१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

क्रिश्चियन धर्म प्रचारको अभियोगमा दुई विदेशीसहित पाँच जना पक्राउ

दुर्गालाल केसी

दाङ — गाउँसहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा प्रहरीले मंगलबार घोराहीमा दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका छन् ।

उनीहरुको साथबाट बा १३ प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगाएतका सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरित धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले जानकारी दिए ।


अमेरीकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको उनले बताए । एकपटक भिसा रद्द गरी पठाएमा उनी फेरि नेपाल आउन नपाउने उनले जानकारी दिए ।


होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरुलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको पाइएपछि पक्राउ गरिएको पाण्डेले बताए ।


केही दिनअघि दुई जापानी महिला पनि धर्म प्रचारमा हिँडेको भेटिएपछि केरकार गरिएको र प्रमाण नभेटिएपछि छोडिएको उनले जानकारी दिए । उनका अनुसार पछिल्लो समय विदेशीहरु अनलाइन स्टडी भनेर नेपाल आउने र धर्म प्रचारका काममा हिँड्ने गरेको पाइएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १०, २०७६ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?