कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

औषधि आपूर्तिकर्ताको मिलेमतो

औषधि आपूर्तिकर्ताहरुले मिलेमतोमा महँगो दर राखेर स्थानीय तहलाई औषधि आपूर्ति गर्दै आएका छन् । मिलेमतोमा कतिपय स्थानीय तहकै संलग्नता आशंका गरिएको छ ।
माधव अर्याल

पाल्पा — सप्लायर्सले मिलेमतोमा दोब्बर महँगो दर राखेर बोलपत्र पेस गरेपछि तानसेन नगरपालिकाको औषधि आपूर्तिसम्बन्धी टेन्डर रद्द भएको छ । गत भदौमा निःशुल्क वितरण गरिने औषधि खरिद गर्दा नगरपालिकाको लागत अनुमानभन्दा ५८ दशमलव ८२ प्रतिशत कममा दरभाउपत्र स्वीकृत भएको थियो ।

औषधि आपूर्तिकर्ताको मिलेमतो

दोस्रोपटक उही औषधिका लागि बोलपत्र आहवान गर्दा चारवटा सप्लायर्सले दोब्बर महँगो दर राखेर फाराम बुझाएका थिए । ‘एकै वर्ष खरिद गरेको औषधिमा दोब्बर मूल्य फरक कसरी पर्‍यो भन्दै खोजी गर्दा मिलेमतोको गन्ध भेटियो,’ तानसेन नगरपालिकाका सूचना अधिकारी तथा लेखा अधिकृत दिवाकर अर्यालले भने, ‘त्यसपछि टेन्डर रद्द गर्ने निर्णय भयो ।’ त्यसपछि गत भदौमा ठेक्का पारेका सप्लायर्सलाई औषधि आपूर्तिको जिम्मा दिइएको छ ।


नगरपालिकाले गत भदौमा १५ लाख १५ हजार रुपैयाँ बराबरको टेन्डर आहवान गरेको थियो । त्यसबेला १० वटा दरभाउपक्र बित्री भएकामा ६ वटाले दाखिल गरेका थिए । सबैभन्दा कम मूल्यांकन पेस गर्ने पोखराको चिराग फार्मेसीलाई औषधि सप्लाई गर्ने जिम्मा दिएको थियो । उसले लागत अनुमानभन्दा झन्डै ५८ दशमलव ८२ प्रतिशत घटीमा आपूर्ति गरेको छ । यसअनुसार ६ लाख २३ हजार ८ सय ८१ रुपैयाँमा तोकिएको औषधि आयो । औषधि खरिदका लागि नगरपालिकामा स्वास्थ्यतर्फ २९ लाख र प्रवर्द्धनात्मकतर्फ थप १० लाख बजेट थियो ।


पहिलो बोलपत्रमा चिराग फार्मेसीले दुखाइ कम गर्ने लिग्नोकेन इन्जेक्सन २६ रुपैयाँ ६० पैसामा आपूर्ति गरेको छ । दोस्रो पटकको सूचनामा भने गीताश्विनी फर्मास्युटिकल काठमाडौंले त्यही औषधिलाई ३९ रुपैयाँ, युनाइटेड मेडिसेल्स बुटवलले ३८ रुपैयाँ ९८ पैसा, वेस्टर्न ड्रग डिस्ट्रिब्युटर्स बुटवलले ४० रुपैयाँ र सासा फर्मा सोलुसन प्रालि, काठमाडौंले ४० रुपैयाँ दर पेस गरेका छन् ।


प्यारासिटामोल अघिल्लोचोटि प्रतिट्याबलेट शून्य दशमलव ५३ पैसामा खरिद भएकामा पछिल्ला सप्लायर्सले क्रमशः ०.८५, ०.८३, १ र ०.८७ को दर पेस गरेका छन् । दुखाइ कम गर्ने औषधि ब्रुफिन पहिले एक रुपैयाँमा खरिद भए पनि पछिल्लो पटक क्रमशः १ रुपैयाँ ७२ पैसा, १ रुपैयाँ ७ पैसा, २ रुपैयाँ र १ रुपैयाँ ७५ पैसा बोलकबोल गरिएको छ । दमको औषधि सालवुटामोल ४ एमजी पहिले शून्य दशमलव २२ पैसामा खरिद भएको छ भने अहिलेको बोलपक्रमा त्रमशः १ रुपैयाँ, ०.९८, १ रुपैयाँ ५ पैसा र १ रुपैयाँ १ पैसा पेस भएको छ ।


तानसेन नगरपालिकाका अनुसार औषधिको टेन्डर गर्नुअघि पाँचवटा सप्लायर्ससँग दर मागिएको थियो । त्यहीअनुसार मूल्यांकन गरेर टेन्डर आह्वान गरिएको थियो । ‘प्रिन्टेड मूल्यअनुसार लागत अनुमान गरेर टेन्डर आहवान गरिन्छ,’ लेखा अधिकृत अर्यालले भने, ‘अघिल्लो पटक स्वच्छ प्रतिस्पर्धा भएकाले झन्डै ९ लाख रुपैयाँ कममै औषधि सप्लाई भएको थियो ।’ पछिल्लो समय सप्लायर्सले संस्थागत रूपमा बोलपत्र दर्ताको प्रक्रिया पुर्‍याउने तर आन्तरिक रूपमा प्रतिस्पर्धा नगर्ने प्रवृत्ति देखिएको छ । मिलेर एक सप्लायर्सलाई टेन्डर पार्ने र न्यूनतमभन्दा बढी रकम राखेर बाँड्ने योजनामा रहेका सप्लायर्स नगरपालिकाको निर्णयले अप्ठ्यारामा परेका छन् ।


नगरपालिकाले पुरानै दरमा खरिद गर्ने निर्णय लिएपछि चिराग फार्मेसीले औषधि सप्लाई गरिसकेको छ । ‘कुनै पनि औषधि कमी छैन,’ अर्यालले भने, ‘हामीले रुजु गरेर औषधि स्टोर गरेका छौं ।’ तानसेन नगरपालिकाले पाल्पा अस्पताल, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र तथा सामुदायिक स्वास्थ्य एकाइहरूमा आर्थिक वर्ष ०७५/७६ मा निःशुल्क औषधि वितरण गर्छ ।


रामपुरमा झडप

रामपुर नगरपालिकामा औषधि आपूर्तिको टेन्डर फाराम बुझाउने दिन स्याङ्जा र पाल्पाका युवाबीच झडप भयो । टेन्डर फाराम किन्न नदिने, किने पनि दर्ता गर्न नदिने क्रममा झडप भएको हो । प्रतिस्पर्धाका कारण १८ लाखको टेन्डरमा ८ लाख ५० हजारमा औषधि आपूर्ति हुने भएको छ ।


स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले १८ वटा फारम बिक्री भएको बताए । प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले प्रतिस्पर्धा हुन पाए राज्यलाई धेरै फाइदा हुने बताए । ‘टेन्डर फाराम लिन नदिने युवालाई प्रहरी प्रशासनले कार्यालयको वरपर बस्न दिन हुन्न,’ उनले भने ।


गाउँपालिकामा पनि उस्तै

बगनासकाली गाउँपालिकामा पहिलो र दोस्रो पटकको टेन्डरमा रकम फरक भेटिएको छ । पहिलोपटक औषधि ५ लाख ५० हजारमा आपूर्ति भएकामा पछिल्लो पटक ७ लाख ७० हजारमा टेन्डर परेको छ । स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका अनुसार आठवटा फारम बिक्री भएकामा चार वटाले मात्र दर्ता गरेका थिए । सप्लायर्सको मिलेमतोका कारण चारवटाले मात्र फाराम बुझाएका हुन् ।


स्रोतका अनुसार निस्दी गाउँपालिकामा युवाले फारम बुझाउन नदिएर पैसा बाँडेका थिए । प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालका अनुसार ६ वटाले फाराम किनेकामा चारवटाले बुझाएका थिए । ‘बाहिरै मिलेर टेन्डर हालेका हुन् भन्ने सुनियो,’ स्वास्थ्य शाखा संयोजक शालिकराम विकले भने, ‘औषधि धेरै किन्न सकिन्थ्यो, अब घटाघट नभएपछि यहाँका बासिन्दाले औषधि कम पाउनेछन् ।’ रैनादेवी छहरामा पनि उस्तै अवस्था छ ।


१३ लाख ५० हजारको टेन्डरमा ३५ हजार कम गर्ने सप्लायर्सले पाएको छ । स्वास्थ्य शाखा प्रमुख जीवन रानाले मिलेमतो गरेकाले नै घटाघट हुन नसकेको बताए । ‘बोलपत्र फाराम सातवटाले लगेका थिए,’ उनले भने, ‘अन्तिममा तीनवटाले मात्र बुझाए ।’ रिब्दीकोट गाउँपालिकामा १९ लाखको टेन्डर आह्वान गरेकामा १७ लाख ४० हजारमा औषधि सप्लाई हुने भएको छ । मिलेमतो भएकाले धेरै घट्न नसकेको गाउँपालिका अध्यक्ष नारायण जीसीले बताए ।


‘मिलेमतो गरे भन्ने मैले पनि सुनेको थिएँ,’ उनले भने, ‘प्रक्रियाअनुसार टेन्डर फाराम आएपछि दर्ता गर्नुपर्ने रहेछ ।’

प्रायः सबै गाउँपालिकामा अवस्था उस्तै छ । गाउँमै युवाले टेन्डर फाराम रोक्ने, सदरमुकामबाट समेत युवा सहभागी भएर मिलेमतोमा प्रोत्साहन गर्ने गरिएको छ ।


यसमा प्रहरी, प्रशासनसमेत थाहा नपाएझैं गरेर बस्ने गर्छ । ‘मिलेमतो नहुने हो भने राज्यलाई लाखौं फाइदा हुन्छ,’ एक सप्लायर्सले भने, ‘युवा गएर फाराम दर्ता गर्न नै नदिने प्रचलन हटाउन सक्नुपर्छ ।’ जिल्लाका तिनाउ, रम्भा, माथागढी, पूर्वखोलालगायत सबै गाउँपालिकामा मिलेमतोमै टेन्डर फाराम दर्ता भएका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?