मुसीकोट नगरपालिकाद्वारा लेन्थ वर्कर भर्ना, एकैपटक ९० लाई रोजगारी

माधव अर्याल

गुल्मी — मुसीकोट नगरपालिकाले एकैपटक यहाँका ९० युवालाई रोजगारी दिएको छ । उनीहरूलाई विज्ञापन खुलाएर भर्ना गरेको हो ।

मुसीकोट नगरपालिकाद्वारा लेन्थ वर्कर भर्ना, एकैपटक ९० लाई रोजगारी

नौ वडाका लागि ९० सडक मर्मत सम्भारकर्ता (लेन्थ वर्कर) भर्ना गरी रोजगारी दिएको मुसीकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले बताए । ‘उनीहरूलाई कार्यालय समयमा काम गर्ने गरी राखिएको छ,’ उनले भने, ‘सानो संख्यामा भए पनि नगरपालिकाले रोजगारी सिर्जना गरेको छ ।’ उनका अनुसार दलित, विपन्न परिवारलाई प्राथमिकता दिइएको छ ।


१ सय १० जना अन्तर्वार्तामा सहभागी भएका थिए । ९० जना यसपटक छनोट भए भने १० जनालाई वैकल्पिकमा राखिएको छ । ‘एक महिनासम्म गरेको विज्ञापनबाट आवेदन दिएकालाई रोजगारी प्रदान गरिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले भने, ‘प्रमुख सडक र शाखा सडक मर्मतमा उनीहरूलाई संलग्न गराइनेछ ।’


प्रत्येक समूहमा लिडर बनाइएको छ । ओभरसियरले काम र समय तोक्नेछन् । सडक मर्मत सम्भारकर्तालाई अनुगमन गर्ने संयन्त्र बनेको छ । थप काम गरे प्रोत्साहन गरिने उनले बताए । ‘कामको मूल्यांकन हुन्छ,’ उनले भने, ‘काम पूरा नभए पारिश्रमिक कटौती पनि गर्ने नियम बनेको छ ।’ नगरपालिकाले नियुक्त गरेका लेन्थ वर्करलाई अनुशिक्षणसमेत दिएको छ । उनीहरू विपन्न, दलित र जनजातिका छन् । नगरले ५० प्रतिशत महिलालाई पनि खटाएको जनाएको छ ।


सडक मर्मत सम्भार गर्न महिलाले पनि सक्ने भएकाले उनीहरूलाई पनि राखिएको लेन्थ वर्कर व्यवस्थापन समिति संयोजक खड्ग थापाले बताए । उनका अनुसार गाउँमै बसेकालाई रोजगारी दिन यो अभियानले राहत पुगेको छ । ‘मर्मत सम्भारकर्ता आवश्यक पनि थियो,’ उनले भने, ‘नियमितका लागि पनि यस्ता कामदारले सहयोग पुग्नेछ ।’ गाउँमै बसेर गरी खाने अवसर नगरपालिकाले दिएको मुसीकोट १, पौदीकी जुना सार्कीले बताइन् ।


नगरपालिकाले सडक लेन्थ वर्कर व्यवस्थापन कार्यविधि, २०७५ निर्माण पनि गरेको छ । सोही कार्यविधि पास गरी त्यसैका आधारमा व्यवस्थापन समितिले उनीहरूको परिचालन गर्नेछ । एक लेन्थ वर्करको मासिक पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ तोकिएको छ ।


उनीहरूले दैनिक मोटरबाटो खन्ने, झाडी सरसफाइ गर्ने, साना पहिरा पन्छाउने, नाली खन्ने र साना गाडीसमेत हिँड्न मिल्ने सडक बनाउनुपर्ने हुन्छ । नगरप्रमुख सोमनाथ सापकोटले सडक सफा गर्दा डोजरभन्दा लेन्थ वर्कर महँगो भए पनि स्वरोजगार सिर्जना भएको बताए । ‘डोजरमार्फत काम गर्दा सीमित व्यक्तिसँग काम र पैसा हुन्छ,’ उनले भने, ‘यसरी लेन्थ वर्करबाट काम गराउँदा कम्तीमा ९० जनाले परिवार व्यवस्थापन गर्न पाउने भए ।’


उनले यस्ता कार्यमा लाग्ने तर कामचोर प्रवृत्तिलाई भने अन्त्य गर्ने बताए । ‘सबैले पहिले काम पाइएन भनेर चौतारोमा कुरा काट्थे,’ उनले भने, ‘अब काम पाएपछि ठग्ने प्रवृत्ति देखिन सक्छ । यसलाई निरुत्साहित गरिनेछ ।’


‘जनप्रतिनिधिले पनि अनुगमन तथा निरीक्षण भने गर्नेछन्,’ सापकोटाले भने, ‘सेवासर्त, अन्य सैद्धान्तिक विषय र प्रयोगात्मक प्रशिक्षण हुनेछ ।’ नगरभित्रका सडक बाह्रै महिना सञ्चालन गर्ने र नागरिकको जीविकोपार्जनमा टेवा पुर्‍याउने अभियानमा सबैको साथ रहनुपर्ने उनले बताए । नगरपालिकाले नियुक्त गरेका लेन्थ वर्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा नियुक्तिपत्रसमेत दिइसकेको छ ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?