कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

श्रीलंकामा दिनभर विस्फोट

क्रिस्चियन समुदायमाथि लक्षित सुनियोजित र शृंखलाबद्ध विस्फोटहरूमा २०० भन्दा बढीको मृत्यु, ४५० भन्दा बढी घाइते
एजेन्सी

कोलम्बो — श्रीलंकामा आइतबार ८ ठाउँमा भएका शृखंलाबद्ध विस्फोटमा २०७ को मृत्यु भएको छ भने ४ सय ५० भन्दा बढी घाइते भएका छन् । तीन चर्च र ४ होटलसहित ८ स्थानमा विस्फोट भएका हुन् । 

श्रीलंकामा दिनभर विस्फोट

पश्चिमी तटीय सहर नेगोबोको प्रख्यात सेन्ट सेबास्टियन चर्च, पूर्वी तटीय सहर बाट्टीकालोआको जियोन चर्च र कोलम्बोको कोच्चिकाडे जिल्लास्थित सेन्ट एन्थोनी चर्च, कोलम्बोका ठूला होटलहरू सांग्रिला, किङ्सबरी तथा सिनामन ग्रान्ड, देहीवालाको एउटा होटल तथा देमातागोडाको एउटा घरमा विस्फोट भएका हुन् ।

विस्फोटपछि रक्षा मन्त्रालयले स्थानीय समयअनुसार आइतबार साँझ ६ देखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ भने प्रमुख सामाजिक सञ्जालहरूमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ । सुरक्षाकर्मीहरूले ७ जनालाई पक्राउ गरे पनि आक्रमणमा कसको संलग्नता थियो भन्ने आइतबार साँझसम्म खुल्न सकेको छैन ।

इस्टरका कार्यक्रम भइरहेका बेला सबैभन्दा पहिला कोलम्बोको सेन्ट एन्थोनी चर्चमा विस्फोट भएको थियो भने त्यसलगत्तै नेगोम्बोको सेन्ट सेबास्टियन चर्च, बाट्टीकालोआको जियोन चर्च र कोलम्बोका तीन होटलमा लगातार विस्फोट भएका थिए । सातौं विस्फोट दक्षिणी कोलम्बोको देहीवालास्थित चिडियाखाना नजिकैको होटलमा भएको थियो ।


कोलम्बोको देमातागोडा जिल्लामा आठौं विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी एउटा घरमा छापा मार्न गएका बेला आक्रमणकारीले आफैंलाई बमले उडाउँदा घरको छत खसेर तीन प्रहरी अधिकारी

मारिएका छन् ।

सबैभन्दा बढी क्षति सेबेस्टियन चर्चमा भएको छ । त्यहाँ कम्तीमा पनि ६७ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा चर्चको छत ध्वस्त भएको र कुर्सीहरू रगतले लतपतिएका र मानिसका कपडा यत्रतत्र छरिएका देखिन्छन् । बाट्टीकालोआको चर्चमा २७ जना मारिएका छन् । अधिकांश चर्चका छत विस्फोटले उडेका छन् भने सिसा यत्रतत्र छरिएका छन् ।

बाट्टीकालोआ अस्पतालले ३ सय घाइते भर्ना भएको जनाएको छ । विस्फोटमा बेलायत, नेदरल्यान्ड, अमेरिका, टर्की, चीन, पोर्चुगललगायत देशका ३५ विदेशी नागरिक पनि मारिएको जनाइएको छ ।

विस्फोट भएको होटल सिनामन ग्रान्ड प्रधानमन्त्रीको सरकारी निवास नजिकै पर्छ । ग्राहकहरूले खचाखच त्यहाँको रेस्टुरेन्टमा आक्रमणकारीले बिहान ८.३० बजे आफैंलाई बमले उडाउँदा एकजनाको मृत्यु भएको छ । विस्फोट गराउनुअघि आक्रमणकारी खानाको लाइनमा उभिएको होटलका कर्मचारीले बताएका छन् ।

सांग्रिला होटलको दोस्रो तलामा विस्फोट गराइएको थियो । विस्फोटबाट झ्याल उडेको छ भने बिजुलीका तारहरू सिलिङमा झुन्डिएका छन् ।

आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । एएफपीका अनुसार श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयसुन्दराले १० दिनअघि उच्च अधिकारीहरूलाई आत्मघाती आक्रमणकारीहरूले प्रमुख चर्चहरूमा आक्रमण गर्ने योजना बनाएको सूचना पाएको भन्दै अलर्ट गराएका थिए । विदेशी गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै अलर्टमा भनिएको थियो, ‘नेसनल थोहिथ जमात (एनटीजे) समूहले प्रमुख चर्च र कोलम्बोस्थित भारतीय हाई कमिसनमा आत्मघाती आक्रमणको योजना बनाएका छन् ।’ एटीजे चरमपन्थी मुस्लिम समूह हो । गत वर्ष बुद्धका मूर्तिहरू तोडफोडमा पनि यो समूह संलग्न भएको पाइएको थियो ।

कर्फ्यु घोषणा गर्दै रक्षामन्त्री रुवान विजेवर्दनेले चरमपन्थी समूहविरुद्ध आवश्यक कारबाही गरिने प्रतिबद्धता जनाएका छन् । उनले घटनाका सबै दोषी पहिचान भइसकेको भन्दै तिनीहरूलाई चाँडै पक्राउ गरिने बताए ।

आर्थिक सुधारमन्त्री हर्ष डी सिल्भाले ट्वीटरमा घटनास्थलको स्थिति निकै भयावह देखिएको उल्लेख गर्दै भनेका छन्, ‘मैले मानिसको शरीरका अंगहरू यत्रतत्र छरिएको देखें, विदेशीसहित धेरै जनधनको क्षति भएको छ ।’

कोलम्बोस्थित विदेशी दूतावासहरूले आफ्ना नागरिकलाई सुरक्षित बस्न आग्रह गरेका छन् । बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

रगत अभाव

शृंखलाबद्ध ८ वटा विस्फोट भएपछि अस्पतालहरूमा रगत अभाव भएको छ । रगत लिन ब्लड बैंकमा मानिसको भीड लागेको छ भने विभिन्न स्थानमा रक्तदान पनि गरिएका छन् ।

द्वन्द्वग्रस्त इतिहास

श्रीलंका गृहयुद्धबाट तंग्रन थालेको भर्खर एक दशक पुग्दै छ । २६ वर्षदेखि अलग राज्यको माग गर्दै संघर्षरत लिबरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीआई) लाई पराजित गरेको घोषणा सन् २००९ मा गरिएको थियो । ऊक्त गृहयुद्धमा ८० हजार मानिस मारिएका थिए ।

यस्तै बहुसंख्यक बौद्धमार्गी सिंहाला समुदायले मुस्लिमका मस्जिदमा आत्रमण गरेर दंगा फैलिएपछि २०१८ को मार्चमा १२ दिनसम्म संकटकाल लगाइएको थियो । फछिल्ला वर्ष श्रीलंकामा बोदु बाला सेना नामको राष्ट्रवादी बौद्धमार्गी समूहले गतिविधि सञ्चालन गर्दै आएको थियो । यो समूह त्यहाँकै निकै शक्तिशाली बौद्धमार्गी संगठन मानिन्छ ।

श्रीलंकामा हालसम्म कुनै विदेशी इस्लामिक समूहले आत्रमण गरेका छैनन् । तर सन् २०१६ मा एक श्रीलंकाली नागरिक इस्लामिक स्टेट (आइएस) का लागि लड्ने क्रममा सिरियामा मारिएको खबर सार्वजनिक भएको थियो । २०१९ को जनवरीमा प्रहरीले भर्खरै स्थापित मुस्लिम चरमपन्थी समूहका ४ जना पक्राउ गर्नुका साथै थुप्रै विस्फोटक पदार्थ बरामद गरेको थियो ।

यस्तो छ धार्मिक संरचना

श्रीलंकामा बहुसंख्यक समुदाय थेरवाद बौद्ध सम्प्रदायका अनुयायी छन् । २०१२ को जनगणनाअनुसार कुल जनसंख्या २ करोड ३ लाख ५९ हजार ४ सय ३९ रहेकामा बौद्धमार्गी ७०.१० प्रतिशत छन् । सिंहाला समुदायलाई देशको कानुनमा प्राथमिकता दिइन्छ । हिन्दु १२.५८, मुस्लिम ९.६६, क्रिश्चियन समुदाय ७.६२ र अन्य समुदायका ०.०३ प्रतिशत छन् । क्रिश्चियन समुदायमध्ये अधिकांश रोमन क्याथोलिक सम्प्रदायका छन् ।

पछिल्लो राजनीतिक संकट

गत २६ अक्टोबरमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदीय सर्वोच्चतालाई बाइपास गर्दै निर्वाचित प्रधानमन्क्री रनिल वित्रमासिंघेलाई अपदस्थ गराई पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्क्री नियुत्त गरेपछि श्रीलंकाको राजनीतिमा तीव्र ध्रुवीकरण भयो । केही समय उक्त मुलुकमा २ प्रधानमन्त्री रहे । त्यसपछि विक्रमासिंघेको पार्टी युनाइटेड नेसनल पार्टीले संसद् बैठक बोलाउन माग गर्‍यो ।

तर राष्ट्रपति सिरिसेनाले जनवरी ५ मा चुनाव गराउने भन्दै संसद् नै भंग गरिदिए । यूएनपीले राष्ट्रपतिको कदम गैरकानुनी रहेको जिकिर गर्‍यो । सिरिसेनाले संसदको निलम्बन फुकुवा गर्दै संसद् बैठक बोलाए । संसद्मा राजपाक्षे र विक्रमासिंघे पक्षधर सांसदबीच कुटाकुट नै भयो । अन्ततः सिरिसेनाद्वारा प्रधानमन्त्रीमा राजपाक्षेको नियुक्ति र संसद् विघटनलाई सर्वोच्च अदालतले अवैध फैसला गरेपछि राजपाक्षेले राजीनामा दिए र राजनीतिक संकट टर्‍यो ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?