक्लो सहभागिता देखाएर आमसभा समेत गर्न आफ्ना कार्यकर्ता परिचालन गरेको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सबै क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरेर 'फुल सेक्युरिटि'को व्यवस्था मिलाइएको जानकारी दिए । कार्यक्रम स्थलदेखि पश्चिमपट्टी रहेको जंगलमा समेत सेना र सशस्त्र प्रहरी खटाइएको छ । शिलान्यास स्थल वरपर ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन भएको श्रोतको भनाई छ ।

प्रधानमन्त्रीले पूर्वी नवलपरासी सदरमुकाम कावासोती नगरपालिका ३ स्थित राममन्दिर चौरमा रहेको १७९ बिगाह २ कठ्ठा क्षेत्रफलमा बनाइने सरकारी कार्यालयहरुको भवन शिलान्यास गर्न आउन लागेका हुन् । पहिलो चरणमा संघ र प्रदेशका गरेर ३४ वटा सरकारी कार्यालय एउटै थलोमा लस्करै बन्ने भएको हो । एकै ठाउँमा कार्यालय बन्ने भए पछि स्थानीय उत्साहित भएका छन् ।

कावासाेतीमा सरकारी कार्यालय राख्ने ठाउँकाे नक्सांकन ।

प्रधानमन्त्री शाश्वतधाम जाने

सरकारी कार्यालयको शिलान्यास पछि प्रधानमन्त्री दुम्कौलीस्थित चौधरी हातामा रहेको शास्वतधाम मन्दिर दर्शन अवलोकनका गर्न जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले प्रधानमन्त्री शास्वतधामस्थित एकामवरेश्वर मन्दिर, त्यहाँ रहेको बुद्धिष्ट सेन्टर र हिस्ट्री म्यूजियम अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सुरक्षा निकायले प्रधानमन्त्री आउने भएपछि शाश्वतधाममा सर्वसाधारणकालागि प्रवेश गर्न रोक लगाइने भएको छ ।

प्रकाशित : वैशाख ७, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?