२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चिसो खोज्दै भमरा

अब्दुल्लाह मियाँ

काठमाडौँ — पहिले जहाँ भमरा पाइन्थे, अहिले त्यहाँ नामोनिशान छैन । पहिले जहाँ भमरा हुँदैनथे, अहिले त्यहाँ भमरा भेटिन थालेका छन् । अनुसन्धान गर्नेहरू भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो ।’

चिसो खोज्दै भमरा

त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक दयाराम भुसालका अनुसार भमराले तातो खप्न सक्दैन । चिसो खोज्दै भमरा उच्च पहाडी, हिमाली भेगतिर सरिरहेको छ । ‘बढ्दो तापक्रमका कारण भमराका केही प्रजाति हराइसकेका छन्, भएकाले पनि थप संघर्ष गर्नु परिरहेको छ,’ चितवन–अन्नपूर्ण भूपरिधि क्षेत्र (चाल) को उच्च क्षेत्रका भमरा प्रजातिबारे अध्ययन गरेका भुसालले भने ।

सन् १९७४–२०१४ सम्मको ४० वर्षमा नेपालको तापक्रम ०.५६ डिग्री सेल्सियसले बढेको थियो । सन् २०१६–२०४५ सम्म ०.९२ देखि १.०७ र सन् २०३६–२०६५ सम्म १.३ देखि १.८२ डिग्री सेल्सियसका दरले तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ । हिमाली क्षेत्रको तापक्रम अझ तीव्र गतिमा बढ्ने विशेषज्ञहरूले दाबी गरिरहेका छन् । ‘१ हजारदेखि १५ सय मिटर उचाइमा पनि तातो बढेकाले भमरा माथितिर सरिरहेका छन्,’ भुसाल भन्छन्, ‘हिमाली क्षेत्रमा पनि तापक्रम बढिरहेकाले कालान्तरमा भमरा प्रजाति लोपै हुने त्रास बढेको छ ।’

उनका अनुसार पछिल्लो समय भमराको आन्द्रामा नयाँखाले ब्याक्टेरिया देखा परेको छ । भमरा जलवायु परिवर्तनको सूचक प्रजाति हो । समुद्री सतहको १ हजारदेखि ५ हजार ५ सय मिटर उचाइसम्म भमरा पाइन्छ । भमराका लागि हरियाली, घाँस र जंगली फलफूल अनिवार्य छ । भमरा माइनस ४ डिग्री सेल्सियससम्म रहन सक्छन् ।


चालको कालीगण्डकी, बूढीगण्डकी र मर्स्याङ्दी करिडोरमा भमराको जैविक विविधता र फूल फुल्ने बिरुवाको सम्बन्धबारे विद्यावारिधि गरिरहेका किशाेरचन्द्र घिमिरे भमरामा जलवायु परिवर्तनको असर देखिएको बताउँछन् । ‘अहिले फूल फुल्ने समयचक्र बदलिएको छ,’ घिमिरेले भने, ‘फूल फुल्ने सिजन बदलिएपछि फूलमा आश्रित भमरालाई असर परेको छ ।’

घिमिरेका अनुसार नेपालमा कति प्रजातिका भमरा पाइन्छन् भनेर अध्ययन भएको छैन । जापानको होक्काइडो युनिभर्सिटीका पाउल विलियमलगायत प्राध्यापकहरूले सन् २०१० मा नेपालको उच्च क्षेत्र (हाई अल्टिच्युड) मा पाइने भमराका ३४ वटा प्रजाति संकलन गरेर अनुसन्धान गरेका थिए । उक्त अध्ययनले नेपालमा ६ सय मिटरदेखि माथि भमरा पाइने देखाएको थियो । ‘अहिले हामीले अध्ययन गर्दा १ हजारभन्दा तल्लो क्षेत्रमा भमरा भेट्न सकेनौं,’ अनुसन्धानकर्ता घिमिरेले भने, ‘यसले तल्लो तटीय क्षेत्रबाट भमरा हराइसकेको संकेत गर्छ ।’

सहप्राध्यापक भुसालका अनुसार भमराले सबभन्दा बढी स्याउ खेती, सिमी, बोडी, केराउ र कालिगेडीलगायत अन्य जंगली फलफूल अत्यधिक मन पराउँछन् । भमराले लालीगुराँसको फूलको रस भने खाँदैन । ‘जंगली फूल फुल्ने सिजन बदलिएको छ । २० देखि ३० दिनसम्म छिटो फूल फुल्ने गरेको पाइएको छ,’ घिमिरे भन्छन्, ‘भमरा फूल झरिसकेपछि आउने गरेको देखिन्छ ।’ उनका अनुसार फूल फुल्ने समय बदलिएपछि भमरा रसको खोजीमा भौंतारिने गरेको पाइएको छ ।

यसले वनस्पतिको परागसेचनमा सघाउँछ । भमरा फूल फुल्ने बेला मात्र कर्मी (अरू भमरा) लाई लिएर बाहिर आउँछन् । ‘उच्च भागबाट भमरा लोप भए भने उच्च हिमाली भेगमा वनस्पतिमा परागसेचन हुन सक्दैन,’ घिमिरेले भने, ‘परागसेचन नभए बीउ उत्पादन हँॅदैन । वनस्पति लोप हुन सक्छ ।’

वातावरण खलबलिनु, आवश्यक फलफूल र प्राकृतिक बासस्थान घटदै जानु र फूल फुल्ने सिजन तलमाथि हुनुले भमराका लागि आहार मुख्य चुनौती बनेको घिमिरेको विश्लेषण छ । घिमिरेको विद्यावारिधिका सुपरभाइजरसमेत रहेका भुसाल भन्छन्, ‘ठूल्ठूला पार्क बनाएर बिरुवा रोप्ने हो भने भमराले रस खान पनि पाउँछ र जीवनचक्र यथावत् हुन सक्छ ।’

विकसित मुलुकहरूमा भमरालगायत किरा प्रजातिलाई लक्षित गरी ठूला पोलिनेटर पार्क बनाइन्छ, जहाँ भमरालगायत किरा प्रजातिले रस पाउँछन् र तिनले परागसेचन गराउँदा वनस्पति विस्तार हुन्छ । ‘हाम्रा सहरहरूमा पनि त्यस्ता पार्क बनाउन आवश्यक छ,’ उनको सुझाव छ, ‘भएकै पार्क र खुला ठाउँलाई व्यवस्थित गर्ने हो भने भमराले थप संघर्ष गर्नुपर्दैन ।’

चारदेखि पाँच सयको झुन्डमा रहने भमरा भीरका प्वाल र माटोमुनि बस्न रुचाउँछन् । चैत–वैशाखदेखि मंसिरसम्म भमरा सक्रिय हुन्छन् र यही बीचमा यिनले बच्चा जन्माउँछन् । जाडो याममा भने यी जमिनभित्र घारजस्तो लामो प्वाल बनाएर बस्छन् । भुसालको अध्ययनले चालको उच्च क्षेत्रमा ११ प्रजातिका भमरा देखाएको छ । ‘विस्तृत अध्ययन गर्ने हो भने यिनको वास्तविक प्रजाति थाहा हुन्छ,’ भुसालले भने । प्राणीशास्त्र केन्द्रीय विभागकै स्नातकोत्तरका विद्यार्थीले गरेको अध्ययनले काठमाडौं उपत्यकामा ६ प्रजातिका भमरा यकिन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगाना जलवायु परिवर्तनको असर भोगेको बारे अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालले आवाज उठाउने गरे पनि जीवजन्तु र समग्र पारिस्थितिकीय प्रणालीमा कस्तो असर परेको छ भनेर अध्ययन गर्न सरकार चुकेको स्विकार्छन् । ‘वैज्ञानिक अनुसन्धानमा हामीले ध्यान नदिएकै हौं,’ ढुंगानाले भने, ‘अनुसन्धान नगरी अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत हुँदा हाम्रो आवाज कमजोर हुन्छ ।’

प्रकाशित : वैशाख ८, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?