१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सरकार सर्वसत्तावादतर्फ उन्मुख : राजपा

काठमाडौँ — राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले ठोस धरातलबिना समृद्धिको नारा मात्रै लगाइरहेको बताए ।

सरकार सर्वसत्तावादतर्फ उन्मुख : राजपा

'सबै शक्ति एकै ठाउँ केन्दि्रत गरेर सरकार सर्वसत्तावादको बाटोमा देखिएको छ,' उनले भने, 'लगानी, शान्तिसुरक्षा, सामाजिक सद्भाव र राजनीतिक स्थिरता कुनै विषयमा सरकारले काम गर्न सकेको छैन ।'


भण्डारीले राजनीतिक विषयलाई प्रशासनिक कारबाहीबाट पेल्न खोजेर, संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएर सरकारले स्थिरताको दिशामा काम गर्न नखोजेको उल्लेख गरे ।


भण्डारी, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय, अनिल झा र राजकिशोर यादवले नेतृत्व गरेका तत्कालीन ६ वटा मधेसवादी दल एकीकरण भएर २०७४ वैशाख ७ गते राष्ट्रिय जनता दल गठन भएको थियो । एकीकरणको दुई वर्ष भइसक्दा पनि पार्टीले महाधिवेशन गर्न सकेको छैन । ६ जना अध्यक्ष रहेको पार्टीको केन्द्रीय समिति ८ सय हाराहारीको छ । जिल्ला-जिल्लामा पार्टीको संरचना त्यस्तै छ ।

पार्टी विधानमा एकीकरणको एक वर्षभित्र एकता महाधिवेशन गरिसक्ने व्यवस्था थियो । पछि अर्को एक वर्ष थपियो । महाधिवेशन गर्न तोकिएको वैशाख ६, ७ र ८ को मिति त्यतिकै गुजि्रएको छ । संयोजक भण्डारीले तयारी नपुगेकाले तोकिएको मितिमा महाधिवेशन हुन नसकेको बताए । आइतबार बस्ने पार्टीको पदाधिकारी समिति बैठकले यसबारे थप निर्णय लिने उनले उल्लेख गरे । राजपा वाषिर्कोत्सवका अवसरमा राजधानीमा आयोजित चियापन समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत नेताहरू पुगेका थिए ।

प्रकाशित : वैशाख ७, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?