कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘तारा एयर रामेछाप विमानस्थल बाहिरको तारजालीमा ठोकिएर धावनमार्गबाट चिप्लिएको देखियो’

रामेछाप — सोमबार बिहान रामेछाप विमानस्थलमा अवतरण गर्ने क्रममा तारा एयरको जहाजले विमानस्थलको धावनमार्गभन्दा लगभग ५० मिटर वर रहेको तारबारलाई छोएर धावनमार्गबाट चिप्लिएको देखिएको छ ।

‘तारा एयर रामेछाप विमानस्थल बाहिरको तारजालीमा ठोकिएर धावनमार्गबाट चिप्लिएको देखियो’

अवतरणको क्रममा रामेछाप विमानस्थलको धावनमार्गभन्दा झण्डै ५० मिटर बाहिरैदेखि तारा एयरको नाईन एन एकेके कलसाइनको डोर्नियर जहाजले तारजाली तथा त्यसलाई अड्याउन प्रयोग भएको सिमेन्टको पोललाई ठक्कर दिँदै धावनमार्गमा पसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले पनि पुष्टि गरेका छन् ।


उनको अनुसार तारजाली र पोललाई ठक्कर दिएपछि जहाज असन्तुलित हुँदै धावनमार्गबाट तीन सय मिटर दाहिनेतर्फ चिप्लिएको थियो ।


तारा एयरको विमान ठोकिएर भत्किएको बार र धावनमार्गमा चिप्लिएको विमान । तस्बिर : टीका भट्ट

दुर्घटना लगत्तै रामेछाप विमानस्थल कार्यालय तथा तारा एयरले भने जहाजको अगाडिको टायर पड्किएर विमान धसिएको दाबी गरेको थियो ।


‘हामी धन्नले बाँच्यौं,’ धावनमार्गको उत्तरतर्फको तरकारीबारीमा काम गरिरहेकी दानकुमारी श्रेष्ठले भनिन्, ‘हाम्रो टाउको जोगियो, जहाज विमानस्थल बाहिर रहेको सिमेन्टको पोल, बाँसलाई हान्दै बत्तिएर धावनमार्गमा धसिएको हो । भित्र गएपछि के भयो थाहा भएन । थोरै तल गरेको भए ५ जनाको एकै चिहान हुने थियो ।’ विमानले केहि पोल भाँचेको छ, भने गाडिएका बाँसहरु बंग्याएको छ ।

लुक्लातर्फबाट आउँदा अधिकांश विमान उत्तरी धावनमार्ग भएर अवतरण गर्छन् । विमानस्थलको तारबारभन्दा करिव ५० मिटर भित्र मात्र धावनमार्ग पर्छ । सोमबार तारा एयरको विमान भने विमानस्थलको ५० मिटर बाहिरै रहेका पोल र बाँस हिर्काउँदै छिरेको थियो ।


काठमाडौंबाट सोलुको लुक्लाका लागि १४ जना विदेशी पर्यटक बोकेर उडेको उक्त जहाज मौसम बिग्रिएपछि रामेछाप विमानस्थलमा अवतरणका लागि डाईभर्ट भएको थियो । ‘जहाज भयानक दुर्घटनाबाट जोगियो धन्न कसैलाई केही भएन,’ स्थानीय रुद्र श्रेष्ठले भने ।


‘चालकले त्यति धेरै तलबाट यस अघि कहिल्यै विमान ल्याएका थिएनन्,’ दानकुमारी श्रेष्ठले भनिन्, ‘हामी सधैं त्यतै हुन्छौं । अघि पछि धेरै माथिबाट जहाज धावनमार्ग तिर जान्थे ।’

उडान र अवतरण ठप्प

यसैबीच धावनमार्ग अवरुद्ध हुने गरी विमान दुर्घटनामा परेको पछि सबै उडान र अवतरण रोकिएका छन् । लुक्ला उडानका लागि रामेछाप विमानस्थल पुगेका सयौं विदेशी पर्यटक विमानस्थलमै अलपत्र छन् । जहाजलाई छेउ लगाउनका लागि केही प्राविधिक जुटेका छन् ।



प्रकाशित : वैशाख ९, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?