३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मेयरको नेतृत्वमा प्रधानाध्यापकलाई कार्यकक्षमै हातपात 

सुदीप कैनी

काठमाडौँ — काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक जीवनप्रकाश रेग्मीलाई सोमबार कार्यकक्षमै हातपात गरिएको छ । काभ्रेको पाँचखाल नगरपालिका मेयर महेश खरेल र विद्यालयका शिक्षक कृपासुर खड्काको नेतृत्वमा गएको एक समूहले उनीमाथि विद्यालय हातमै हातपात गर्दै दुर्व्यवहार गरेको हो ।

मेयरको नेतृत्वमा प्रधानाध्यापकलाई कार्यकक्षमै हातपात 

मेयर खरेल नयाँ बानेश्वरका बासिन्दा समेत हुन् । प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद हुँदा स्थानीय २०/२५ जनाको समूह विद्यालयमा प्रवेश गरेर हुलदंगा गरेको हो । 'म कार्यकक्षमा बसिरहेको थिएँ, मेरो कुर्ची तानेर फालियो, हातपात गरियो, मेरो छोरालाई समेत कुटपिट गरियो,' रेग्मीले कान्तिपुरसँग टेलिफोनमा भने । विद्यालयमा खाजा पुर्‍याउन आएको छोरामाथि समेत हातपात भएको रेग्मीले जनाए । 'अन्य शिक्षक, विद्यार्थी आएर जोगाए,' उनले भने, 'प्रहरी पनि आइपुगेपछि आक्रमणकारीहरु फर्किए ।'

विद्यालयमा हुलदंगा हुन थालेपछि महानगरीय वृत्त बानेश्वरमा खबर गरिएको थियो । डिएसपी गोविन्दराज काफ्लेले विद्यालयमा प्रअ नियुक्ति विषयमा दुई पक्षबीच विवाद भएको बताए । 'म घटनास्थल पुग्दा अवस्था सामान्य भइसकेको थियो,' उनले भने । रेग्मीले भने हातपात गर्नेहरु विरुद्ध प्रहरीमा लिखित उजुरी गर्ने तयारी गरिएको जनाए ।

तत्कालिन प्रअ गीता खरेलले अवकाश पाएपछि विद्यालय व्यवस्थापन समितिले रेग्मीलाई निमित्त प्रअको जिम्मेवारी दिएको थियो । प्रअ खरेलले समेत उनैलाई जिम्मेवारी दिएर वैशाख ५ गतेबाट बिदा लिएकी हुन् । केही स्थानीयवासी माविका सामाजिक विषयका शिक्षक खड्कालाई प्रअ बनाउन चाहान्छन् । स्थानीय तहले उनैलाई निमित्त प्रअको जिम्मेवारी दिएको भन्दै उक्त समूह विद्यालय प्रवेश गरेको थियो । उनीहरु मध्ये अधिकांश विद्यालयका अभिभावक समेत होइनन् ।

विद्यालयका शिक्षकहरुका अनुसार रेग्मीलाई कुर्चीबाट हटाएर खड्कालाई बसाउने र प्रअ घोषणा गर्ने उनीहरुको योजना थियो । सोही समूहले हातपात र दुर्व्यवहार गरेको हो । व्यवस्थापन समिति र पूर्वप्रअ खरेलले सहायक मध्येको वरिष्ठ रेग्मीलाई जिम्मेवारी दिएको जनाएका छन् । विद्यालय परिसरमा भवन बनाउने विषयमा विवाद हुँदा यसअघि पनि मेयर खरेलले विद्यालयमा प्रवेश गरेर हुलदंगा गरेका थिए । उनी कांग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् ।

स्थानीयवासी र विद्यालयको विवादले विद्यालय भवन बन्न सकेको छैन । नयाँ बानेश्वरका केही स्थानीयवासी निजी विद्यालयमा छोराछोरी पढाएर सामुदायिक विद्यालयमाथि अनावश्यक हस्तक्षेप गर्दै आएका छन् ।

मेयर खरेलले प्रअमाथि गरिएको हातपातको खण्डन गरेका छन् । उनले भने, ''कीर्ते हस्ताक्षर गरेर प्रअ नियुक्ति गरिएको रहेछ । बुझ्न जाँदा विद्यालय पक्षले हामीलाई दुर्व्यवहार गर्‍यो ।'

कान्तिपुरलाई प्राप्त भिडियोमा भने मेयर खरेल नेतृत्वको समूहले प्रअ रेग्मीको कुर्सी तानेर उनीमाथि हातपात गरेको देखिन्छ ।

प्रकाशित : वैशाख ९, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?