रामेछापमा धावनमार्गबाट चिप्लियो जहाज

टीका भट्ट, सुरज कुँवर

रामेछाप / काठमाडाैं — लुक्लामा अवतरण गर्न नसकेर रामेछाप डाइभर्ट भएकाे तारा एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।सोमबार बिहान ९ बजेर ३८ मिनेटमा रामेछाप विमानस्थलमा अवतरणका क्रममा उक्त डोर्नियर विमान पांग्रा पञ्चर हुँदा रनवेबाट चिप्लिएर तारजालीतर्फ ठाेक्किन पुगेकाे हाे । 

दुर्घटनामा मानवीय क्षति भएको छैन। उक्त जहाजमा १४ विदेशी यात्रु र तीनजना चालक दलका सदस्य थिए।नाइन एन– एकेके कलसाइन भएकाे उक्त जहाज क्याप्टेन पीजे शाहले उडाएका थिए।

यति तथा तारा यएरका प्रवक्ता भीमराज राईका अनुसार जहाज बिहान ८ बजेर ४९ मा काठमाडाैंबाट लुक्लाका लागि उडेकाे थियाे। लुक्ला विमानस्थल माैसम खराबीका कारण धावनमार्ग बन्द भएकाले जहाज फाप्लुकाे आकाशबाटै रामेछापकाे मन्थली विमानस्थलमा डाइभर्ट भएकाेथियाे।

प्रवक्ता राईका अनुसार अवतरणका क्रममा अगाडिकाे पांग्रा पञ्चर भइ जहाज अनियन्त्रित हुँदा विमानस्थलकाे तारबारमा ठाेक्किन पुगेकाे थियाे।उक्त जहाजमा क्षति नपुगेकाे र मंगलबार देखि उडानमा ल्याइने तारा एयरकाे इन्जिनियरिङ विभागले जनाएकाे छ।

दुर्घटना भएको जहाज धावनमार्गकै छेउमा अड्किएकाले थप उडान र अवतरण हुन सकेका छैनन्। लुक्का जाने यात्रुहरु विमानस्थलमा अलपत्र छन्।

कुकुर र विमान सँगसँगै
रामेछाप विमानस्थलमा साेमबार बिहानै देखि कुकुर पसेको थियो। कुकुर धावनमार्गमा दौडिरहदाँ पनि जहाजलाई अवतरण र उडान गर्न दिइरहेका थिए।

विमानस्थलमा पसेको कुकुरका कारण लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज ओभरसुट गराई केही क्षण पछि विपरीत दिशाबाट अवतरण गराइएको थियो। तारा एयरकाे जहाज अवतरण गर्दा पनि कुकुर धावनमार्गमै थियो।

उक्त विषय गम्भीर रहेको भन्दै स्थानीयले विमानस्थल प्रशासनले उडान र अवतरणमालापरवाही गरेको आरोप लगाएका छन्।

क्षमता भन्दा बढी पार्किङ
रामेछाप विमानस्थलमा ४ वटा जहाज पार्किङ गर्ने स्थान भए पनि ७ वटासम्म जहाज कोचाकोच गरेर राखिएको छ।आज तारा एअरको विमान अवतरणको क्रममा दुर्घटना हुँदा पार्किङमा ५ वटा विमान थिए।

प्रकाशित : वैशाख ९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

६ वर्षमा ६०१ जनाको मृगौला प्रत्यारोपण

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ६ वर्षमा ९९ प्रतिशत सफलताका साथ ६०१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।

केन्द्रले मुलुकमा पहिलो पटक ४ जनाको कलेजो प्रत्यारोपणसँगै ६ जनाको मस्तिष्क मृत्युबाट आएको मिर्गौला समेत प्रत्यारोपण गरेको छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको सह आयोजनामा 'अन्तर कम गरौ‌ं' नाराको साथ आयोजित दुई दिने पहिलो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा उक्त जानकारी दिइएको हो।

सम्मेलन आयोजक समितिका संयोजक समेत रहेका प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अंग प्रत्यारोपण, मस्तिष्क मृत्यु तथा अंगदानका क्षेत्रमा विश्वका नविनतम प्रविधि, ज्ञानर सीपको आदानप्रदानका लागि सम्मेलन सहयोगी भएको बताए । उनले नेपालमा प्रत्यारोपणको क्षेत्रमा उल्लेख्य कामहरु भएको औल्याउँदै अंगदान र प्रत्यारोपण क्षेत्रमा देखिएको दुरी कम गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अंग प्रत्यारोपण क्षेत्रमा नेपालले प्रगति गर्दै गईरहेको औल्याउँदै अन्य देशको दाँजोमा नेपालमा अंग प्रत्यारोपण सेवा सस्तो र भरपर्दो भएको जनाए ।सम्मेलनमा अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विशेषज्ञले भाग लिएका थिए ।

सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, चिकित्सक, नर्स, स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्तिहरु, अंगदाता तथा अंगप्रत्यारोपीहरुको सहभागिता थियो ।प्रत्यारोपण सम्वन्धी जनचेतना देशव्यापी बनाउन सम्मेलनमा देशभरका संघ, प्रदेश तथा जिल्ला अस्पतालका प्रमुख र नर्सिङ प्रमुखको समेत सहभागिता थियो ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्