बोर्डिङ छाडेर सरकारीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्ध महांकालस्थित जनकल्याण माविमा विद्यार्थी बोर्डिङ छाडेर भर्ना हुन आएका छन् । प्रधानाध्यापक कुमारीकमला राईका अनुसार वैशाख पहिलो साता पहिलो प्रवेश परीक्षा लिएर १ सय १८ विद्यार्थी नयाँ भर्ना भइसकेका छन् ।

‘गत वर्षभन्दा अहिले चाप बढेको छ,’ राईले भनिन्, ‘यसपटक नयाँ/पुराना गरी एक हजारभन्दा बढी विद्यार्थी होलान् जस्तो छ ।’ उक्त विद्यालयमा गत वर्ष १० कक्षासम्म ९ सय ८१ भर्ना भएकामा करिब सय जनाले बीचैमा पढाइ छाडेका थिए ।

विद्यालयले शिशुदेखि कक्षा ३ सम्म निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । गणित, विज्ञान, नेपाली र अंग्रेजीमा कमजोर विद्यार्थीलाई साँझ निःशुल्क कक्षा पनि सञ्चालन गरेको छ । चीन सरकारको सहयोगमा भर्खरै १९ कोठे भवन बनेको छ । ‘निरन्तर पढ्ने विद्यार्थी छँदै छन्, अब विद्यालयको क्षमताभन्दा बढी लिन सकिँदैन, त्यसैले भर्ना चाँडै बन्द गर्नुपर्ने स्थिति छ,’ प्रधानाध्यापक राईले भनिन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन मावि महानगरपालिकाको नमुना विद्यालयमा पर्छ । ‘हामीले नयाँ सत्रका निम्ति चैत २९ गते चार सय जनाको प्रवेश परीक्षा लिइसक्यौं,’ प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘अब फेरि दोस्रो पटक वैशाख ९ गते प्रवेश परीक्षा लिएर विद्यार्थी छान्ने छौं ।’ गत वर्ष शिशु कक्षादेखि १२ सम्म २ हजार ६ सय ३० विद्यार्थी भर्ना भएका थिए । कक्षा १० सम्म १ हजार ३ सयभन्दा बढी थिए । कुल विद्यार्थीमध्ये १० प्रतिशत स्थानीयका छोराछोरी छन् ।

‘यो वर्ष कक्षा १० सम्म करिब १४ सय जना पढाउन सक्छौं,’ कँडेलले भने । अंग्रेजी माध्यमबाट पढाइ, शिक्षक–कर्मचारीले छोराछोरीलाई यहीं पढाउनु, चुस्त व्यवस्थापन यसका सबल पक्ष मानिएका छन् । यहाँ ९५ शिक्षक र १५ कर्मचारी कार्यरत छन् । छात्र र छात्रामैत्री शौचालय छन् । खाजापानीका निम्ति क्यान्टिनको व्यवस्था छ । टीटी, बास्केट बल कोर्ट छन् । विद्यालय हातासँगै वाग्मती किनारमा फुटबल मैदान छ । भूकम्पपछि विद्यालयको २४ कोठे नयाँ भवन बनेको छ ।

भक्तपुरको दरबार स्क्वायर हातामा रहेको पद्म मावि अब्बल मानिन्छ । भूकम्पले यसका संरचना ध्वस्त भएर पुनर्निर्माणमा ढिलाइ भएको छ तर विद्यार्थीको चाप बढ्दो छ । कक्षा ८ र ९ का लागि लिइने प्रवेश परीक्षामा पहिलो दिन आइतबार डेढ सय नयाँ विद्यार्थी सहभागी भएका छन् । वैशाखभरि अब २ पटक प्रवेश परीक्षा लिइने विद्यालयले जनाएको छ ।

‘हामीले सरकारी विद्यालय छानौं, सबै साक्षर बनौं नारासहित चैतमै सहरभरि शुभकामना र्‍याली प्रदर्शन गर्‍यौं,’ प्रधानाध्यापक राम हाडाले भने, ‘अहिले नतिजा ८५ प्रतिशत छ भने अब पाँच वर्षभित्र शतप्रतिशत पुर्‍याउने लक्ष्य राखेका छौं ।’ कक्षा १२ सम्म साधारण र प्राविधिक धारको पढाइ हुन्छ ।

करिब १ हजार ७ सय विद्यार्थीमध्ये आधाजसो स्थानीय छन् । ललितपुरको आदर्श शौल माविले यो वर्ष बढीमा दुई सय विद्यार्थी भर्ना गर्ने जनाएको छ । यहाँ शिशु कक्षा, नर्सरी र केजीदेखि १२ कक्षासम्म पढाइ हुन्छ । प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ विषय छ ।

‘भर्ना अभियानको चौथो दिनसम्म १ सय ३० विद्यार्थीको प्रवेश परीक्षा लिइसकेका छौं,’ प्रधानाध्यापक सरोजभक्त आचार्य भन्छन्, ‘तीनदेखि पाँचवटा सेक्सन छुट्याएर पढाएका छौं । अब सेक्सन बढाउने र विद्यालयको भवन थप्ने ठाउँ छैन ।’

प्रकाशित : वैशाख ९, २०७६ ०८:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भाषा आयोगमा काम ठप्प

कान्तिपुर संवाददाता

काठमाडौँ — भाषा आयोगका सदस्यसचिव लालजंग चौहानका कारण पाँच महिनादेखि आयोगको वार्षिक कार्यक्रम ठप्प भएको छ । शिक्षा मन्त्रालयका सहसचिव चौहानले पाँच महिनाअघि आयोगको सदस्यसचिवको जिम्मेवारी लिएका थिए । उनले आयोगको बजेट रोकेपछि वार्षिक कार्यक्रम ठप्प भएको हो । 

चौहानले चैत २६ गते अनिवार्य अवकाश पाएपछि आयोगको काम ठप्प भएको खुलासा भएको हो । नयाँ सदस्यसचिव तोक्ने र रोकिएको बजेट र कार्यक्रम खुलाउने निर्णय नभएकाले आयोगको काम ठप्प भइरहेको छ । चौहान आर्थिक मामिलामा विवादास्पद थिए ।

यसअघि जिल्ला शिक्षा भएर खटिँदासमेत उनले आर्थिक अनियमिततामा मुछिएका थिए । आयोगमा रहँदा उनले आफन्तलाई आफ्नो ड्राइभर बनाएर तलब रकम आफैंले बुझिलिएका आयोग स्रोतले जनाएको छ । हाल भक्तपुरमा बसोबास गर्दै आएका चौहानले पुर्ख्यौली घर धनुषा जाने हवाई भाडा रकम लिएर टिकटमात्र बुझाएका छन् ।

‘उहाँ (चौहान) सदस्यसचिव बनेर आउनुअघि आयोगको वार्षिक कार्ययोजनाअनुसार सबै काम र बजेट बाँडफाँट भइसकेको थियो,’ स्रोतले भन्यो, ‘आफूले चलाउन नमिल्ने भएपछि हामीलाई यो काम गर्न मिल्दैन भनेर रोक्नुभयो । उहाँको सेवा अवधि धेरै बाँकी थिएन । चुपचापरह्यौं ।’ दोस्रो चौमासिक फागुनभित्र सम्पन्न हुनुपर्ने सबै काम रोकिएको थियो ।

उनले महालेखा, पर्यटन सचिव र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई चिठी लेखेर आयोगको खाता रोक्का गरेका थिए । उनी बिदाइ भएर गइसकेपछि महालेखाबाट जानकारी आएपछि आयोगले बजेट र कार्यक्रम रोक्का भएको थाहा पाएको थियो । चौहानले खाता रोक्का गरेको स्विकार्दै आफ्नो अवकाशका बेला जिम्मेवारी दिने व्यक्ति भरपर्दो नभएकाले रोक्का गर्नुपरेको बताए ।

‘भाषा आयोगमा मैले खाता रोक्का गरेको हुँ,’ उनले भने, ‘काम बिग्रे म जिम्मेवार हुुनुपर्छ, त्यसैले जिम्मा नदिने परिस्थिति आयो ।’ विश्वविद्यालयमार्फत हुनुपर्ने पाँचवटा भाषाको समाज भाषावैज्ञानिक सर्वेक्षण रोकिएको छ । त्यसनिम्ति १५ लाख रुपैयाँ बजेट छ । दसवटा मातृभाषा शिक्षा, दस भाषाको लोकवार्ता संकलन, नौवटा भाषाको विद्यालय भाषिक नक्सांकनसमेत हुन सकेको छैन ।

त्यसनिम्ति ५८ लाख रुपैयाँ बजेट तोकिएको छ । भाषिक अपसरणको अध्ययनका निम्ति दस लाख रुपैयाँ बजेट छ । प्रदेशगत भाषा गोष्ठीसमेत हुन सकेको छैन । आयोगले लोपोन्मुख ३६ वाटा भाषाको अभिलेखीकरण कार्यका निम्ति स्थानीय गाउँपालिका र नगरपालिका, विभिन्न विश्वविद्यालय, क्याम्पस तथा अनुसन्धान केन्द्रसित सम्झौता गरेको छ । त्यसका लागि १ करोड २० लाख रुपैयाँ बजेट रहेको आयोगको वार्षिक कार्यतालिकामा उल्लेख छ । चैतभिक्र सकिने कार्यत्रम चालू आर्थिक वर्षमा पूरा हुन मुस्किल पर्ने आयोगले जनाएको छ ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT