कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ललिता निवासको जग्गा सरकारी हो, व्यक्तिको हुनै सक्दैन : देउवा

अर्जुन राजवंशी

बिर्तामोड — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललिता निवासको जग्गामा व्यक्तिको नाम जोडिन नमिल्ने बताए । उनले ललिता निवासको जमिन सरकारले अधिग्रहण गरिसकेको जमिन भएको स्पष्ट पारे । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अधिग्रहण गरेको जमिन सरकारी बाहेक अन्यको हुनै नसक्ने दाबी गरे ।

ललिता निवासको जग्गा सरकारी हो, व्यक्तिको हुनै सक्दैन : देउवा

उनले उक्त जमिन सरकारी नभए सुवर्ण शम्शेरको छोरा-नातिको हुनुपर्ने जिकीर गरे । 'प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवास र सभामुख निवास रहेको जमिन सुवर्ण शम्शेरको हो । सरकारले उक्त जमिन अधिग्रहण गरेर प्राप्त गरिसकेको छ,' देउवाले भने, 'सरकारले अधिग्रहण गरिसकेको जमिन कसरी व्यक्तिको हुन्छ ? यदी व्यक्तिको नाममा हुन्छ भने त्यो जमिन सुवर्ण शम्शेरका छोरा-नातिको नाममा हुनुपर्ने हो । अन्यको नाममा के आधारले हुन्छ ?'


सोमबार झापाको चन्द्रगढी विमानस्थलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै देउवाले सरकार अधिनायकवाद लाद्नेतर्फ अग्रसर भएको आरोप लगाए । उनले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको संकेत भएको दाबी गरे । पत्रकारको प्रश्नमा सभापति देउवाले भोट नदिने अनि, कांग्रेस कमजोर प्रतिपक्षी भयो भनेर आलोचना गर्नुको तुक नरहेको भन्दै कटाक्ष गरे । 'भोटको बेलामा कांग्रेसलाई भोट नदिने । अनि, अहिले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर भयो भनेर आलोचना गर्ने ?,' उनको प्रश्न थियो ।


देउवाले पार्टी विधानअनुसार बाँकी रहेका समितिहरु सबैको सहमतिमै गठन गर्ने बताए । उनले संघीय संरचनाअनुसार गठन गर्न बाँकी प्रदेशलगायत समितिहरु पार्टीभित्रका सबै पक्षको सहमतिमै गठन गरेर अघि बढ्ने विश्वास दिलाए । तर, पार्टी विधानअनुसार गठन गर्न बाँकी सबै समितिहरु आगामी महाधिवेशन अगावै गर्ने कि अहिलेकै अवस्थामा अघि बढ्ने भन्नेबारे अहिलेनै आफूले केही भन्न नसक्ने बताए ।


'विधानअनुसार समितिहरु गठन गर्न जरुरी छ । ती समितिहरु गठन गर्दा सबैलाई समेटेरै गठन गर्ने हो । तर, समितिहरु महाधिवेशन अगावै गठन गर्ने कि महाधिवेशनसम्म यसरी नै अघि बढ्ने भन्ने कुरा संक्रमणकालीन अवस्थामा रहेकाले अहिले नै यो विषयमा म केही भन्दिन ।'

प्रकाशित : वैशाख ९, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?