कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नयाँ ग्रह पत्ता लाग्यो

‘केप्लर–४७ डी’ ग्रह पत्ता लगाउने टोलीमा नेपाली वैज्ञानिक पनि 
अतुल मिश्र

काठमाडौँ — वैज्ञानिकहरूले ‘केप्लर–४७ डी’ नाम दिइएको नयाँ ग्रह पत्ता लगाएका छन् । यो पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा छ । यो ग्रहले दुइटा सूर्यको वरिपरिसमेत घुम्ने गरेको छ । 

नयाँ ग्रह पत्ता लाग्यो

नयाँ ग्रहको खोजी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा), सान डीएगो युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्सास, अर्लिङटन, युनिभर्सिटी अफ हवाईलगायतका वैज्ञानिकहरूले गरेका हुन् । यो खोजीबारेको अध्ययनपत्र गत बुधबारको ‘द एस्ट्रोनोमिकल जर्नल’ मा छापिएको छ । नयाँ ग्रह खोजीमा संलग्न युनिभर्सिटी अफ टेक्सास, अर्लिङटनका भौतिकशास्त्र विभागका सुमन सत्यालका अनुसार केप्लर–४७ डी ‘सर्कम बाइनरी (दुइटा सूर्य वरिपरि घुम्ने) ग्रह हो ।

सत्याल नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का वैज्ञानिक सल्लाहकारसमेत हुन् । ‘यो ग्रहमा दुइटै सूर्य उदाउने र अस्ताउने गर्छन्,’ सत्यालले कान्तिपुरसँग भने, ‘यो बाइनरी स्टार प्रणालीको वरिपरि ३ वटा ग्रह घुमिरहेका छन् ।’ उनका अनुसार तीनवटा ग्रहले दुइटा सूर्यको वरिपरि घुमेको तथ्य पहिलो पटक पत्ता लगाएको हो ।

सत्यालले नयाँ ग्रहमा जीव हुने सम्भावना न्यून रहेको बताए । ‘यो ग्रह पानी रहन योग्य क्षेत्रमा परे पनि धेरै ठूलो हुनुका साथै ग्यासले बनेकाले सतहमा पानी छैन,’ उनले भने, ‘पानी अभावका कारण यो ग्रहमा जीव हुने सम्भावना न्यून छ ।’ सत्यालका अनुसार यो ग्रहको चन्द्रमा (उपग्रह) रहेछ भने त्यसको आकार पृथ्वी जत्रो हुन सक्ने बताए । ‘त्यहाँ भने जीव हुने सम्भावना धेरै हुन्छ,’ सत्यालले भने, ‘तर हालको वैज्ञानिक खोजले उपग्रह पत्ता लगाउन सकेको छैन ।’

विशेषज्ञहरूका अनुसार सौर्यमण्डलभन्दा बाहिर करिब ४ हजार वटा ग्रहहरू पत्ता लागिसकेका छन् । ती ग्रहहरूको उपग्रह खोज्ने काम जारी छ । सौर्यमण्डल ग्यालेक्सी (आकाशगंगा) मिल्की वेमा छ । ब्रह्माण्डमा करिब ४ सय अर्ब आकाशगंगा छन् । प्रत्येक आकाशगंगामा २०० अर्बदेखि ४०० अर्ब तारा छन् । मिल्की वे करिब २०० अर्बभन्दा बढी तारासहितको एउटा ग्यालेक्सी हो । हाम्रो सूर्य ती तारामध्ये एक हो ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?