१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

उड्ने क्रममा तेल थपेकामा छानबिन

काठमाडौँ — आर्थिक संकटमा परेर हालै बन्द जेट एयरवेजको विमानले दुई साताअघि दिल्ली उडानका क्रममा काठमाडौं धावनमार्गबाट फर्केर ४ हजार लिटर हवाई इन्धन थप भरेर उडेको नेपाल आयल निगमले जनाएको छ ।

उड्ने क्रममा तेल थपेकामा छानबिन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आयल निगमको डिपोका अनुसार चैत २७ गते यात्रु राखेर उड्ने तरखरमा रहेको जेटको ७३७ बोइङ विमान धावनमार्गबाट फर्केर फेरि ४ हजार लिटर इन्धन थपेको डिपो प्रमुख मनोज ठाकुरले कान्तिपुरलाई बताए ।

‘पहिलो पटक जेट एयरको विमानले ६ हजार लिटर इन्धन हालेको थियो । उड्ने क्रममा फेरि (दोस्रो पटक) उसले ४ हजार लिटर थप इन्धन हाल्यो,’ डिपो प्रमुख ठाकुरले भने । मुम्बईमा मुख्यालय भएको यस एयरलाइन्सले इन्धन थपेको घटनापछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले मातहतको हवाई सुरक्षा विभागलाई छानबिन गर्न निर्देशन दिएका थिए ।

यस विषयमा जेट एयरवेजको काठमाडौंस्थित कार्यालयले शुक्रबार र आइतबार गरी दुई पटक स्पष्टीकरण पत्र बुझाएको एक अधिकारीले बताए । त्यस दिन उक्त उडानमा रहेका यात्रुका अनुसार जहाजले इन्धनसँगै तीन यात्रु पनि राखेको थियो । ‘इन्धन थप्नुको कारण र यात्रु राखेको विषयमा हामीले सोधपुछ गरेका थियौं,’ ती अधिकारीले भने, ‘जेटले भारतीय आयल कर्पोरेसनले इन्धन बिक्री बन्द गरेकाले काठमाडौंबाटै इन्धन थप्नुपरेको कारण स्पष्टीकरणमा लेखेको छ ।’ काठमाडौंस्थित डिपोले जेटको डिपोजिट रकम रहेकाले थप इन्धन उपलब्ध गराएको जनाएको छ । जेटको उडान बन्द भइसके पनि आयल निगमसँग अझै जेटको ६५ हजार रुपैयाँ बचत रहेको डिपो प्रमुखले बताए ।

हाल समस्याग्रस्त एयरलाइन्सले दिल्ली र मुम्बईबाट नेपालसहित सबै उडान रोकिसकेको छ । यात्रु थपिएको बारे उसले लिखितपत्रमा नखुलाएको प्राधिकरणले जनाएको छ । ‘जेटका कर्मचारीले मौखिक रूपमा यात्रु राख्नुको अपरेसनल कारण भनेका थिए तर स्पष्टीकरणमा यसबारे केही खुलाएका छैनन्,’ प्राधिकरण स्रोतले भन्यो, ‘यी दुवै घटनाबारे कारबाही गर्ने अधिकार जहाज दर्ता भएको मुलुक (भारत) मा रहेको नागरिक उड्डयन कार्यालयलाई हुने भएकाले हामी उसले बुझाएका स्पष्टीकरणपत्रसहित भारतलाई पत्राचार गर्दै छौं ।’

सामान्यतया जहाज पार्किङ–वेबाट टेकअफका लागि ट्याक्सी–वेमा पुगिसकेपछि थप यात्रु लिन आउँदैनन् । फर्केर यात्रु थप्नु व्यवस्थापकीय कमजोरी मानिन्छ । फर्कंदा ग्राउन्ड ह्यान्डिलिङ शुल्क पनि थपिन्छ ।

चालकदलले कुनै महत्त्वपूर्ण यात्रु भीभीआईपी छुटेको भए एयर ट्राफिक कन्ट्रोलरसँग अनुमति लिन सक्ने प्रचलन रहेको हवाई सुरक्षा विभागका एक अधिकारीले बताए । ‘पार्किङ–वेमा ठाउँ भएमा र उडान सुरक्षामा असर नपर्ने भए अनुमति दिँदा हुन्छ,’ उनले भने, ‘व्यावसायिक उड्डयनमा एलएमसी (लास्ट मिनेट चेन्ज) को प्रचलन रहने भएकाले कहिलेकाहीं परिस्थितिमा निर्भर हुन्छ ।’ हवाई सुरक्षा विभागलाई त्यस दिनको उडानमा रहेका कमान्डर पाइलटले स्पष्टीकरण बुझाउनुपर्ने हुन्छ । तर, दुई पटक बुझाइएको पत्रमा पाइलटको राय छैन ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?