कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पथरीमा स्थानीयवासी र प्रहरीबीच झडप, बजार क्षेत्रमा तनाव, प्रहरीद्वारा तीन राउण्ड हवाई फायर

विनोद भण्डारी

विराटनगर — मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा श्रृंखलावद्ध रुपमा अपराधीक घटना बढ्दै गएपनि स्थानीय प्रहरी प्रशासनले सुरक्षामा चासो नदेखाएको भन्दै स्थानीयवासी सडकमा उत्रिएपछि पथरी तनावग्रस्त बनेको छ । आक्रोशीत भीडले इलाका प्रहरी कार्यालय पथरीमा मंगलबार ढुंगा प्रहार गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर गरेर भीड पन्छाएको छ ।

पथरीमा स्थानीयवासी र प्रहरीबीच झडप, बजार क्षेत्रमा तनाव, प्रहरीद्वारा तीन राउण्ड हवाई फायर

स्थानीयहरुले पथरी नगरपालिका र उद्योग वाणिज्य कार्यालयमा तालाबन्दी गरेर यातायात अवरुद्ध गरेका छन् । स्थानीयले सोमबार पनि पथरीमा प्रर्दशन गर्दै यातायात अवरुद्ध गरेका थिए ।

पथरी शनिश्चरे–१ त्रीवेणीचोकको साझा लाइनमा डेरा गरी बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रिना बस्नेतको गत शनिबार रहस्यमय मृत्यु हुँदा प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको भन्दै स्थानीयवासी सडकमा उत्रिएका हुन् ।


स्थानीयवासी सडकमा उत्रिए लगत्तै प्रहरीले रिनासँग पटकपटक टेलिफोन सम्पर्कमा रह“दै आएका सुन्दर हरैचा–३ का कमल नेपाललाई नियन्त्रणमा लिएको थियो । वैशाख ६ गते राति पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँगै ११ बजे कोठा फर्किएकी बस्नेत ७ गते बिहान आफ्नै कोठा अगाडिको बाटोमा निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।


टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले हत्या भएको प्रमाण फेला परिनसकेको बताउँदै आएको छ । तर स्थानीय र उनका आफन्तले नियोजित हत्या गरेको दाबी गरेका छन् ।


रिनाका जेठाजु दुर्गाबहादुर बस्नेतले अज्ञात समूहले टाउकोमा प्रहार गरी हत्या गरेको दाबी गरेका छन् । रिनाको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट आएको छैन । रिनाका पति सन्तोश वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् ।


एकपछि अर्को अपराधिक घटनाले स्थानीयवासी त्रसित भएपनि प्रहरी प्रशासनको अनुसन्धान गर्ने तथा शान्ति सुरक्षा प्रदान गर्ने कुरामा चुस्तता नभएको भन्दै सोमबार पथरी नगरकी उपप्रमुख यमुना विष्ट बास्तोलाको अगुवाईमा पूर्व संविधानसभा सदस्य चण्डीप्रसाद राईसहितका जनप्रतिनिधिको टोलीले इलाका प्रहरी चौकीका प्रमुख कमल बजगाईंलाई सुझाएका थिए । बजगाईंले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र पोष्टमार्टको रिर्पोट आएपछि वास्तविकता बाहिर आउने बताए ।


यसअघि नगरको पथरी बजारमा सञ्चालित सिक्का बारमा आएका पथरी शनिश्चरे–७ का २७ वर्षीय षड्राज तामाङको पनि यस्तै प्रकारको रहस्यमय मृत्यु भएको थियो । तामाङको पनि टाउकोमा चोट लागेको र घोप्टो परेको अवस्थामा राति सडकमा शव फेला परेको थियो ।

त्यसअघि सुस्तमनस्थितीकी रमा बरालको पथरी बजार क्षेत्रको पिपलबोट चोकमा शव फेला परेको थियो । बजारको पश्चिममा रहेको श्रीजंघा बनमा पथरीशनिश्चरे-१ पथरी बजारका २५ वर्षीय गोविन्द दर्नालको पनि हत्या भएको थियो ।


त्यही स्थानमा अर्का एक अज्ञात व्यक्तिको पनि हत्या भएको थियो । ती घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । यस्तै नगरको जिरिखिम्ती टोलभन्दा पश्चिम उत्तरको जंगलमा झापाकी एक महिलाको शव फेला परेको थियो । त्यस अघि पथरी प्रहरीकै कार्यक्षेत्रभित्र कानेपोखरी जंगलमा भारतीय एक महिलाको शव पनि हत्या गरेको अवस्थामा फेला परेपनि कोही पक्राउ परेको थिएन ।


नगरमा एकपछि अर्को शंकास्पद शव फेला परेपनि प्रहरीले अनुसन्धानमा गम्भीरता नदिएपछि नगरवासी प्रहरी प्रशासन विरुद्ध सडकमा उत्रिनु परेको स्थानीयको गुनासो छ । पथरी उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ हार्टको अगुवाईमा स्थानीयले प्रहरी र नगरपालिकालाई सोमबार ज्ञापनपत्र बुझाउँदै पथरी उद्योग वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति बनाएर चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।


अहिले मोरङ प्रहरी र पथरी नगर प्रमुख र संघर्षरत स्थानीय बीच वार्ता भइरहेको छ ।


प्रकाशित : वैशाख १०, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?