तारा एयर दुर्घटनापछि अवरुद्ध रामेछाप विमानस्थल सुचारु

टीकाप्रसाद भट्ट

रामेछाप — दुर्घटनाग्रस्त तारा एयरको विमान हटाएपछि रामेछाप विमानस्थलमा मंगलबार बिहानै देखि उडान र अवतरण हुन थालेका छन् ।सोमबार तारा एयरको विमान अवतरणका क्रममा चिप्लिएर विमानस्थलमै अड्किदा दिनभर उडान र अवतरण रोकिएका थिए ।

काठमाडौंबाट लुक्ला जान थालेको उक्त एयरको नाईन एन एकेके कलसाइनको डोर्नियर विमान मौसम प्रतिकुल भएपछि डाईभर्ट भएर रामेछाप विमानस्थलमा अवतरण गर्न लाग्दा विमानस्थल भन्दा बाहिरै देखि ठोक्किँदै धावन मार्गमा पसेको थियो।

Citizen

विमानस्थल उत्तरतर्फ तरकारी बालीमा हालेका थांग्रा, विमानस्थल सुरक्षाका लागि लगाइएको तारबारमा ठोक्किएर धावनमार्गमा हुत्तिदै पश्चिमतर्फको माटोमा पुगेर विमान अडि्कएको थियो। विमानमा १४ यात्रु र चालक दलका ३ सदस्य सवार थिए। उनिहरु सबै सकुशल छन्।

विमान दुर्घटना पछि काठमाडौंबाट पुगेका प्राविधिकहरुले परिक्षण र जाँच सुरु गरेका थिए। अपरान्ह धावनमार्गमा अन्य विमानको अवतरण रोकिने गरी अड्किएको उक्त विमानलाई तानेर छेउ लगाइएको थियो। रामेछाप नागरिक उडड्यन कार्यालयले मंगलबार बिहानै देखि उडान सुचारु गरेको जनाएको छ।

काठमाडौं विमानस्थल मर्मतका लागि बिहान ८ बजेसम्म बन्द हुने भएकाले लुक्लातर्फको उडान समयमा नै गर्न निजी वायु कम्पनीहरुले रामेछाप विमानस्थल प्रयोग गर्दै आएका छन्। तारा, समिट र सिता एयरले लुक्काका लागि रामेछापबाट सरदर दैनिक ३५ उडान गर्छन्।

प्रकाशित : वैशाख १०, २०७६ १०:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कापीकलम किन्न निहुरो बेच्दै

आश गुरुङ

लमजुङ — दायाँ हातमा गह्रौं जेब्रा झोला छ । पिठ्युमा बोराको भारी  । बेंसीसहरको मनाङे चौताराबाट आफ्नै सुरमा आएका बालक त्रिवेणी टोल आएपछि भारी बिसाउछन् । जेब्रा झोलामा नाम्लो राख्छन् । झोलाभित्र पाइन्ट, पेटी राखिएको हुन्छ । चोयाले बाधेर ल्याएको बोराको मुख खोल्छन् । देखिन्छन्, मुठाका मुठा कालो निहुरो ।

कालो निहुरो देखेपछि किन्नलाई सहरकाले मन गर्छन् । सानो उमेरमा यस्तो काम गरेको किन नि ? सबैको जिज्ञासा हुन्छ । उनी सहजै उत्तर दिन्छन्, ‘कापीकलम किन्न ।’ कालो निहुरो गाउँका ओसिलो ठाउँमा पाइन्छ । स्वास्थ्यबद्र्धक हुने भएकाले यो सिजन गाउ“घरमा प्रायः निहुरोको तरकारी पकाइन्छ । सहरबजारमा पनि निहुरो आउन थालेको छ । सहरमा निहुरो ल्याउनेमध्येका एक हुन् १२ वर्षीय अमृत सुनार ।

बेंसीसहर नगरपालिका ७, नारायणस्थान नजिकै लक्ष्मी बालमन्दिर स्कुलमा उनी पढ्छन् । गाउँमा २ सम्म पढेपछि ३ र ४ कक्षा उनले बालमन्दिरमा पढे । अहिले ५ कक्षामा तेस्रो भएका छन् । ‘अब कापीकलम किन्न पर्‌यो । आमासँग पैसा हुँदैन । त्यसैले गाउँ गएर निहुरो टिपेर ल्याएको हुँ,’ मधुर स्वरमा उनले भने । सोमबार उनले ल्याएका १९ मुठा निहुरो बिक्री भएको छ ।

एउटा मुठाको ५० रुपैयाँका दरले बिक्री हुँदा उनले ९ सय ५० रुपैयाँ कमाएका छन् । यो उनको २ दिनको कामको प्रतिफल हो । ‘अलि अस्ति पनि २२ मुठा ल्याएर बेचेको थिए। अब त पढाइ हुन्छ, गाउँ जान पाइदैन,’ उनले भने, ‘निहुरो बेचेर आएको पैसा आमालाई दिएको छु ।’ मर्स्याङ्दी गाउँपालिका २, घनपोखरा घर भएका उनको परिवार बेंसीसहर बस्न थालेको ३/४ वर्ष भयो ।

उनका अनुसार रोजगारीका लागि जोर्डन गएको भन्ने सुनिएका बुवा हरि सुनारको मुख अहिलेसम्म देख्न पाएका छैनन् । उनका अनुसार आमा विनीता बेंसीसहरको हस्पिटल चोक नजिकै सिलाइकटाइ गर्छिन् । उनको कमाइबाट भाइ विवश विद्याविकासमा १ कक्षामा पढ्छन् । बहिनी सोममाया २ कक्षामा पढ्छिन् । उनका दाइ विकास जनविकास मावि कक्षा १० मा पढ्छन् ।

बालकल्याण मावि भकुन्डेका प्रधानाध्यापक तीर्थ न्यौपानेका अनुसार बालबालिका बाध्यताले आफ्नै लागि श्रम गर्न बाध्य छन् । बालबालिकामा श्रम नगरी पठनपाठनको व्यवस्था सरकारले गरिदिनुपर्छ । ‘कापीकलम किन्नकै लागि एक्लै जंगलमा गएर निगुरो खोज्नुपर्ने बाध्यता छ । कापीकलमकै लागि दुःख गर्न बाध्य छन् । यसले पछि मानसिक असरसमेत पर्न सक्छ,’ उनले भने, ‘बालबालिकालाई स–साना कुरालाई ध्यानमा राखेनौं भने यसले भोलि ठूलो रूप लिन्छ ।’ उनले बालबालिकालाई कुनै पनि दुःख गर्नुपर्ने बाध्यात्मक स्थिति आउन नदिन सरकारले शिक्षालाई निःशुल्क गरी असहाय, गरिब तथा विपन्न परिवारलाई सहयोग गर्नुपर्ने उनले बताए ।

प्रकाशित : वैशाख १०, २०७६ १०:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT