कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजपामा मच्चियो रडाको 

सिबी अधिकारी/रासस

काठमाडौँ — फुट र जुटको राजनीतिबाट अघि बढेका मधेसकेन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ । दुई वर्षअघि ९विसं २०७४ वैशाख ८ गते पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ ।

राजपामा मच्चियो रडाको 

पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै परिपक्क नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र अहिले रडाको मच्चिएको छ । संविधान संशोधनलगायत मुद्दामा सङ्घर्ष गरेको राजपाले आफ्नो एजेण्डामा अडिग रहन त सकेन नै बरु सरकारमा सामेल भएर पनि टिकेन ।


नेतृत्वको महत्वकांक्षी र परिपक्क एजेण्डाको अभावमा राजपा रुमलिन पुग्यो । दुई वर्षको अवधिमा पार्टी जहाँको त्यही रह्यो । पार्टीकै केही असन्तुष्ट पक्षले पार्टी नै परित्याग गरी भिन्न मोर्चाबन्दी गरे । पार्टीको स्पष्ट कार्यदिशालाई स्थापित गर्न नसक्दा राजपा आफैँ रुमलिएको छ । नेता कार्यकर्तामा सन्त्रास पैदा भएको छ । गाउँ, वडा र जिल्ला तहदेखि केन्द्रीयस्तरमा नेता कार्यकर्ताबीच राम्रो तालमेल छैन । पार्टीको एकताको महाधिवेशन घोषणा गरे पनि त्यसलाई विभिन्न बहानामा लम्ब्याउने चालबाजी भइरहेको छ ।


पछिल्लो उदाहरणको रुपमा यही वैशाख ७, ८ र ९ गतेका लागि पार्टीको घोषित महाधिवेशन स्थगनलाई लिन सकिन्छ । महाधिवेशनका लागि तयारी नपुगेको भन्दै राजपाले महाधिवेशन स्थगित गरेको थियो । पार्टीको पदाधिकारी समितिले महाधिवेशनको मिति तोक्ने निष्कर्ष निकाल्दै केही साताअघि राजपा अध्यक्ष मण्डलको बैठकबाट निर्णय भएको थियो । उक्त निर्णयअनुरुप राजपाको पदाधिकारी समितिको आइतबारदेखि जारी बैठकमा पुनः महाधिवेशन गर्ने या नगर्ने सम्बन्धमा नेताबीच मत बाझिएको छ । अध्यक्ष मण्डलका बहुमत सदस्य एकता महाधिवेशनको पक्षमा रहे पनि केही सदस्य नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।


सोमबारको बैठकमा राजपा अध्यक्ष मण्डलका छ जना सदस्यको बोल्ने क्रम सकिएको छ । राजपाका एक पदाधिकारीले राससलाई दिएको जानकारीअनुसार राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, नेता महन्थ ठाकुर र राजेन्द्र महतो एकता महाधिवेशनको पक्षमा छन् भने राजकिशोर यादवले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । यता महेन्द्रराय यादव र अनिल झा महाधिवेशनको पक्षमा देखिएका छन् ।


मंगलबारको बैठकमा पार्टीका अन्य पदाधिकारीले आफ्नो धारणा राख्नेछन् । बैठकमा संयोजक भण्डारीले महाधिवेशनसम्बन्धी प्रक्रिया एवं तिथि, मिति निर्धारणसहितका पाँचबुँदे एजेण्डा बैठकमा प्रस्तुत गरेका छन् । महाधिवेशन सम्बन्धमा राजपाले दुई–दुई विकल्प प्रस्तुत गरेको छ । जसमा नियमित महाधिवशेन गाउँ, वडादेखि जिल्लामा चार महीनाभित्र गर्ने वा पार्टी एकताको महाधिवेशन एकदेखि डेढ महीनाभित्र गर्ने भन्नेबारे प्रस्ताव प्रस्तुत गरिएको छ ।


त्यस्तै संयोजक भण्डारीको प्रस्तावमा समसामयिक राजनीतिक र पार्टीको भावी कार्यदिशा, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा तथा आगामी काम कारवाही कसरी प्रभावकारी बनाउनेसम्बन्धी प्रस्ताव छ । बैठकमा पार्टीको एकीकरण, मोर्चा र गठबन्धनसँग एकताको पहललगायत विविध प्रस्ताव प्रस्तुत भएको राजपाले जनाएको छ । पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न नसकेको राजपाले एकताको महाधिवेशनसँगै अन्य मधेस केन्द्रित राजनीतिक शक्तिसँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउने जनाएको छ ।


पदाधिकारी समितिको बैठकमा उक्त विषयले प्रवेश पाए पनि राजपाभित्रै बेइमेल रहेकाले उक्त प्रक्रियाले सार्थकता पाउने या नपाउने भन्ने अन्योल नै छ । सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरणका लागि दुई चरणमा पत्राचार आदन–प्रदान भइसकेको छ । तथापी पार्टी एकीकरणको प्रक्रियाले गति लिन सकेको छैन् ।


यतिखेर राजपा महाधिवेशनको सङ्घारमा उभिएको छ । केही महीनाअघि वर्तमान सरकारलाई दिएको पार्टीको समर्थन फिर्ता लिएको राजपाले पुनः फर्किने वा एजेण्डामा केन्द्रित हुने भन्नेबारे अलमलमै छ । अर्कोतर्फ आफ्ना मुद्दामा विचार मिल्ने शक्तिसँग गठबन्धन गरी सङ्घर्षमा जाने बताएको राजपा आफैँभित्रको तालमेल मिलाउन सकेको छैन ।


विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यसको विषयमा पनि पदाधिकारी बैठकले निर्णय लिनेछ । बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्नाका साथै स्थानीय र प्रदेश सरकारको कामकारवाहीका बारेमा समीक्षासमेत हुने अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले बताए । महाधिवेशन नहुञ्जेल राजपामा हरेक दुई महीनाभित्र संयोजक तोकिने प्रावधान रहेको छ ।


राजपाका १७ जना प्रतिनिधिसभा र दुई जना राष्ट्रियसभामा गरी जम्मा १९ सांसद छन् । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) र शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी मिलेर राजपा गठन भएको थियो ।

प्रकाशित : वैशाख १०, २०७६ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?