२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भेडीखर्कमा सामूहिक बस्ती

हरिराम उप्रेती

लाप्राक, गोरखा — लाप्राकको पुरानो बस्तीभन्दा माथि गुब्सीपाखास्थित भेडीखर्कमा सामूहिक बस्ती ठडिएको छ । एकैनासका ५ सय ७३ वटा घर निर्माण अन्तिम चरणमा पुगेको छ । नजिकै स्वास्थ्य चौकी र विद्यालय बनिसकेका छन् । चारवटा हिउँद–बर्खा टहरोमा बिताएका लाप्राकी पक्की घरमा सर्ने दिन कुरिरहेका छन् ।

भेडीखर्कमा सामूहिक बस्ती

एकैनासका घर । रंगीन छाना । गुब्सीपाखामा निर्माण थालिएका घरहरूको ‘फिनिसिङ’ छिट्टै भए अबको केही साताभित्रै भूकम्पपीडित लाप्राकी नयाँ घरमा सर्ने छन् । भूकम्प जानुअघि भेडाबाख्रा चराउने खर्कमा अहिले सामूहिक बस्ती ठडिएको छ ।


धार्चे गाउँपालिका–४, लाप्राकको गुब्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीको काम अन्तिम चरणमा पुगेको छ । सबैजसो घरमा रंगरोगन गरिएपछि बस्तीको आकर्षण बढेको छ । आगामी बुधबारभित्र सबै घरका छाना छाउने काम सक्न कामदारहरू दिनरात खटिएका छन् ।


पुरानो बस्ती जोखिममा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लाप्राकका ५ सय ७३ घरधुरीका लागि एकीकृत बस्ती बनाएको हो । हालसम्म ८५ प्रतिशत काम सकिएको एनआरएनएका साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । सबै घरमा ट्रस्ट राख्ने काम सकिएको छ । ५ सय ५० घरको दोस्रो तला बनिसकेको र तीमध्ये ४ सय ५० घरको छाना छाउने काम सकिएको उनले जानकारी दिए । ‘४ सय २० घरमा रंगरोगन भइसकेको छ,’ उनले

भने, ‘कलेजी रातो र सेतो रंग लगाएका छौं ।’


घरभित्रको काम करिब ७५ प्रतिशत सकिएको उनले बताए । ‘तला छाप्न काठ राख्नुपर्ने छ, स्थानीयले त्यसका लागि श्रमदान गर्नुपर्छ,’ उनले भने, ‘जंगलमा काटेर राखेको काठ तयार छ, ल्याएर राख्न बाँकी छ ।’ काठ ढुवानी गर्ने विषयमा स्थानीयसँग छलफल चलिरहेको उनले बताए । ‘फस्ट टार्केट भेट्टाउन वैशाख ११ भित्र सबै घरका छाना छाइसक्छौँ,’ उनले भने ।


घर बने पनि बस्तीमा शौचालय बनाइएको छैन । वैशाख १२ मा एनआरएनएका प्रमुखसहित हुने छलफलले शौचालयको विषय टुंग्याउने तयारी छ । ‘११ गतेभित्र बाहिरी काम सक्छौँ,’ उनले भने । उक्त बस्ती निर्माणका लागि ३ सय २० एनआरएनका कामदार र १ सय ६० जना नेपाली सेना खटिएका छन् । हालसम्म एउटा घरमा ९ लाखका दरले खर्च भएको छ । ‘स्थानीयको श्रमदानसमेत जोडदा एउटा घरलाई १५ लाखजति पर्न जाँदो रहेछ,’ उनले भने । लक्ष्यअनुसार घर ठड्याउने काम सकेर पूर्वाधार विकासलगायत काम थाल्ने एनआरएनएको योजना छ ।


ढिलाइप्रति असन्तुष्टि

निर्माणाधीन घरको झ्यालढोका प्लास्टिकको हालेको भन्दै यहाँका स्थानीयले चर्को असन्तुष्टि जनाएका छन् । ‘धकेले पनि भाँचिएलाजस्तो प्लास्टिकको झ्यालढोका राख्ने कुरा मन्जुर छैन,’ स्थानीय मारिसिं गुरुङले भने, ‘गाउँपालिका र वडा कार्यालयलाई यस विषयमा जानकारी गराइसकेका छौँ ।’ अहिले राखेको झ्यालढोका कमजोर रहेको स्थानीयको बुझाइ छ । ‘यस्तो झ्यालढोका हालेको घर हामी लिन्नौँ,’ उनले भने ।


स्थानीयले असन्तुष्टि जनाएपछि झ्यालढोकाको गुणस्तर मापन गर्न प्राविधिक बोलाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘प्राविधिक बोलाएर क्वालिटी चेक गर्छौं,’ उनले भने । भूकम्पको चार वर्षमा गोरखाका विभिन्न स्थानमा सरकारी अनुदान लिएर आफैं घर बनाएका अधिकांश नयाँ थातथलोमा सरिसकेका छन् । एकीकृत बस्ती पर्खेर बसेका लाप्राकीले भने अझै नयाँ घर पाएका छैनन् । बस्ती निर्माणको जिम्मा पाएको एनआरएनएले हस्तान्तरण मिति पटक–पटक सारेको भन्दै उनीहरू असन्तुष्ट छन् ।


गत अक्टोबरभित्रै बस्ती निर्माण सक्ने लक्ष्य थियो । अझै पूरा भएको छैन । २०७३ माघ ३ मा निर्माण सुरु हुँदा ८ महिनाभित्रै सकेर हस्तान्तरण गर्ने भनिएको थियो । निर्धारित समयमा आधा काम पनि नसकिएपछि पछिल्लो समय वैशाख १२ मा बस्ती हस्तान्तरण गर्ने योजना बनाएको एनआरएनले पुनः मिति सारेको छ । एनआरएन पदाधिकारीले अबको एक महिनाभित्र राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बस्ती हस्तान्तरण गर्ने बताएका छन् । लाप्राकी अझै पुरानै बस्तीमा शरण लिइरहेका छन् । अधिकांशले अस्थायी र केहीले स्थायी प्रकृतिका घर बनाएका छन् ।


गुब्सीपाखाको बस्ती छिटो निर्माण सकिए सर्न आतुर रहेको स्थानीय तीसमाया गुरुङले बताइन् । ‘सधैं गुब्सीपाखामा बसेर साध्य त लाग्दैन, खेतीकिसानीका लागि तल्लो गाउँ झर्नैपर्छ,’ उनले भनिन्, ‘गुब्सीपाखामा घर बन्छ भनेर भत्किएको घरको काठपातले टहरो बनाएका छौं । पक्की घर भइदिए पुरानो बस्तीमा काम पर्दा मात्र आएर बसे पनि हुन्थ्यो । पुरानो घरमा उब्जनी राख्न सजिलो पनि हुन्छ ।’


स्वास्थ्य चौकी र विद्यालय गुब्सीपाखानजिकै सरिसकेका छन् । पुरानो गाउँबाट दुई घण्टा पैदल हिँडेर विद्यार्थी अध्ययनका लागि आउनुपर्ने बाध्यता छ । ‘घर पाए सबैभन्दा सजिलो बालबालिकालाई हुन्छ,’ तीसमायाले भनिन् । बस्ती निर्माणलाई पूर्णता दिन सम्झौताअनुसार स्थानीयलाई काठ ढुवानीमा सघाउन छलफल चलाएको वडाध्यक्ष राज गुरुङले बताए । ‘दुई–चार घरले ढुंगा पनि दिएका छैनन्, उहाँहरूलाई चाँडो दिनु भनेका छौँ,’ उनले भने । गुब्सीपाखाका ४२ जना भूकम्पपीडितको घर निर्माणमा अझै अन्योल छ । ४२ मध्ये गुनासो फर्म भरेका ३० जना लाभग्राही सूचीमा परेका छन् । पुनः छुट तथा पुनः जाँच सर्वेक्षणमा पनि केही स्थानीयले गुनासो गर्ने क्रम जारी रहेको वडा कार्यालयले जनाएको छ । ‘बन्न बाँकी घर पनि गुब्सीपाखामै बनाउने विषयमा प्राधिकरणसँग छलफल गर्छौं,’ उनले भने ।

विकटता र मौसमले ढिलाइ ः एनआरएनए

भौगोलिक विकटता, मौसम, सडकको अवस्थालगायत समस्याले लक्ष्यअनुसार काम हुन नसकेको एनआरएनएका

प्रतिनिधि हेमन्त दवाडीले बताए ।

काठ, झ्यालढोका स्थानीयकै श्रमदानबाट बन्ने भनिएको उनले बताए । बस्ती निर्माणमा सघाउन स्थानीयले आठ टिप ढुंगा र ४० बोरा गिटी सहयोग गरेका छन् । ‘केहीले आठ भनेको ठाउँमा चार टिप ढुंगा दिएका छन्,’ उनले भने, ‘हामीले चौकोस मात्र हालिदिने भन्ने थियो, अहिले झ्यालढोकासमेत हालिदिन लागेका छौँ ।’

प्रकाशित : वैशाख ९, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?