२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भर्ना अभियान : मुख्यमन्त्री र मन्त्रीले चासो दिएनन्

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अघिल्लो वर्ष विद्यार्थी भर्ना अभियानक्रममा अभिभावकत्व लिएका अल्पसंख्यक समुदायका तीन विद्यार्थीमध्ये दुई जना मात्रै उत्तीर्ण भएका छन् । 

राईले मोरङको रतुवामाई नगरपालिकास्थित सरस्वती माविमा नर्सरीमा अध्ययनरत रोजिना खातुन, सुदर्शन मर्मु र विनोद मुर्मुको अभिभावकत्व लिएका थिए । तीन बालबालिकामध्ये रोजिना र सुदर्शन उत्तीर्ण भएर कक्षा १ मा पुगे पनि विनोद उत्तीर्ण हुन नसकेको प्राचार्य यज्ञनाथ भट्टराईले बताए । स्वास्थ्य समस्याका कारण नियमित विद्यालय आउन नसकेकाले कक्षागत मूल्यांकनमा विनोद असफल भएको उनले जानकारी दिए ।


प्राचार्य भट्टराईले भर्ना अभियानपछि मुख्यमन्त्री राई या उनको सचिवालयले सम्पर्क नराखेको बताए । अभिभावकत्व लिएकै बेला बालबालिकालाई खाद्यान्न र पोसाक वितरण गरिए पनि त्यसपछि सोधीखोजी नगरिएको उनले जनाए ।


‘मुख्यमन्त्रीज्यूले अभिभावकत्व ग्रहण गर्नुभयो तर उनीहरूको पठनपाठन के कस्तो छ, नियमित विद्यालय आइरहेका छन्/छैनन् भन्ने विषयमा चासो राख्नुभएको छैन,’ उनले भने, ‘नयाँ भर्ना अभियान सुरु भइसक्यो तर परीक्षाको नतिजासम्म उहाँले सोध्नुभएको छैन ।’ रोजिनाकी आमा रवेसा खातुनले मुख्यमन्त्री राईले भर्नाको बेला दुई बोरा चामल, एक जोर पोसाक, दुई केजी दाल र कापीकलम दिएको बताइन् । त्यसपछि सम्पर्क नगरेको उनको गुनासो छ ।


मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीले भने मुख्यमन्त्रीको कार्यव्यस्तताका कारण विद्यालयसम्मै पुग्न नसकेको भए पनि स्थानीय तहसँग समन्वय गरेर उनीहरूको विषयमा जानकारी लिइरहेको बताए ।


संघीय सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अभिभावकत्व लिएका मोरङ बूढीगंगा गाउँपालिकाका अनिशा सरदार र नीरज ठाकुर दुवै उत्तीर्ण भएका छन् । अनिशा बीपी प्राविमा ५ मा र नीरज लक्ष्मी माविमा ७ कक्षामा पुगेका छन् ।


बीपी प्राविका प्राचार्य महेश खाँले मन्त्री पण्डितले एकपटक उनीहरूलाई खाद्यान्न, कापीकलम र एक थान पोसाक दिनेबाहेक सहयोग नगरेको बताए । विभिन्न कार्यक्रममा धेरै पटक बूढीगंगा पुगे पनि मन्त्री पण्डित विद्यार्थीको अवस्था बुझ्न नआएको उनले जानकारी दिए ।


लक्ष्मी माविका प्राचार्य हरि खतिवडाले मन्त्रीले विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको विषयमा जानकारी नभएको बताए । ‘मन्त्रीले अभिभावकत्व ग्रहण गरेको विषयमा मलाई थाहा छैन,’ उनले भने, ‘नीरज गत वर्षदेखि हाम्रो विद्यालयमा आएको हो तर मलाई अहिलेसम्म उनको अभिभावकत्व मन्त्री लालबाबु पण्डितले लिएको थाहा थिएन ।’


बिनु तिम्सिना (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ८, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?