८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धरानका अधिकृत फणीन्द्र भट्टराईसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । फिल्डबुकमा खगेन्द्रकुमारी गिरीको जग्गा भनी उल्लेख भएको धरान नगरपालिका वडा नं. ११ ग कि.नं. ३५ र ३६ का जग्गा उनको मृत्युपश्चात मिलेमतोमा खगेन्द्रकुमारी राईको भनी कर्णबहादुर राईका नाममा नामसारी गरी अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकामा भट्टराईका अतिरिक्त नासु डिल्लीराम कोइराला, सर्वेक्षक योगेन्द्रप्रसाद यादव, खरिदार श्यामप्रसाद लो र कृष्णबहादुर राई छन् ।


त्यस्तै अख्तियारले डिभिजन वन कार्यालय, बाराका कार्यालय प्रमुख -डिभिजनल वन अधिकृत) शिवशंकर ठाकुर लोहार र सहायक वन अधिकृत गौरीशंकरप्रसाद केसरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले कवाडी सामानका लागि बोलपत्र आहवान गर्दा लिलामी परेपछि सामान उठाउन सेवाग्राहीसँग ९० हजार रुपैयाँ घूस लिएको अख्तियारको दाबी छ ।


अख्तियारले मंगलबार नै दैलेख, नारायण नगरपालिकाका इन्जिनियर टेकबहादुर हितानविरुद्ध मुद्दा दायर गरेको छ । हितानले नगरपालिकाको वडा नं. ९ स्थित सियाला सिँचाइ योजनामा मापदण्डविपरीत निर्माण कार्य गर्ने/गराउने र सर्त तथा मापदण्डविपरीत भएको कार्यलाई मापदण्डअनुसार भएको भनी झुटो प्रतिवेदन दिई अनियमितता गरेको आरोप छ । मुद्दा दायरसँगै ७ कर्मचारी सेवाबाट निलम्बित भएका छन् ।


अख्तियारले प्रहरी किताबखानाका कम्प्युटर अपरेटर सुरज केसीलाई मंगलबार घूस रकमसहित पक्राउ गरेको छ । निवृत्तिभरणपत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको १० हजार रुपैयाँ घूससहित केसी पक्राउ परेको अख्तियारले जनाएको छ । केसीलाई अख्तियारको हिरासतमा राखी थप छानबिन भइरहेको छ ।

प्रकाशित : वैशाख १०, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?